४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

पाँचप्रतिशत रकम नहुँदा पौडी पोखरीको टेण्डर रोकियो

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले बजेट नभएकै कारण पोखरामा हिटिङ स्वीमिङ पुल (पौडी पोखरी)बनाउन नसकिएको स्पष्ट पारेका छन् । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि पोखरामा पौडी पोखरी निर्माण गर्नुपर्ने खाँचो छ ।  

कोरोना भाइरस संक्रमणसँगै शुरु भएको लकडाउनले पौडी पोखरीको टेण्डर प्रक्रिया अवरुद्ध हुन पुगेको थियो । टेण्डर प्रक्रिया अवरुद्ध हुँदा पोखरीको निर्माण अघि बढ्न सकेको छैन् । हिटिङ बनाउनुपर्ने प्रतिक्रिया आएपछि पौडी पोखरीको डिजाईन समेत परिवर्तन गरिएको सदस्य सचिव सिलवालले सुनाए । ‘हिटिङ बनाउनुपर्छ भन्ने आशय आयो । त्यस अनुसार डिजाईन परिवर्तन गरियो,’ आईतबार पोखरा रंगशालामा सञ्चारकर्मीसँग बोल्दै भने, ‘डिजाईन परिवर्तन हुँदा लागत बढ्यो ।’  

हिटिङ पौडी पोखरी निर्माण गर्न ३० देखि ३५ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । ‘अनुमान गरिए अनुसार बजेट पर्याप्त छैन् । टेण्डर प्रक्रियामा घटीघटाउ गरेपछि २५ करोड रुपैयाँसम्म झथ्र्यो होला,’ उनले भने–‘टेण्डर परेपछि ठेकेदारलाई १० प्रतिशत रकम दिनुपर्छ । १० प्रतिशत नभएपछि ५ प्रतिशत रकम मोविलाईजेशनको लागि दिनुपर्छ । त्यो दिनसक्ने रकम पनि परिषदसँग छैन् ।’ पोखरी निर्माण गर्न यो वर्ष सरकारले ५० लाख रुपैयाँ मात्रै छुट्टाएको छ । टेण्डर प्रक्रियामा जादाँ ठेकेदार कम्पनीलाई काम शुरु गर्न सामान ल्याउनकै लागि दिनुपर्ने ५ प्रतिशत रकम अभावले रोकिएको उनको भनाई थियो ।  

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकै लागि पोखरामा सुटिङ रेन्ज समेत निर्माण गर्नुपर्ने आवश्यकता छ । त्यसको लागि पनि टेण्डर प्रक्रियामा लैजानुपर्ने बाध्यता छ । त्यो पनि परिषदले अगाडि बढाउन सकेको छैन् । नवौं राष्ट्रिय खेलकुद परिषदले अर्को वर्ष हुने जिकिर सदस्य सचिव सिलवालले गरे । ‘राष्ट्रिय खेलकुद प्रतियोगितालाई तीनमहिना चाहिन्छ’ उनले भने, ‘यो वर्ष कोरोनाकै कारण रोकियो । अर्को वर्ष हुन्छ ।’ उनका अनुसार राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश ३५ खेलका खेल संघ संस्थासँग छलफल हुदाँ ३० वटा संघले तयारी गर्न सकिदैन् भन्ने निर्णय गरेपछि सम्भव हुनै कुनै भएन् ।  

‘२०२० को ओलम्पिक एक वर्ष पछि सर्यो’ उनले भने, ‘ हाम्रो पनि राष्ट्रिय खेलकुद एकवर्ष सर्छ ।’ उनले आगामी मंसिरभित्रमा फागुनमा गर्ने गरी मिति तय हुने स्पष्ट पारे । ‘२०७८ को फागुनमा गर्ने गरी मंसिरमा मिति घोषणा गर्छौ,’ उनको भनाई थियो । सदस्य सचिव सिलवालले बढ्दो राजनीतिक घटना क्रमकै कारण खेलकुदको अवस्थालाई ध्यानमा राख्नुपर्ने आवश्यकता रहेको जिकिर गरे । उनले खेलकुद र खेलाडीलाई उत्साहित र प्रोत्साहित बनाउन दर्शक हुनुपर्ने भन्दै दर्शक विना खेलकुदको औचित्य नै नहुने स्पष्ट पारे ।  

प्रकाशित: २ फाल्गुन २०७७ ११:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App