१२ जेष्ठ २०७९ बिहीबार
खेल

युरो कप २०२०ः स्कटल्यान्डको पुनरागमन

युरो कप २०२० मा सोमबार तीन खेल हुँदै छन्। समूह ‘डी’ मा स्कटल्यान्डले चेक रिपब्लिकको सामना गर्दा समूह ‘ई’ मा पोल्यान्ड र स्लोभाकिया तथा स्पेन र स्विडेनबीच प्रतिस्पर्धा हुनेछ।

स्कटल्यान्डविरुद्ध चेक रिपब्लिक  

(समूह डी,ग्लोस्गो,६ः४५बजे)

सन् १९९८ पछि स्कटल्यान्ड युरो कप २०२० मार्फत प्रमुख प्रतियोगितामा पुनरागमन गर्दै छ। स्कटल्यान्ड फ्रान्समा सम्पन्न सन् १९९८ को विश्वकपमा मोरक्कोविरुद्ध ३–० को हारपछि टोली प्रमुख प्रतियोगितामा छनोट हुन असफल रहँदै आएको छ। चेक रिपब्लिक र स्कटल्यान्ड पछिल्लो पटक सन् २०१९ मा युइएफए नेसन्स कपमा भिडेका थिए, जहाँ घरेलु मैदान ग्लास्गोमा भएका दुवै लिगमा स्कटल्यान्डले १–० ले बाजी मारेको थियो।

चेक रिपब्लिकविरुद्धको जितले स्कटल्यान्डको पहिलो पटक प्रमुख प्रतियोगिताको नकआउट चरण प्रवेश सम्भावना बलियो पार्नेछ। पछिल्लो २ खेलमा हात पारेको जितले स्कटल्यान्डको आत्मविश्वास बढेको छ, त्यसमाथि घरेलु समर्थकमाझ खेल्नु स्कटल्यान्डका लागि विशेष ऊर्जा बन्न सक्छ। स्कटल्यान्डले पछिल्ला १६ मा मात्र २ खेल गुमाएको छ।

चेक रिपब्लिक भने स्कटल्यान्डविरुद्ध पछिल्लो दुई भिडन्तमा गरेको रक्षापंक्तिको गल्ती सुधार गर्दै आक्रामक रणनीतिमा उत्रने लक्ष्यमा छ।

चेक रिपब्ल्किविरुद्धको खेलले टोलीको अघिल्लो चरण प्रवेश यात्रा कोर्नेछ। ‘हाम्रो लक्ष्य चेक रिपब्लिकसँग स्पष्ट ३ अंक जोड्दै समूहका बलिया टोली इङ्ल्यान्ड र क्रोएसियाविरुद्ध कम्तीमा १ अंक जोडेर अन्तिम ३ मा प्रवेश गर्नु नै हो,’ स्कटल्यान्डका प्रशिक्षक स्टिभ क्लार्कले भने, ‘मलाई मेरो टोलीप्रति विश्वास छ।’  

यता चेक रिपब्लिकका प्रशिक्षक यार्सोलाभ सेलहाबीले भने स्टकल्यान्डविरुद्ध पछिल्लो दुई खेलमा भोगेको हारको बदला लिँदै प्रतियोगितामा सुखद सुरुआत गर्ने रहेको बताए।

‘स्टकल्यान्ड बलियो र कठिन टोली हो,’ सेलहाबीले भने, ‘पछिल्लो पटकको भेटमा हामीले स्कटल्यान्डविरुद्ध धेरै गोलको अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेका थिएनाैं, तर उनीहरूले एउटै अवसरको सदुपयोग गरे। सोमबारको खेलमा हामी त्यही गल्ती सुधार गर्छाैं।

पोल्यान्डविरुद्ध स्लोभाकिया  

(समूह ‘ई’,सेन्ट पिटर्सबर्ग,९ः३० बजे)

समूह ‘ई’ अन्तर्गत रूसको सेन्टपिटर्सबर्गमा हुने पहिलो खेलमा पोल्यान्ड र स्लोभाकिया आमनेसामने हुँदा यी दुई टोलीका दुई खेलाडी सबैको नजर हुनेमा शंका छैन। पोल्यान्डका स्ट्राइकर रोबेर्ट लेवान्डोवस्की सन् २०१२ मा घरेलु मैदानमा भएको युरो कपमा पहिलो गोलकर्ता थिए भने सन् २०१६ को फ्रान्स युरो कपमा टोलीलाई क्वार्टरफाइनलसम्मको यात्रा तय गराउँदा पनि उत्कृष्ट लय कायम राखेका थिए। लेवान्डोवस्कीले हालसम्म पोल्यान्डका लागि १ सय १९ खेलमा ६६ गोल गरिसकेका छन्।

यता स्लोभाकियाको प्रदर्शन पनि महारेक ह्यामसेकको प्रदर्शनमा निर्भर हुनेछ। ह्यामसेकले सन् २००७ मा पोल्यान्डविरुद्धको खेलबाटै अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका थिए। त्यसैले ह्यामसकेका लागि यो खेल विशेष बन्न सक्छ। सन् २००९ पछि पोल्यान्ड र स्लोभाकिया आमनेसामने हुन लागेको यो पहिलो पटक हो। स्लोभाकियाको यो मुख्य प्रतियोगितामा तेस्रो सहभागिता हो। सन् २०१० को विश्वकप र सन् २०१६ को युरो कपको समूहचरण पार गरेको स्लोभाकिया सोही सफलतालाई निरन्तरता दिन चाहन्छ।  

स्पेनविरुद्ध स्विडेन (समूह ‘ई’, सेभिया, १२ः४५ बजे)

स्पेनले घरेलु मैदानमा स्विडेनविरुद्धको खेलसँगै युरो कप २०२० को यात्रा सुरुआत गर्नेछ। स्पेन र स्विडेनबीच पछिल्लो पटक भएको दुई भिडन्तमध्ये एकमा स्पेनले बाजी मारेको थियो भने अर्को खेल बराबरीमा सकिएको थियो।

स्पेनले युरो कप २०२० का लागि नियमित कप्तान सर्जियो रामोसलाई विश्राम दिँदै युवा खेलाडीमा विश्वास देखाएको छ।

‘स्विडिस टोलीमा एकै जनाले खेलको नतिजामा प्रभाव पार्ने कुनै खेलाडी छैनन्। उनीहरू टिमवर्कमा विश्वास गर्छन्, यो नै हाम्रो लागि मुख्य चुनौती हो,’ स्पेनका प्रशिक्षक लुइस इनरिकेले भने, ‘उनीहरूको बलियो रक्षापंक्ति तोड्न हाम्रा लागि कठिन बन्न सक्छ। आशा छ, टोलीले प्रतियोगितामा सुखद सुरुआत गर्नेछ।’ यता स्विडेनले सन् २००४ पछि युरो कपको समूहचरण पार गर्न सकेको छैन। यद्यपि स्विडेनले सन् २०१८ को रूस विश्वकपमा भने अन्तिम १६ को यात्रा तय गरेको थियो।

‘वर्तमान विश्व फुटबलमा स्पेनविरुद्ध खेल्नु कुनै पनि टोलीका लागि सबैभन्दा ठूलो चुनौती हो,’ स्विडेनका प्रशिक्षक याने एन्डरसनले भने, ‘तर पनि हामी स्पेनलाई कडा चुनौती दिन तयार छांै। हाम्रा लागि स्पेनविरुद्ध बदला लिने यो नै सुनौलो अवसरसमेत हो।’

प्रकाशित: ३१ जेष्ठ २०७८ ०८:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App