१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

क्लिन स्विपबाट जोगियो अस्ट्रेलिया

मिचेल मार्स

अस्ट्रेलियाले इङ्ल्यान्डसँगको अन्तिम ट्वान्टी–२० खेलमा मंगलबार ५ विकेटको जित निकाल्दा उत्कृष्ट खेल देखाएका मिचेल मार्सले पुनः अस्तर्राष्ट्रिय स्तरमा फर्किएको संकेत गरेका छन्।  

मंगलबार नै जारी भएको ट्वान्टी–२० वरीयतामा शीर्ष स्थानमा यथावत्  अस्ट्रेलियाले इङ्ल्यान्डविरुद्ध तीन ट्वान्टी–२० शृंखलाको अन्तिम खेलमा जित निकालेको हो। मार्सको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलिया क्लिन स्विप हुनबाट जोगिएको थियो। ६ महिनादेखि क्रिकेटबाहिर रहेका मार्स यसअघिका खेलमा टोलीबाहिर रहेका थिए। यससँगै घरेलु टोली इङ्ल्यान्डले शृंखला २–१ ले जितेको छ। दोस्रो खेलमा शून्यमा पवेलियन फर्किएका ओपनर डेविड वार्नर भने तेस्रो खेलमा टोलीबाट बाहिर रहेका थिए।  

शृंखलाको अन्तिम खेलमा अस्ट्रेलियाले टस जितेर घरेलु टोलीलाई ब्याटिङको निम्तो दिएको थियो। पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित २० ओभरको समाप्तिमा ६ विकेट गुमाएर १ सय ४६ रनको लक्ष्य प्रस्तुत गरेको थियो। अस्ट्रेलियाले निर्धारित २० ओभर सकिन तीन बल बाँकी रहँदा लक्ष्य भेटाएको थियो। जबाफी ब्याटिङ गरेको अस्ट्रेलियाका लागि ओपनर म्याथ्यु वेडले १४ रनको पारी खेल्दा अर्का ओपनर तथा कप्तान एरोन फिन्च ३९ रनमा अदिल रसिदको बलमा बोल्ड भए। मार्कुस स्टोनिस २६ रनमा पवेलियन फर्किंदा ग्लेन म्याक्सवेल र स्टिभ स्मिथ क्रमशः ६ र ३ रनमा रसिदको सिकार बने। घातक बलिङ गरेका रसिदको बलमा म्याक्सवेल टम कुरानबाट समातिँदा स्मिथ रसिदकै बलिङमा कट एन्ड बोल्ड भएका थिए। त्यसपछि संकटमा परेको अस्ट्रेलियाको इनिङ्सलाई मिचेल मार्स र आस्टोन अगरले सम्हालेका थिए। अन्तिमसम्म सम्हालिएको प्रदर्शन गरेका मार्स र अगर ३९ र १६ रनमा नटआउट रहे। मार्स म्यान अफ दी म्याच घोषित भए।  

‘क्रिकेटबिना छ महिना बाहिर रहे पनि टोलीमा दिइएको स्थानलाई मैले भरपूर प्रयोग गरेँ,’ म्यान अफ दी म्याच मार्सले भने, ‘क्लिन स्विप हुन लागेको शृंखलामा सान्त्वना जित निकाल्न सफल भयौं। यस जितमा योगदान गर्न पाउँदा निकै खुसी छु।’

अघिल्ला दुई खेलमा राम्रो खेले पनि जित्न नसकेको विषयलाई जोड्दै अस्ट्रेलियाका कप्तान एरोन फिन्चले अन्तिम खेलमा मार्स र अगरको साझेदारीलाई खुलेर प्रशंसा गरे। ‘अघिल्ला दुई खेलमा राम्रो क्रिकेट खेले पनि सुखद नतिजा हात लागेन,’ कप्तान एरोन फिन्चले भने, ‘अन्तिम खेलमा मिचेल र अगरले सान्त्वना जित निकाले। साख जोगिएको छ।’

चार ओभर बलिङ गरेका इङ्ल्यान्डका अदिल रसिदले सर्वाधिक ३ विकेट हात पार्न २१ रन खर्चिएका थिए। यस्तै मार्क उड र टम कुरानले समान एक÷एक विकेट लिए।  

यसअघि भ्रमणकारी टोली अस्ट्रेलियालाई १ सय ४६ रनको मध्यम लक्ष्य प्रस्तुत गर्ने क्रममा ओपनर जोनी बेयस्र्टाेले अर्धशतकीय इनिङ खेले। ४४ बलको सामना गरेका बेयस्र्टाेले ३ चौका र छक्का प्रहार गरेका थिए। अर्का ओपनर टम ब्यान्टन २ रनमा फर्किएपछि ब्याटिङमा गएका डेविड मलानले व्यक्तिगत २१ रन जोडे। मोइन अली २३ रन जोड्दा मिचेल स्टार्कको बलमा स्टिभ स्मिथबाट समातिए। जोए डेन्ली २९ रनमा नटआउट रहँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।  

घरेलु टोली इङ्ल्यान्डलाई रोक्न अस्ट्रेलियाका लेग स्पिनर एडम जाम्पाले सर्वाधिक २ विकेट लिए। मिचेल स्टार्क, जस हाज्लेउड, केन रिचर्डसन र आस्टन अगरले समान १ विकेट लिए।

पहिलो पटक इङ्ल्यान्ड टोली सम्हालेका मोइन अलीले शृंखला जित्दा प्रशंसा पाए। कप्तानको जिम्मेवारी सम्हाल्दै शृंखला सुखद बनाएका मोइनले अविस्मरणीय अनुभव बटुलेको प्रतिक्रिया दिए। ‘गर्व गर्नलायक क्षण मेरा लागि भएको छ। नयाँ अनुभव लिन सकेँ,’ कप्तान अलीले भने, ‘शृंखला जिते पनि घरेलु मैदानको भरपूर फाइदा उठाउन सकेनौं। यद्यपि अनुभव नयाँ रह्यो।’

इङ्ल्यान्ड र अस्ट्रेलियाबीच शुक्रबारबाट तीन खेलको एकदिवसीय शृृखंला हुँदै छ। 

प्रकाशित: २५ भाद्र २०७७ ०१:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App