१६ चैत्र २०८० शुक्रबार
खेल

प्यारापिटको छानो छाउँदै

पोखरा रंगशाला फुटबल मैदानको प्यारापिट

लामो समयदेखि रोकिएको पोखरा रंगशाला फुटबल मैदानको प्यारापिटको छानो छाउन थालिएको छ । भारतीय प्राविधिक नआउँदा लामो समयदेखि प्यारापिटको छानो छाउने काम रोकिएको थियो । भारतीय प्राविधिक आईसकेपछि छानो छाउने कामले गति लिएको हो ।  

‘भारतीय प्राविधिक आईपुगे । प्राविधिक आएपछि छानो छाउने काम बिहीबारबाट शुरु गर्यौ,’  भारतीय कम्पनी ग्रेट स्पोर्टस एण्ड एम.ए कन्ट्रक्सन (जे.भी)का प्रोजेक्ट मेनेजर दिपक बरालले भने, ‘सात जना भारतीय प्राविधिक आएका छन् ।’ उनका अनुसार भारतीय प्राविधिकलाई स्थानीय कामदारले सहयोग गर्नेछन् ।

छानो छाउनेसँगै ठेकेदार कम्पनीले रंगशालाभित्र बाँकी रहेको कालोपत्रे गर्ने कामलाई समेत टुग्याउने जनाएको छ । ‘केही ठाँउमा नाली निर्माण गरेर सडक कालोपत्रे गर्ने तयारीमा छौ,’ उनको भनाई थियो । पोखरा रंगशालाको काम झण्डै छ महिना पूर्णरुपमा ठप्पै हुन पुग्यो । कोरोना महामारीकै कारण कामको प्रगति हुनै सकेको थिएन । ‘अधुरा काम छिट्टै सक्ने छौं । नयाँ काम भने तत्कालै सम्भव देखिएन्, ’उनले भने, ‘नयाँ भवन बनाउने काम अहिले सम्भव छैन् । राष्ट्रिय खेलकुद परिषदबाट स्वीकृति हुनै बाँकी छ ।’  

रंगशालाभित्र फुटबल मैदानसहित प्यारापिट एवं सिन्थेटिक ट्रयाक बनाउन पूर्व खेलकुद मन्त्री जगत विश्वकर्माले २०७५ फागुन २६ गते शिलान्यास गरेका थिए । समयमै काम पुरा नहुँदा निर्माण कार्यलाई परिषदले कम्पनीसँग म्याद थप्दै आएको छ । म्याद हालसम्म छ पटक थपिसकिएको छ । प्रोजेक्ट म्यानेजर बरालका अनुसार सहज परिस्थिति भए ६ महिनाभित्रमा काम सकिने छ । ‘तीन महिनाभित्रमा प्यारापिटको भीआईपी सिटको माथि छानो हाल्ने र बाँकी ३ हजार ५ सय सिट जडान गरिसक्छौं,’ उनले भने ।  

‘प्यारापिट स्टिल मोडलुर सिष्टममा बनाइएको छ । राष्ट्रिय खेलकुद परिषदले समेत समयमै भुक्तानी नदिदाँ कामको रफ्तार अघि बढ्न नसकेको गुनासो कम्पनीको छ । प्यारापिट १६ हजार पाँचसय सिट क्षमताको छ । थप ३ हजार ५ सय सिट जडान गरेपछि क्षमता २० हजार पुग्नेछ । थप सिट जडान गर्न २५ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । फुटबल मैदान, ट्रयाक तथा प्यारापिट निर्माणको लागि कम्पनीसँग परिषदले १ अर्ब २८ करोडमा सम्झौता गरेको हो । 

प्रकाशित: ३० वैशाख २०७८ ०८:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App