१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

ब्युँझिएको भलिबल सुस्ताउँदै

काठमाडौं-पोहोर साल नेपाली खेलकुद भलिबलमय थियो। नेपाल भलिबल संघले राष्ट्रिय खेलकुद परिषद्बाट उत्कृष्ट संघको पुरस्कार पाउने गरी दर्जनभन्दा बढी प्रतियोगिता गर्‍यो। डेढ दशक सुस्ताएपछि गत वर्ष भलिबल ब्युँझिएको थियो।


भौगोलिक अवस्था र खर्चको दृष्टिले भलिबल नेपालमा सबैभन्दा बढी सम्भावना बोकेको खेलमा पर्दछ। तर, पर्याप्त सम्भावना भएर पनि सुस्ताउनेको सूचीमा पनि भलिबल नै अग्रपंक्तिमा आउँछ। गंगाबहादुर थापाको नेतृत्वमा रहेको १५ वर्षे विरासत तोड्दै निर्वाचनले संघमा नयाँ कार्यसमिति चयन गरेपछि गत वर्ष भलिबल संघलाई प्रतियोगिता गर्न भ्याइनभ्याई भयो। तर, नयाँ नेतृत्वको जोश एक वर्षभन्दा बढी टिक्न सकेन। यो वर्ष संघले एउटै राष्ट्रिय प्रतियोगिता गर्न सकेको छैन।

नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान भरत शाह भलिबल संघले कहिल्यै राम्रो नेतृत्व नपाएका कारण सम्भावना भएर पनि भलिबल खुम्चिएको विचार राख्छन्। भन्छन्, 'संघका पदाधिकारीलाई राजनीति गर्नमै समय पुग्दैन। खेलबारे सोच्ने फुर्सद कसैलाई छैन। नेपाली भलिबलको यो पुरानै रोग हो।'

पदाधिकारीको पहिलो प्राथमिकतामा भलिबल पर्न नसकेका कारण खेल दिनानुदिन खस्कँदै गएको उनी बताउँछन्। लामो समय राष्ट्रिय टोलीको कप्तानी सम्हालेका शाहको भनाइ पदाधिकारीको व्यवहारले पनि प्रमाणित गरेको छ। त्रिभुवन विश्वविद्यालयका जागिरे थापाको प्राथमिकतामा परिषद् र नेपाल ओलम्पिक कमिटीको राजनीतिमात्र पर्दा १५ वर्ष गतिविधिशून्य भएको भलिबल अहिले वर्तमान अध्यक्ष दानबहादुर तामाङको राजनीतिका कारण ओझेलमा परेको छ।

यसै महिना सम्पन्न संविधानसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ५ बाट नेकपा एमालेको उम्मेदवार बनेका तामाङले ८ महिना संघबाट बिदा लिएका थिए। संविधानसभाका अर्का उम्मेदवार लीलाबहादुर थापाले पनि ८ महिना भलिबलमा काम गरेनन्। थापा एमाओवादीबाट बाग्लुङ क्षेत्र नम्बर २ मा चुनाव लडेका थिए। दुवैले चुनाव जित्न सकेनन्।

चुनावकै लागि भनेर तामाङले १ वर्ष संघबाट बिदा लिए। उनको अनुपस्थितिमा ४ महिना संघको बैठकसमेत बस्न सकेको छैन। स्वयम् तामाङ पनि राजनीतिले काममा बाधा परेको स्विकार्छन्। 'देशको राजनीतिक परिस्थिति र पोहरको कामको थकाइले यो वर्ष प्रतियोगिता गर्न ढिला भयो। देश नै चुनावमा होमिएको बेला हामीले भलिबलमा समय दिन सकेनौं। अब जतिसक्दो धेरै प्रतियोगिता गर्ने कोसिस गर्नेछौं,' उनी आश्वस्त पार्छन्।

कप्तान शाह भने संघसँग व्यावसायिक योजना नहुनुलाई मुख्य समस्या मान्छन्। 'दस वर्षअघि र अहिले हुने राष्ट्रिय प्रतियोगितामा फरक छैन। पुरस्कार पनि उस्तै छ। व्यावसायिक लगानी भिœयाउन सकिएको छैन। विभागीय टोलीकै भरमा सधंै भलिबल थेगिन सक्दैन,' उनको गुनासो छ।

