१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
खेल

चैत अन्तिम साता पोखरामा मुआथाई च्याम्पियनसिप र सेमिनार

मुआथाईबारे जानकारी दिँदै आयोजक । तस्बिरः नागरिक

नेपालमा मुआथाईका रेफ्री तथा निर्णायक एवं प्रशिक्षक न्युन छन् । प्रशिक्षक तथा निर्णायक नहुँदा मुआथाईको नेपालमा व्यवसायिक प्रवद्र्धन हुन सकेको छैन् । नेपाल मुआथाई संघले पोखरामा पहिलोपटक मुआथाई च्याम्पियनसिपसँगै अन्तराष्ट्रिय सेमिनार गर्ने तयारी गरेको छ ।  

मुआथाई केन्द्रीय संघको प्राविधिक सहयोग तथा कास्की जिल्ला मुआथाई संघको व्यवस्थापनमा पोखरा रंगशालामा आगामी चैत अन्तिम साता अन्तर्राष्ट्रिय सेमिनार आयोजना गरिएको छ । सेमिनारसँगै तीनदिन मुआथाई च्याम्पियनसिप हुने मुआथाई संघले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिईयो ।  

‘पोखरामा मुआथाईको सेमिनार र च्याम्पियनसिपको इभेण्ट पहिलो पटक आयोजना गर्न गईरहेका छौं,’ नेपाल मुआथाई संघका महासचिव सुदीप पण्डितले भने, ‘सेमिनारमा अन्तर्राष्ट्रिय निर्णायक तथा अफिसियल आउने छन् । च्याम्पियनसिपमा सातै प्रदेशका खेलाडीले आफ्नो तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।’ सेमिनार आगामी चैत २४ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने छ । च्याम्पियनसिपको फाईनल ३१ गते हुने छ ।  

सेमिनारको लागि अन्तर्राष्ट्रिय मुआथाई महासंघबाट निर्णायक आउने छन् । मुआथाई संघ कास्कीका अनुसार निर्णायक तथा प्रशिक्षक एवं अफिसियल थाईल्याण्डबाट आउने छन् । सेमिनारमा नेपाल, भारत लगायत एशिया तथा युरोपबाट अफिसियलहरु आउने उनको भनाई छ ।  

पण्डितका अनुसार नेपालमा मुआथाईको व्यवसायिक विकासको लागि रेफ्री तथा निर्णायक उत्पादन हुनु अत्यावश्यक छ । त्यही अत्यावश्यकलाई पुरा गर्दै जिल्ला तहसम्म मुआथाई खेलको विकार र विस्तार गर्ने अभिप्रायले सेमिनार आयोजना गरिएको प्रष्टयाए । मुआथाई खेलको माध्यमबाट अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनमा नयाँ आयाम हुने विश्वास उनको थियो ।  

नेपालमा २१ जिल्लामा मुआथाई संघ छन् । मुआथाई च्याम्पियनसिपमा सातै प्रदेशका खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल मुआथाई संघका केन्द्रीय उपाध्यक्ष एवं मुख्य प्रशिक्षक दिपकबहादुर गोदारले जानकारी दिए । ‘४५ केजीदेखि ९१केजी तौलसम्म विभिन्न ७ वटा तौलमा प्रतिस्पर्धा गराईने छ,’ उनले भने ।  

च्याम्पियनसिप र सेमिनारको लागि ४० लाख खर्च हुने अनुमान गरिएको छ । सेमिनार र च्याम्पियनसिपमा सहभागि खेलाडी तथा अफिसियलबाट लिईने शुल्क लगायत अन्य विभिन्न निकायसँग सहयोग जुटाईने मुआथाई संघका केन्द्रीय कोषाध्यक्ष सम्पन्न श्रेष्ठले जानकारी दिए । उनका अनुसार राष्ट्रिय खेलकुद परिषद, गण्डकी प्रदेश सरकार तथा स्थानीय निकायसँग सहयोग जुटाईने उनले बताए । मुआथाई संघ कास्कीका अध्यक्ष प्रदीप पहारीले मुआथाई खेल माध्यमबाट युवापुस्तालाई खेलकुदमा प्रेरित गर्ने अभियानमा सबैले सहयोगी भूमिका खेल्नुपर्नेमा जोडदिए । 

प्रकाशित: २४ फाल्गुन २०७७ ०७:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App