३ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

मैदान अभाव झेलिरहेको भक्तपुरका फुटबल खेलाडीको लक्ष्य सी डिभिजन

भक्तपुरको सिद्धि स्मृति भक्तपुर फुटबल क्लवले शहिद स्मारक सी डिभिजन पुग्ने लक्ष्य राखेको छ। क्लवले फुटबल टोलीको तयारीबारे आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राम प्रजापतिले फुटबलमा भक्तपुरको पुरानो साख फिर्ता ल्याउन सी डिभिजनमा पुग्ने लक्ष्य राखेको बताए।  

वि. सं. २०६५ सालमा स्थापना भएको क्लवले यसवर्ष सी डिभिजन छनोट प्रतियोगिताको तयारी गरिरहेको छ। विगतमा भक्तपुरका थुप्रै फुटबल खेलाडीहरुले राष्ट्रिय टोलीमा स्थान बनाएपनि केही वर्ष यता प्रायः शून्यको अवस्था रहेको बताउँदैं अध्यक्ष प्रजापतिले यसवर्ष सी डिभिजन पुग्ने र क्रमशः ए डिभिजनसम्म पुग्ने क्लवको लक्ष्य रहेको जानकारी दिए।

क्लवले सी डिभिजनको छनोट प्रतियोगिताको लागि विरगंजको युनाईटेडका खेलाडीलाई क्लवमा आवद्ध गराई प्रशिक्षण गरिरहेको प्रशिक्षक दामोदर शिल्पकारले जानकारी दिए। ‘मैले विगतमा लामो समय विरगंजको युनाईटेडको प्रशिक्षक भएर टिम हेरेको आधारमा यसवर्ष भक्तपुर फुटबल क्लवबाट खेलाउन ल्याएका हौं,’ प्रशिक्षक शिल्पकारले भने।

टोलीले बिहान ८ बजेदेखि महेश्वरी खेल मैदानमा प्रशिक्षण गरिरहेको जानकारी दिँदै मैदानको खराब अवस्थाले फुटसलमा लगेर प्रशिक्षण गराउनु पर्ने बाध्यता रहेको समेत बताए। ‘भक्तपुरमा एउटा स्तरिय मैदानसमेत छैन। खेलाडी भएपनि मैदान नभएका कारण भक्तपुरको फुटबलको स्तर उठ्न नसकेको हो,’ उनले भने।

प्रशिक्षणमा खेलाडीहरुको फिटनेसलाई विशेष ध्यान दिइएको र उनीहरुको खेल क्षमता विकासका लागि मैत्रीपूर्ण खेलमा जोड दिएको शिल्पकारले बताए। उनले हालै ए डिभिजन क्लवसँग मैत्रीपूर्ण खेल खेलेको र त्यसमा ५–१ ले पराजित भएपनि एक गोल गर्न सक्नु क्लवको सफलता भएको बताए।

पत्रकार सम्मेलनमा क्लवका मुख्य प्रायोजक सिद्धि स्मृति प्रतिष्ठानका अध्यक्ष श्यामसुन्दर धौभडेलले प्रतिष्ठानको पाँच प्रमुख उद्देश्य मध्ये खेलकुद पनि एक भएकोले विगतदेखि नै प्रतिष्ठानले खेल क्षेत्रमा लगानी गर्दै आइरहेको जानकारी दिए। उनले खेलको विकासका लागि प्रमुख पूर्वाधारको रुपमा रहेको खेल मैदानको अभावले खेलाडीहरु पलायन हुने अवस्था रहेको बताए। ‘सम्पदा संरक्षणमा जस्तै स्थानीय तहको अग्रसरता खेल र खेल मैदानको विकास तथा बिस्तारमा पनि हुनुपर्छ,’ उनले भने ।

क्लवका प्रायोजक गोर्खा ईको प्यानलका कार्यकारी प्रमुख सुरेश कवाँले फुटबलको क्षेत्रमा पनि भक्तपुरको पहिचान स्थापित गराउन आफ्नो उद्योग जोडिन पाउँदा खुसी लागेको बताए।

अर्को प्रायोजक डा. इवामुरा अस्पतालका राजुमृगेन्द्र जोशी र भक्तपुर ११ का श्यामशरण श्रेष्ठले विगतमा प्रायोजक नपाएकै कारण भक्तपुरको फुटबल माथि उठ्न नसकेको चर्चा गर्दै जिल्लामा ठूला उद्योग नभएका कारण पनि फुटबल ओझेलमा परेको बताए।

सिद्धि स्मृति भक्तपुर फुटबल क्लव शहिद स्मारक सी डिभिजन छनोट प्रतियोगिताको समूह ‘आई’ मा रहेको छ। सो समूहमा युथ हसन्टार क्लव र भक्तपुरकै दिव्यश्वरी फुटबल क्लव रहेको छ।  भक्तपुरले पहिलो खेल भदौ २२ गते युथ हसन्टारसँग खेल्ने छ भने समूह चरणको दोस्रो खेल दिव्यश्वरीसँग भदौ २६ गते खेल्ने तालिका छ।

यसवर्षको सी डिभिजन छनोट प्रतियोगितामा भक्तपुरका ६ क्लवले प्रतिष्पर्धा गर्दैछन्। यसवर्ष सिद्धि स्मृति भक्तपुर फुटबल क्लव, दिव्यश्वरी फुटबल क्लव, मध्यपुर जागरुक युवा क्लव, थिमि युथ क्लव, भ्याली इगल्स क्लव र सत्य संसार रियल फुटबल क्लवले सहभागिता जनाउने छन्।

प्रकाशित: ६ भाद्र २०७८ ०८:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App