१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

भीम र वसन्ती उत्कृष्ट

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (एनआइटिएफ) ले शुक्रबार पुरुषमा भीमबहादुर तामाङ र महिलामा वसन्ती बुढामगरलाई वर्षको उत्कृष्ट खेलाडीको अवार्डबाट पुरस्कृत गरेको छ।  

एनआइटिएफको आफ्नो २४औं वार्षिकोत्सवका अवसरमा काठमाडौंको साङ्लास्थित साइनो स्पोर्ट्स सेन्टरमा आयोजित कार्यक्रममा उनीहरूलाई वर्षको उत्कृष्ट खेलाडीको अवार्डबाट पुरस्कृत गरिएको हो। नेपाल आर्मीका भीम र बागलुङकी वसन्तीले रोल्पा राष्ट्रिय भर्चुअल पुम्से प्रतियोगिताको दुई फरक संस्करणमा स्वर्ण जितेका थिए।

सोही अवसरमा नेपालगन्जका वीरेन्द्रबहादुर शाही उत्कृष्ट प्रशिक्षकको अवार्डबाट सम्मानित भए। तिनैले प्रशंसापत्रसहित जनही १५ हजार नगद पुरस्कार प्राप्त गरे। काठमाडौंका मनोज खड्का आउट स्ट्यान्डिङ प्रशिक्षक, रोल्पा उत्कृष्ट संघ र झापाका नवीन तामाङ उदीयमान प्रशिक्षकको अवार्डबाट सम्मानित भए। उनीहरूलाई प्रशंसापत्र प्रदान गरियो। विगत ३० वर्षदेखि हालसम्म आइटिएफ तेक्वान्दोमा सक्रिय नेपालगन्जकी ५४ वर्षीया फात्तिमा बानुलाई पनि विशेष अवार्डबाट सम्मान गरिएको थियो।

उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला, राखेपका निमित्त सदस्यसचिव एकेन्द्र कुँवर, बाग्मती प्रदेश खेलकुद परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारी र दक्षिण एसियाली आइटिएफ महासंघका उपाध्यक्षसमेत रहेका नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष अन्जन धमलाले पुरस्कृत गरे। त्यसअघि वार्षिकोत्सवको उपाध्यक्ष कोइरालाले उद्घाटन गरेका थिए। महासंघले हरेक वर्ष आफ्नो स्थापना दिवसका अवसर विभिन्न कार्यक्रम आयोजना गर्दै आइरहेको छ। त्यसै अवसरमा सिनियर डान ग्रेडिङबाट पाँच जना छैटौं डानमा पदोन्नति भएको जानकारी दिइयो। तेस्रो र चौथो डानका लागि ग्रेडिङ सञ्चालन भइरहेको संघले जनाएको छ।

प्रकाशित: २३ श्रावण २०७८ ०२:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App