१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

बेलबारी गोल्डकपको चौथो संस्कण हुँदै

चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गको खेल मैदानमा कात्तिक ११ गतेदेखि प्रतियोगिता हुनेछ।  

शुक्रबार विराटनगरमा आयोजक डाँगीहाट युथ क्लबले पत्रकार सम्मेलन गर्दै कात्तिक ११ देखि १८ गतेसम्म प्रतियोगिता हुने जानकारी दिएको हो। क्लबका अध्यक्ष विक्रम राईले लामो समयदेखि कोरोनाका कारण खेलकुदका कुनै पनि गतिविधि भएको छैन। ‘सरकारले तोकेको स्वास्थ्य मापदण्डलाई पालना गर्दै प्रतियोगिता गर्न लागेका हौं,’ अध्यक्ष राईले भने, ‘निरन्तर तेस्रो संस्करणसम्म भएको प्रतियोगिता कोरोना भाइरसको संक्रमण फैलिएर भएको लकडाउनका कारण चौथो संस्करण गर्न सकिएको थिएन।’

‘बेलबारी क्षेत्रलाई खेलकुदको हब बनाउने उद्देश्यका साथ प्रतियोगिता गर्दै आएका हौं,’ गोल्डकपका आर्थिक समिति संयोजक राजेश बस्नेतले भने, ‘क्लबले गोल्डकप मात्रै आयोजना गर्दैन। अब नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ एकेडेमी सञ्चालन गर्ने तयारीमा छ। साना बालबालिकालाई फुटबल खेलप्रति मोह जगाउँदै एकेडेमीमार्फत राम्रो खेलाडी तयार गर्ने लक्ष्यका साथ क्लबले योजना बनाएको छ।’    

प्रतियोगितामा नेपाल र भारतका ८ वटा टिमको सहभागिता रहेको छ। सशस्त्र प्रहरी बलको एपिएफ क्लब काठमाडौं, हिमालयन शेर्पा क्लब, च्यासल क्लब, आयोजक डिवाइसी मोरङ, रोलिङ क्लब झापा, गाईघाट फुटबल क्लब उदयपुर, राजारानी क्लब धनकुटा र भारतको रोयल फुटबल क्लब सिलिगुडीको प्रतियोगितामा सहभागी भएका छन्। कात्तिक ११ गते रोलिङ क्लब झापा र च्यासल क्लबबीच उद्घाटन खेल हुनेछ।  

प्रतियोगितामा विजेता टिमले ५ लाख र उपविजेता टिमले २ लाख ५० हजार रूपैयाँ नगद पुरस्कार पाउने छन्। प्रत्येक खेलमा म्यान अफ द म्याचले ५ हजार ५ सय, प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले ३१ हजार, सर्वाधिक गोलकर्ताले २१ हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिल्डफिल्डर, स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले ११–११ हजार रूपैयाँ नगद पुरस्कार पाउने आयोजकले जनाएको छ।  

प्रतियोगितामा ४० लाख रूपैयाँ खर्च र ४५ लाख रूपैयाँ आम्दानी हुने अनुमान गरिएको क्लबका अध्यक्ष राईले बताए। प्रतियोगिताको तेस्रो संस्करण रोयल फुटबल क्लब सिलिगुडीले जितेको थियो।

प्रकाशित: ५ कार्तिक २०७८ ०९:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App