२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

हातविहीन करिमीले पानीमा भेटेको स्वतन्त्रता

सन्तान जन्मिएको दिन कुनै पनि मानवका लागि जीवनकै सबैभन्दा खुसीको क्षण हो।तर अफतानिस्तानमा जब अब्बास करिमीको जन्म भयो, उनका अविभावक चिन्तित थिए, कारण करिमी जन्मँदा उनका दुवै हात थिएनन्।  

‘म अरू बालबालिकाभन्दा शारीरिक रूपमा भिन्न थिएँ। जब मैले मेरा अभिभावक म जन्मँदा भविष्यका बारेमा चिन्तित हुँदै धेरै रोएका थिए भन्ने सुनें, मलाई निकै दुःख लाग्यो। मलाई कसरी हुर्काउने भन्नेमा उहाँहरू दुबिधामा हुनुहुन्थ्यो,’ टोेकियोमा जारी पारा ओलम्पिक २०२० मा शरणार्थी टोलीको प्रतिनिधित्व गरिरहेका २४ वर्षीय पौडीबाज करिमीले भने।

यद्यपि अभिभावकले अन्य सन्तानसरह नै करिमीको पालनपोषणमा कुनै कमी हुन दिएनन्। तर टोलछिमेक र विद्यालयमा करिमीको शरीरलाई लिएर गरिने भद्दा मजाकबाट भने उनीहरूले आफ्नो छोरालाई अलग राख्न सकेनन्। आफूमाथि साथीभाइले गर्र्ने व्यवहारबाट सुरक्षित रहन भन्दै उनले १२ वर्षको उमेरबाट किक बक्सिङको प्रशिक्षण लिन थाले।

‘मलाई सबैले मेरो शारीरिक बनावटका आधारमा व्यहार गर्ने गर्दथे,’ करिमीले भने, ‘मलाई मेरा साथीभाइले ‘अपाङ्ग’ भनेर गिज्याउने गर्दथे। मलाई निकै रिस उठ्थ्यो, त्यसैले मैले मार्सल आर्ट सिक्ने निधो गरेको थिएँ। म अरूबाट आफूलाई जोगाउन चाहन्थें।’

मार्सल आर्ट्स सिक्दासिक्दै करिमीमा पौडीमोह जाग्यो, जुन अहिले उनका लागि विश्वसामु आफूलाई चिनाउने विशेष पहिचान बनेको छ। ८ वर्षको उमेरबाट नै करिमी आफ्ना साथीसँग घरनजिकै रहेको खोलामा पौडी खेल्न जान्थे। करिमी १३ वर्षको हुँदा उनका दाइले घरनजिकै २५ मिटरको स्विमिङ पुलको निर्माण गरे। त्यहाँ खेल्दा खेल्दै करिमीले आफ्नो शरीरको तल्लो भागमा विशेष क्षमता भएको थाहा पाए।  

‘मैले आफूमा भएको विशेष क्षमताको पहिचान गरें। मलाई थाहा थियो, मसँग हात छैन तर मसँग खुट्टा थियो,’ करिमीले भने, ‘म पौडीतर्फ आकर्षित भएँ। मेरो दाइले घरमा स्विमिङ पुल निर्माण गर्नुअघिसम्म पनि मलाई मेरो क्षमताको बारेमा थाहा थिएन। रमाइलोका लागि साथीहरूसँग घर नजिकैको खोलामा जाँदा म किनारामा डुबुल्की मार्थें। 

मलाई हात नभए पनि पौडी खेल्न सक्छु जस्तो कहिल्यै लागेको थिएन। मैले लाइफ ज्याकेट लगाएर पौडी सिक्न थालें र त्यहा लाइफ गार्ड पनि हुन्थे। मैले मेरो दाइलाई म पौडी सिक्न सक्छु भनेर सोधें। दाइले मलाई विश्वमा हात नै नभएका अरू पनि पौडी खेलाडी रहेको भन्दै मलाई यस खेलमा लाग्न प्रेरित गर्नुभयो।

‘अन्ततः मैले पानीमा मेरा स्वतन्त्रता भेटें। पौडँदा मलाई लाग्थ्यो मेरो पुनर्जन्म भएको भएको छ,’ उनले थपे।तर अफगानिस्तानमा गृहयुद्धका कारण करिमी १६ वर्षमा देश छोडेर भाग्न बाध्य भए। उनी एजेन्टको सहयोगमा आफ्नो परिवारसँग टर्की पुगे।

