१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

एपिएफकी स्ट्राइकर सावित्रालाई चाँडो शल्यक्रिया आवश्यक

जारी राष्ट्रिय महिला लिगमा गोल वर्षा गरिरहेकी एपिएफकी स्ट्राइकर सावित्रा भण्डारी करिब ६ देखि नौ महिना मैदानबाहिर रहने भएकी छन्। पुलिसविरुद्धको खेलमा घाइते भएकी सावित्राको घुँडाको शल्यक्रिया गर्नुपर्ने भएकाले उनी लामो समय मैदानबाहिर रहने भएकी हुन्।

एपिएफका टिमका व्यवस्थापक अमित मल्लले सावित्राको घुँडाको लिगामेन्ट च्यातिएको र तत्काल शल्यक्रिया गर्नुपर्ने जानकारी दिए। ‘स्ट्राइकर सावित्राको घुँडाको एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसिएल), पोस्टेरियर क्रुसिएट लिगामेन्ट (पिसिएल) र मिनिस्कसमा समस्या देखिएको छ,’ व्यवस्थापक मल्लले भने, ‘जतो सक्दो चाँडो घुँडाको शल्यक्रिया गर्नुपर्नेछ। शल्यक्रियापछि सावित्रा ६ देखि ९ महिना मैदानबाहिर हुनेछिन्।’ 

घाइते भएपछि मैदान छाडेकी उनले फिजियो नवीना श्रेष्ठसँग उपचारको परामर्श लिइरहेकी छिन्। व्यवस्थापक मल्लले सावित्राको शल्यक्रियाका लागि क्लबले एन्फासँग समन्वय गर्ने बताए। ‘एन्फाले देशबाट खेल्ने खेलाडीको राम्रो उपचारका लागि पहल गर्दै आएको छ,’ व्यवस्थापक मल्लले थपे, ‘सावित्राको उपचारका लागि क्लबले एन्फासँग समन्वय गर्छ।’ 

महिला लिगको १०औं चरण समाप्त हुँदा सावित्राकै उत्कृष्ट खेलको मद्दतमा एपिएफले अपराजित यात्रा कायम राखेको छ। दुई खेल बाँकी रहेको अवस्थामा सावित्राको टोली उपाधिनजिक पुगेको छ। एक खेलमा जित निकाल्दा एपिएफले उपाधि उचाल्छ। १० खेलबाट स्पष्ट ३० अंक जोडेको एपिएफ तालिकाको शीर्ष स्थानमा छ।  

सावित्रा घाइते भएको दिन सोमबार एपिएफले जारी लिगमा पहिलो गोल खाएको थियो। पुलिसविरुद्ध संघर्षपूर्ण जित निकाल्दा सावित्रा घाइते हुँदै मैदानबाहिर रहेकी थिइन्। जारी लिगमा सावित्राले सर्वाधिक ४३ गोल गरिसकेकी छन्। सावित्राको नाममा सर्वाधिक ३८ अन्तर्राष्ट्रिय गोलको कीर्तिमानसमेत छ। 

प्रकाशित: ५ फाल्गुन २०७७ ०५:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App