२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
कला/साहित्य

नेपालगञ्जमा कथाकार सुरेश यक्सोको ‘पेनिबा’ काे अन्तरक्रिया

नेपालगञ्जमा कथाकार सुरेश यक्सोको ‘पेनिबा’ कथासङ्ग्रहकाे अन्तर्क्रिया भएको छ। चलचित्र पत्रकार संघ नेपाल बाँके र क्रियाशील पत्रकार महिला बाँकेको संयुक्त आयोजनामा कथासङ्ग्रहकाे अन्तर्क्रिया तथा समीक्षा कार्यक्रम भएकाे हाे।

कार्यक्रममा वक्ताहरूले पुस्तकलाई सशक्त, पठनीय र समकालीन यथार्थसँग जोडिएको कृति भएको बताएका छन्।

लाेकप्रिय कथाकार सनत रेग्मीले यक्सोको पहिलो कथासंग्रह भए पनि कृति सफल बनेको उल्लेख गरे। उनले संग्रहकै शीर्षक कथा ‘पेनिबा’ आफूले लेख्ने शैलीसँग मिल्दोजुल्दो आञ्चलिक स्वाद बोकेको भन्दै विशेष प्रशंसा गरेका थिए। नयाँ पुस्ताका पाठकलाई आकर्षित गर्न सक्ने गरी सटिक लेखन र चित्रात्मक शैली प्रभावकारी रहेको उनले बताए।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्ररिषि चौलागाईंले पुस्तकको लेखन सशक्त र सन्देशपूर्ण रहेको बताए। यस्तै कवि विपि अस्तुले पछिल्लो समय कविता र उपन्यासतर्फ आकर्षण बढिरहेका बेला कथा विधामा सक्रियता देखिनु सकारात्मक भएको उल्लेख गर्दै कृतिको पठनीयता र शैलीको प्रशंसा गरेका थिए।

कथासंग्रह पठनपछिको अनुभव सुनाउँदै सजल गैरेले कथासंग्रह पढिरहँदा आफैँले भोगेका अनुभव र गरेका अनुभूतिको प्रतिनिधित्व भएको बताइन्।  

सावित्री विश्वकर्माले कथासंग्रहमा वर्तमान समाजका विभिन्न आयाममा मिहीन ढंगले कथानक बुनिएको बताइन्। नयाँ पाठकहरूलाई तान्न सक्ने गरी सटिक लेखन शैली रहेका कथाहरू एक बसाइमा ३/४ कथा पढ्न सकिने उनले बताइन्।

त्यस्तै, बिमला चौधरीले ‘छोरा मार्ने आमाको बयान’ कथाले नेपाली समाजको कठोर यथार्थ उजागर गर्दै भावनात्मक रूपमा पाठकलाई छोएको बताइन्। कार्यक्रममा सहभागीहरूले कथाहरू एकै बसाइमा पढ्न सकिने, सुरु गरेपछि बीचमै छोड्न मन नलाग्ने खालका रहेको प्रतिक्रिया दिएका थिए।

क्रियाशील पत्रकार महिला बाँकेकी अध्यक्ष सावित्री गिरीले संग्रहमा समावेश ‘आइफोन काण्ड’ जस्ता कथाले प्रविधिले घरभित्रै सम्बन्ध टाढा बनाउँदै लगेको यथार्थ देखाउँदै समाजलाई सचेत गराउने प्रयास गरेको टिप्पणी गरिन्।

कार्यक्रममा चलचित्र पत्रकार संघ नेपाल बाँकेका अध्यक्ष रामचन्द्र पौडेलले चलचित्रका लागि राम्रो कथाको खाँचो रहने भएकाले संग्रहका केही कथा फिल्मका रूपमा रूपान्तरण हुन सक्ने सम्भावना औंल्याए। साथै आगामी दिनमा यस्ता कार्यक्रम निरन्तर गर्न चाहेको बताए।

कार्यक्रमले नयाँ लेखकलाई हौसला प्रदान गर्नुका साथै कथा साहित्यप्रति पाठकको रुचि बढाउने विश्वास आयोजकले व्यक्त गरेका छन्। उक्त किताबमा १५  कथा समावेश छन्।

प्रकाशित: १३ वैशाख २०८३ ०७:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App