coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

फर्कियो नेपाली क्रिकेट टोली

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान, अमेरिका र नेपाल सम्मिलित त्रिकोणात्मक शृंखला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार स्वदेश फर्किएको छ।

त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा सहभागी भई स्वदेश फर्किएको टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय सदस्य छुम्बी लामाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे। ओमान भ्रमणको क्रममा नेपालले ४ खेलमा दुई जित निकाल्दा पहिलो पटक लिग–२ को खेलमा ओमानलाई पराजित गर्दै ऐतिहासिक सफलता पनि हात पार्‍यो। 

घरेलु टोलीलाई उसैको मैदानमा पराजित गर्नु टोलीका लागि सफलता भएको नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्लले बताए। कप्तान ज्ञानेन्द्रले युवा खेलाडीमा गरेको लगानीको प्रतिफलको असर बिस्तारै टोलीमा देखिन थालेको बताउँदै एसोसिएट राष्ट्रमध्येबाट बलियो रहिरहन धेरैभन्दा धेरै प्रतिस्पर्धात्मक प्रतियोगिता अहिलेको टोलीलाई आवश्यक रहेको बताए।

‘युवा खेलाडीको प्रदर्शनले ओमान भ्रमण राम्रो भएको मान्नुपर्छ। युवा खेलाडीमा गरिएको लगानी बिस्तारै देखिन थालेको छ। अब उनीहरूका लागि अनुभव हुने प्रतिस्पर्धात्मक खेल आवश्यक छ,’ कप्तान ज्ञानेन्द्रले भने, ‘हामी एसोसिएट राष्ट्र हौं। एसोसिएटमध्येबाट हामीले सबैमाथि दबदबा कायम राख्नुपर्छ। त्यसका लागि सन्तुलित खेल आवश्यक छ।’

यस्तै प्रशिक्षक डेभ ह्वाटमोरले छोटो बसाइमा टोलीमा राम्रो छाप पारे पनि दीर्घकालीन योजनाअनुसार अगाडि बढ्न असर पर्ने कप्तान मल्लले तर्क राखे। लिग–२ अन्तर्गतका ८ खेलमध्ये चारमा सफलता हात पारेको नेपाल तालिकामा दुई स्थान सुधार गर्दै चौथो स्थानमा उक्लिँदा नेपाली युवा खेलाडीको प्रदर्शन तारिफयोग्य रह्यो।

ओपनिङमा समस्या देखिँदै आएकोमा ओमान भ्रमणमा भने नेपाली टोलीले केही सुधारिएको प्रदर्शन गर्न सफल भयो। कुशल भुर्तेल र आशिफ शेखले नेपाली टोलीको ओपनिङ इनिङलाई सम्हाल्दै अगाडि बढाउँदा मध्यक्रमका ब्याट्सम्यानले पनि साथ दिए। 

ओपनिङमध्येका युवा ब्याट्सम्यान कुशल भुर्तेलले रणनीतिक हिसाबमा खेल्दा ओमान भ्रमण व्यक्तिगत र टोलीका लागि राम्रो भएको बताए। यस्तै राष्ट्रिय टोलीबाट एकदिवसीय खेलमा डेब्युको मौका पाएका विक्रम शोबले पनि भ्रमण व्यक्तिगत करियरमा सुखद सुरुआत भएको बताए। 

विक्रम शोबले अमेरिकाविरुद्ध डेब्यु गर्दा पाएको पहिलो ओभरको बलिङको पनि पहिलो बलमा विकेट  निकाल्न सफल भएका थिए। व्यक्तिगत खेललार्ई निखार्नका लागि अझै मिहिनेत गर्नुपर्ने उनले बताए। बिक्रमका अलावा ओमान भ्रमणमा गुल्सन झाले राष्ट्रिय टोलीमा डेब्यु गर्दा कप्तान ज्ञानेन्द्र मल्ल एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी समेत बने। 

प्रकाशित: ६ आश्विन २०७८ ०१:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App