७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटः सुदूरपश्चिम र प्रदेश–१ लाई सफलता

दाङमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम र प्रदेश–१ ले विजयी सुरुआत गरेका छन्। लमहीस्थित देउखुरी क्रिकेट मैदानमा मंगलबार भएका दुई प्रतिस्पर्धामा समूह ‘बी’ को सुदूरपश्चिम गण्डकी प्रदेशमाथि हाबी भयो भने प्रदेश–१ ले बाग्मती प्रदेशलाई पराजित गर्‍यो।

मंगलबार सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ५९ रनले पराजित गर्‍यो। सुदूरपश्चिमले दिएको १ सय ८ रनको लक्ष्य पछ्याएको गण्डकी निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ४८ रनमा सीमित भयो। ब्याटिङतर्फ गण्डकीका कुनै पनि खेलाडीले उच्च प्रदर्शन गर्न सकेनन्। उनीहरूमध्ये कुनै पनि खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। गण्डकीका लागि सृष्टि पौडेलले ८ रन र ज्योत्स्निका मरासिनीले ६ रन जोडे। सुदूरपश्चिमका लागि सुनीता लोहारले २ विकेट हात पारिन्। कविता कुँवर, रितु कनौजिया र लक्ष्मी साउदले समान १/१ विकेट लिए।  

त्यसअघि टस जितेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले १९.३ ओभरमा आफ्ना सबै विकेट गुमाएर १ सय ७ रन बनाएको थियो। ओपनर रेवती धामीले ३६ बलको सामना गर्दै २ चौकासहित २७ रन बनाइन्। कप्तान विन्दु रावलले १३ रन, ओपनर मन्जु बोगटीले १० रन र रुवि पोदारले ५ रन बनाएकी थिइन्। बलिङतर्फ गण्डकी प्रदेशका लागि सृष्टि पौडेल र अलिशा लामिछानेले ३/३ विकेट हात पारे। अञ्जली विश्वकर्माले १ विकेट लिन सफल भइन्।

मंगलबार नै भएको दोस्रो खेलमा प्रदेश–१ ले बाग्मतीलाई ४६ रनले पाखा लगायो। प्रदेश–१ ले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको बागमती १६.४ ओभरमा अलआउट हुँदै ६० रनमा समेटियो। बाग्मतीका लागि कञ्चन श्रेष्ठले सर्वाधिक १३ रन बनाउँदा सुमन खतिवडाले १२ रन जोडिन्। उनीहरूबाहेक बाग्मतीका अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। बलिङतर्फ प्रदेश १ का निग्मा तामाङले ३ तथा अप्सरी बेगमले २ विकेट हात पारे। सबनम राई, अलिशा खाडिया र निशा शाहले समान १/१ विकेट लिए।  

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको प्रदेश १ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६ रनको योगफल तयार पारेकोे थियो। प्रदेश–१ का लागि कप्तान रुबिना क्षेत्रीले अर्धशतक बनाइन्। ५५ बल सामना गरेकी उनले ६ चौका प्रहार गरेकी थिइन्।

अप्सरी बेगमले १६ रन बनाउँदा निग्मा तामाङले ५ रन जोडिन्। बलिङतर्फ बाग्मतीका लागि आरती बिडारीले २ विकेट लिइन्। कप्तान अस्मिना कर्माचार्य, निग्मा तामाङ र कृष्मा गुरुङले समान १/१ विकेट लिए। प्रतियोगिताअन्तर्गत बुधबार पहिलो खेलमा सुदूरपश्चिमले प्रदेश–१ को सामना गर्नेछ भने दोस्रो खेलमा बाग्मती गण्डकीसँग भिड्नेछ।

प्रकाशित: १५ पुस २०७७ ०४:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App