७ वैशाख २०८१ शुक्रबार
खेल

नयाँ खेलाडीद्वारा क्षमता प्रमाणित

राष्ट्रिय टोलीबाट डेब्यु गरेका सविता राना र प्रीति राईको समान एक गोलमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीले बिहीबार पहिलो मैत्रीपूर्ण खेलमा बंगलादेशलाई २–१ ले हराएको छ।  

बंंगलादेशविरुद्धको मैत्रीपूर्ण खेल नेपाली महिला राष्ट्रिय फुटबल टोलीका लागि घरेलु मैदान दशरथ रंगशालामा पहिलो खेल थियो। उमेरसमूहका विभिन्न खेल दशरथ रंगशालामा खेले पनि सिनियर टोली भने यहाँ पहिलो पटक मैदान उत्रिएको हो। मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले सविता र प्रीतिसँगै सिर्जना सिंंहलाई डेब्यु गराएका थिए।  

१३औँ मिनेटमा विमला चौधरीको पासमा सविताले गरेको गोलमा नेपालले अग्रता लिएको थियो। त्यसको १० मिनेटपछि प्रीतिले नेपालको अग्रता दोब्बर पारेकी थिइन्।  प्रीतिले सरु लिम्बुको पासमा बललाई जाली चुमाएकी थिइन्। ८१औँ मिनेटमा तोहुरा खातुनको गोलमा बंगलादेशले खेलमा फर्कने संकेत गरे पनि त्यो पर्याप्त भएन।

उज्बेकिस्तानमा असोज पहिलो साताबाट सुरु हुने एएफसी महिला एसियन कप छनोटको तयारीमा रहेको नेपालले बंगलादेशविरुद्ध दुई मैत्रीपूर्ण खेलको आयोजना गरेको हो।  समूह ‘बी’ मा रहेको नेपालले फिलिपिन्स र हङकङसँग प्रतिस्पर्धा गर्नेछ।  दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ। प्रशिक्षक फिलिप्सले टोलीमा केही सुधार आवश्यक रहे पनि समग्रमा टोलीको प्रदर्शनबाट सन्तुष्ट रहेको बताएका छन्।  

‘टोलीले उत्कृष्ट प्रदर्शन गर्‍यो, विशेष गरी सविता र प्रीतिले,’ फिलिप्सले भने, ‘टोलीकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी नहुँदा हामी दबाबमा थियाैँ। तर नयाँ खेलाडीले आफ्नो क्षमता प्रमाणित गरे। हामीले पहिलो हाफमै अग्रता लियाैँ।  त्यसैले हामीले केही सहज भएर खेल्यौं। दोस्रो हाफमा खेलाडीहरू केही थकित देखिँदा गोलका अवसर सिर्जना गर्न सकेनाैँ। ’

फिलिप्सले आफूहरूले विगत ६ सातादेखि आर्टिफिसियल टर्फमा अम्यास गरेको र दुई दिन (मंगलबार र बुधबार) मात्र प्राकृतिक मैदानमा अभ्यास गर्न पाएकाले बिहीबार पहिलो खेलमा स्वाभाविक प्रदर्शन गर्न नसकेको बताए।  

‘मैदानको अवस्थाका कारण टोली स्वाभाविक प्रदर्शन गर्न चुक्यो,’ फिलिप्सले भने, ‘आशा छ टोलीले दोस्रो खेलमा सुधारिएको प्रदर्शन गर्नेछ। ’ यता डेब्यु खेलमा गोल गर्दै राष्ट्रिय टोलीको यात्राको सुखद थालनी गरेपछि प्रीतिले आफूलाई अझ प्रमाणित गर्न बाँकी रहेको प्रतिक्रिया दिइन्।  

‘मैले उमेर समूह (यु–१८ र यु–१९) मा राष्ट्रिय टोलीमा परे पनि पहिलो रोजाइमा कहिल्यै पनि अवसर पाइनँ।  पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएकी थिएँ,’ प्रीतिले भनिन्, ‘मलाई विश्वास गरेर पहिलो रोजाइमा अवसर दिनुभएकोमा प्रशिक्षक ग्यारी फिलिप्सलाई धन्यवाद दिन चाहन्छु। आजको प्रदर्शनले मेरो मनोबल बढेको छ। आशा छ, आगामी दिनमा थप उत्कृष्ट प्रदर्शनका साथ आफूलाई प्रमाणित गर्दै लैजानेछु। ’

यता बंगलदेशका प्रशिक्षक गुलाम रोबानी चोटोनले नतिजामा पछि परे पनि टोलीको प्रदर्शनबाट भने खुसी भएको बताए। ‘हामी लामो समयपछि मैदान फर्किएका हाैँ।  टोलीले रणनीतिअनुसारको प्रदर्शन भने गर्न सकेन,’ चोटोनले भने, ‘पहिलो हाफमा गरेको दुई गल्तीमा हामीले गोल खान पुग्यौं।  खेलको अन्तिममा टोलीले लय समात्ने संकेत गरे पनि त्यो पर्याप्त भएन।  समग्रमा टोलीको प्रदर्शनबाट सन्तुष्ट छु। ’चोटोनले पहिलो खेलमा गरेको गल्ती सुधार गर्दै आइतबार हुने दोस्रो मैत्रीपूर्ण खेलमा जितका साथ एएफसी महिला एसियन कप छनोटका लागि उच्च मनोबल बटुल्ने बताए। 

प्रकाशित: २५ भाद्र २०७८ ०२:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App