१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

युरो कप २०२०ः फिनल्यान्ड रसियासँग स्तब्ध

पहिलो हाफको इन्जुरी समयमा एलेक्से मिरानचुकले गरेको गोल निर्णायक बन्दा रसियाले फिनल्यान्डलाई हराउँदै युरो कप २०२० मा पहिलो जित निकालेको छ।  

सेन्ट पिटर्सबर्गमा भएको प्रतिस्पर्धामा फिनल्यान्डलाई १–० ले रोक्दै रसियाले जारी प्रतियोगितामा पहिलो सफलता पाएको हो। प्रतिस्पर्धात्मक बनेको खेलमा अग्रता लिनुपूर्व दुवै टोलीले गोलका लागि केही अवसर सिर्जना गरेका थिए। केही अवसरमा स्ट्राइकर चुके भने केही राम्रा प्रहारलाई दुवै टोलीका गोलकिपरले बचाउ गरेका थिए।

यसअघि खेलको चौथो मिनेटमा फिनल्यान्डका जोएल पोहजनपालोले गोल गर्दै टोलीलाई सुरआती अग्रता दिलाएका थिए। तर भिडियो सहायक रेफ्री (भिएआर) ले अफसाइड संकेत दिएपछि गोलले मान्यता पाएन। जुक्का राइटाले डलेर कुजाएभलाई बिट गर्दै दिएको क्रस बललाई पोहजनपालोले हेडमार्फत गोल गरे पनि अफसाइड भएको थियो।  

पहिलो खेलमा डेनमार्कलाई १–० ले हराएर प्रतियोगितामा सुखद सुरुआत गरेको फिनल्यान्ड रसियासँग रोकिँदा उसको एक खेलअगावै अघिल्लो चरण प्रवेश गर्ने लक्ष्य विफल भएको छ। फिनल्यान्डको लक्ष्यलाई विफल पार्न पहिलो हाफको इन्जुरी समयमा एलेक्से मिरानचुकले गरेको गोल निर्णायक भएको हो। पहिलो खेल ३–० ले बेल्जियमलाई सुम्पिएको रसियाले यस खेलमा स्पष्ट अंक जोड्दै अघिल्लो चरण प्रवेशको सम्भावनालाई जीवितै राखेको छ।  

यता खेलको दौरानमा विपक्षीसँग बल खोस्ने क्रममा खराब ल्यान्डिङ गरेका रक्षक मारियो फर्नान्डेसलाई हस्पिटल लगिएको छ। उनको ढाडमा समस्या देखिएको आशंका गरिएको छ। पहिलो हाफमा फर्नान्डेसले मैदान छाड्नुपरेको थियो। करिब ४ हजार दर्शक उपस्थित भएको खेलमा फिनल्यान्डले दोस्रो हाफमा खेलमा फर्किन निकै प्रयास गरेको थियो। तर पाएका केही राम्रा अवसरलाई सदुपयोग गर्न सकेन।  

जित निकालेको रसियाले समूहको अन्तिम खेल अब डेनमार्कसँग खेल्नेछ भने पराजित फिनल्यान्डले बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ। समूहतालिकामा बेल्जियमको १ खेलबाट ३ अंक छ भने दुई खेलबाट एक/एक खेलमा जित निकालेका टोलीद्वय रसिया र फिनल्यान्ड क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। अंकविहीन डेनमार्क पुछारमा छ।

प्रकाशित: ३ असार २०७८ ०१:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App