प्रशिक्षक कपिलकिशोर श्रेष्ठ कमजोर घरेलु संरचना र अन्तर्राष्ट्रिय सहभागिता नहुँदा खेलको स्तर घट्दै गएको बताउँछन्। 'हामीकहाँ घरेलु भलिबलको संरचना बलियो छैन। राष्ट्रिय टोलीका खेलाडीले वर्षमा एउटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पनि गाह्रो छ। जसका कारण खेलाडीको स्तर बढ्न सक्दैन र नयाँ पुस्ताको भलिबलमा आकर्षण कम हुँदै जान्छ,' उनी भन्छन्।

कुनैबेला नेपाली खेलकुदमै सबैभन्दा लोकप्रिय खेलमध्ये एक भलिबलप्रति नयाँ पुस्ताको आकर्षण बढाउनु अहिलेको मुख्य चुनौती हो। 'नयाँ खेलाडीहरू धेरै संख्यामा आए भने मात्र स्तर माथि उठ्न सक्छ। त्यसपछि अरु सुविधाको कुरा कल्पना गर्न सकिन्छ। अहिले त खेल्ने नै कोही छैनन्। नयाँ खेलाडीलाई आकर्षित गर्न पर्याप्त मात्रामा आकर्षक घरेलु प्रतियोगिता हुनुपर्छ र अन्तर्राष्ट्रिय सहभागिता पनि त्यत्तिकै हुनुपर्छ,' उनी भन्छन्।

एक वर्षअघि सुरुआत गरिएको एनभिए लिग र एनभिए क्लब च्याम्पियनसिपले निरन्तरता पाए भलिबल विकासमा टेवा पुग्ने प्रशिक्षक श्रेष्ठले बताए। व्यावसायिकतातर्फ जान ढिलाइ गर्दा भलिबलको विकास सुस्त बनेको संघका केन्द्रीय सदस्य भीम वली बताउँछन्। आर्थिक समस्याका कारण व्यावसायिक बन्न नसकेको बताउने वलीसँग पनि त्यसको कुनै योजना भने छैन।

'प्रतिभा खोज कार्यक्रम' गर्न नसक्नु संघको अर्को कमजोरी भएको बताउँछन् पूर्वकप्तान शाह। उनले भने, 'नयाँ खेलाडी उमेर समूहको प्रतियोगिताबाट आउने हो। तर, संघले जुनियर प्रतियोगिताको सुरुआत नै गर्न सकेको छैन। नयाँ खेलाडी उत्पादन नभएसम्म राष्ट्रिय टिम बलियो हँुदैन।'

लोकप्रियता र सफलतालाई खेलको मेरुदण्डका रूपमा बयान गर्ने शाहले थपे, 'कुनै पनि खेलको लोकप्रियता राष्ट्रिय टिमको सफलतासँग जोडिन्छ। खेल लोकप्रिय भए सफलता आउँछ र सफल भए लोकप्रिय हुन्छ। तर, नेपालमा भलिबलको लोकप्रियतालाई संघले संस्थागत गर्न नसक्दा हामी सफल हुन सकेका छैनौं। भलिबल देशभर खेलिन्छ। हिमाल, पहाड र तराई सबै क्षेत्रमा यो लोकप्रिय स्थानीय खेल हो। संघले यो लोकप्रियतालाई मात्र संस्थागत गर्न सके व्यावसायिक प्रतिष्ठानको रोजाइमा पनि भलिबल पर्छ।'

संघका कार्यक्रमहरू

पुसमा नवलपरासीमा २८औं राष्ट्रिय पुरुष र पोखरामा १८औं राष्ट्रिय महिला भलिबल प्रतियोगिता संघले यो वर्ष गर्न लागेको पहिलो प्रतियोगिता हो।

दर्जनभन्दा बढी राष्ट्रिय प्रतियोगिता र चार अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगिता गरेको संघले हरेक वर्ष गर्ने घोषणा गरेको दक्षिण एसियाली स्तरको प्रतियोगिता यो वर्ष नहुने पक्काजस्तै भइसकेको एक पदाधिकारी बताउँछन्।

तामाङ नेतृत्वमा नयाँ कार्यसमिति चुनिएदेखि नै २०१४ मा दक्षिण कोरियाको इन्चेनमा हुने १७औं एसियाली खेलकुदमा सहभागिता जनाउने मुख्य लक्ष्य बनाएको संघ अहिले त्यसमा पनि अन्योलमै छ। नेपाल ओलम्पिक कमिटीले इन्चेनमा भाग लिने २० खेलको सूची सार्वजनिक गर्दा भलिबल त्यसमा थिएन।

प्रकाशित: २९ मंसिर २०७० ००:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App