‘हामी कहाँ जाँदै छौं भन्ने हामीलाई थाहा थिएन। हामी गन्तव्यमा पुग्छांै वा बाटोमै अलपत्र पर्छौं भन्ने चिन्तामा थियौं,’ उनले भने, ‘हामी मात्र थिएनौं, त्यहाँ धेरै मानिस थिए। त्यो निकै डरलाग्दो यात्रा थियो। हामी बाटोभरि प्रार्थना गर्दै अघि बढेका थियौं। अन्ततः हामी केही कठिनाइका बावजुद आफ्नो गन्तव्यमा पुगेरै छोड्यौं।’

करिमीले आफ्नो गाउँमा जस्तो नयाँ ठाउँमा सहजै स्विमिङ पुलमा अभ्यासको अवसर पाएनन्। उनले आफू पनि आफ्ना अन्य साथीजस्तै स्वतन्त्र भएर बाँच्ने अठोट लिए। कसैले फरक क्षमता भएकै कारण आफूलाई नगिज्याऊन् भन्दै उनी लुकीलुकी हिँड्थे।

करिमीले आफ्नो परिवारसँग ४ वर्ष टर्कीका विभिन्न ४ शरणार्थी शिविरमा कटाए। तर उनी बसेको दोस्रो शरणार्थी शिविरमा भने फरक क्षमता भएकाहरूका लागि पनि प्राथमिकता दिइएको थियो। जहाँ उनी दैनिक २ पटक पौडी अभ्यासका लागि जाने गर्दथे र उनका लागि यातायातको व्यवस्था गरिएको थियो। ‘मलाई पौडीमै मेरो भविष्य छ र यहींबाट मेरो छुट्टै पहिचान बन्नेछ भन्ने थाहा थियो,’ करिमीले भने, ‘अन्ततः त्यही भयो। म अरूभन्दा विशेष छु है भन्नका लागि केही ठूलो काम गर्न चाहन्थें। तर मैले एउटा कुरा बुझें, तपाईं कोहीभन्दा राम्रो हुन आवश्यक छैन, तपाई जेजस्तो हुनुहुन्छ त्यसमै रमाउनुहोस्।’

करिमीले टर्कीमा छँदा दुईवटा राष्ट्रिय खेलकुदमा गरी कुल १५ पदक जिते तर आवश्यक कानुनी कागजात नभएकै कारणले उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा भने सहभागिता जनाउन पाएनन्। सन् २०१५ सेप्टेम्बरमा रेस्लिङका पूर्वप्रशिक्षक माइक इभ्सले फेसबुकमा करिमी खेलिरहेको भिडियो देखे। उनको खेलजीवनको नयाँ गाथा यहींबाट कोरियो। सन् २०१६ मा माइकले अफगानिस्तान सरकारलाई सन् २०१६ को रियो पारा ओलम्पिकमा करिमीलाई अफगान टोलीबाट खेलाउन आग्रह गरे। माइककै सहयोगमा करिमीले सन् २०१६ मा ओरिगनको पोर्टल्यान्डस्थित युएनएचसिआरको शरणार्थी शिविरमा बसोबासको अवसर पाएका थिए।

‘उनी मेरा लागि मेरा अमेरिकी बुबाजस्तै हुन्, मेरो दोस्रा बुबा। त्यस्तै अफगानिस्तानका प्रशिक्षक कासिम हामिदीले मेरो क्षमतामा थप सुधार ल्याए। मलाई म अमेरिका पुग्छु भन्ने कहिले लागेको थिएन तर उनले त्यसलाई सम्भव बनाए,’ करिमीले भने, ‘अमेरिका पुगेर मेलै एउटा राम्रो खेलाडी बन्ने मेरो सपना पूरा गर्ने अवसर पाएँ।’

सन् २०१७ मा मेक्सिकोमा भएको विश्व पारा पौडी च्याम्पियनसिपमा हात पारेको सफलता नै करिमीको पारा ओलम्पिक सपना पूरा गर्ने सिँढी बन्यो। उनले जापानमा जारी टोकियो पारा ओलम्पिकमा शरणार्थी टोलीको प्रतिनिधित्व गर्दै छन्।

‘मैले विगत ९ वर्षदेखि गरेको संघर्षपछि आज म मेरो सपना साकार पार्ने संघारमा पुगेको छु,’ करिमीले भने, ‘आशा छ म विश्व खेलकुदमा विशेष छाप छोड्न सफल हुनेछु। सम्भव भए टोकियोमा नभए पेरिसमा म पारा ओलम्पिक पदक सपना साकार पार्न चाहन्छु। संन्यासअघि म पारा ओलम्पिकमा पदक जित्न चाहन्छु।

प्रकाशित: १२ भाद्र २०७८ ०३:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App