१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

बट्लरले जिताए इङ्ल्यान्डलाई

अस्ट्रेलियाविरुद्ध जित निकालेपछि इङल्यान्डका जस बट्लर(दायाँ) र मोइन अली तस्बिर: एपी

ओपनर जस बट्लरको उत्कृष्ट इनिङको मद्दतमा आइतबार इङ्ल्यान्डले अस्ट्रेलियाविरुद्ध ६ विकेट जित निकाल्दै तीन खेलको ट्वान्टी–२० शृंखलामा २–० को अग्रता बनाएको छ।  

साउथ ह्याम्पटनको द रोज बउलमा अस्ट्रेलियाले दिएको १ सय ५८ रनको लक्ष्य घरेलु टोली इङ्ल्यान्डले ७ बल बाँकी रहँदा भेटाएको थियो। जितसँगै इङ्ल्यान्डले शृंखला आफ्नो बनाएको छ, यद्यपि एक खेल भने बाँकी नै छ। छ महिनापछि क्रिकेटमा फर्किएको अस्ट्रेलियामाथि पहिलो खेलमा इङ्ल्यान्डले रोमाञ्चक २ रनको जित हात पारेको थियो।  

ट्वान्टी–२० वरीयताको शीर्ष स्थानमा रहेको अस्ट्रेलियालाई हराएको इङ्ल्यान्ड शृंखला क्लिन स्विप गर्ने लक्ष्यतिर लम्किएको छ। टस जितेर पहिलो ब्याटिङ गरेको अस्ट्रेलियाले इङ्ल्यान्डविरुद्ध निर्धारित २० ओभरको समाप्तिमा ७ विकेट गुमाएर १ सय ५७ रन जोडेको थियो। लक्ष्य पछ्याउने क्रममा इङ्ल्यान्डलाई अन्तिम दुई ओभरमा १८ रनको खाँचो थियो। ओपनर बट्लरले उत्कृष्ट खेल्दै टोलीको जितलाई सुनिश्चित गरे। ५४ बलको सामना गरेका बट्लरले ८ चौका र २ छक्काको मद्दतमा ७७ रन जोड्दा नटआउट रहे। १९ रन जोड्दा पहिलो विकेट गुमाएको इङ्ल्यान्डका लागि दविड मलानले ४२ रन जोडे। ३२ बल खेलेका मलानले ७ चौका प्रहार गरेका थिए। यस्तै मोइन अली १३ रनमा अविजित रहँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। यद्यपि बट्लरको उत्कृष्ट इनिङले इङ्ल्यान्डको जित सम्भव भएको हो।

ट्वान्टी–२० वरीयताको शीर्ष स्थानमा रहेको अस्ट्रेलियालाई हराएको इङ्ल्यान्ड शृंखला क्लिन स्विप गर्ने लक्ष्यतिर लम्किएको छ।

  बलिङतर्फ अस्ट्रेलियाका अस्टोन अगरले सर्वाधिक २ विकेट हात पार्दा मिचेल स्टार्क र अदाम जाम्पाले एक÷एक विकेट आफ्नो नाममा लेखाए। दोस्रो खेलमा पनि जित निकालेको इङ्ल्यान्डका कप्तान इयोन मोर्गानले दबाब झेल्दै जित निकाल्न सफल भएको प्रतिक्रिया दिए।  

‘आजको खेलमा केही त्रुटि रहे। तर पनि रोमाञ्चक जित निकाल्दा खुसी लागेको छ। इनिङ सम्हाल्दै बट्लरले परिपक्व खेल देखाए,’ कप्तान मोर्गानले भने, ‘बलिङ राम्रो भएजस्तो ब्याटिङमा राम्रो गर्न सकेनौं। जित निकाले पनि ब्याटिङ पक्ष भने आजको खेलमा केही निराशापूर्ण देखियो।’

अस्ट्रेलियाका कप्तान एरोन फिन्चले पनि बट्लरको प्रदर्शनलाई प्रशंसाका शब्द खर्चिए। ‘कुनै पनि ओपनरलाई विपक्षीले आउट गर्न सक्दैन अनि मात्र त्यो खेलाडीको स्तर झल्किन्छ। त्यस्ता खेलाडीलाई रोक्नु निकै चुनौतीपूर्ण हुन्छ,’ अस्ट्रेलियाका कप्तान फिन्चले बट्लरको प्रशंसा गर्दै भने।  

यसअघि पहिला ब्याटिङ गरेको भ्रमणकारी टोली अस्ट्रेलियाका लागि एरोन फिन्चले सर्वाधिक ४० रन जोडेका थिए। ओपनर डेभिड वार्नर पहिलो बलमा पवेलियन फर्किंदा  इङ्ल्यान्डले भ्रमणकारी टोलीमाथि दबाब दिएको थियो। खेलमा मार्कुस स्टुनिसले ३५ रन जोड्दा ग्लेन म्याक्सवेल २६ रन बटुल्ने क्रममा क्रिस जोर्डनको बलमा बट्लरबाट समातिए। अस्टोन अगर २३ तथा स्टिभ स्मिथ १० रनमा रन आउट भए। प्याट कमिन्स र मिचेल स्टार्क क्रमश १३ र २ रनमा नटआउट रहेका थिए।  

बलिङतर्फ इङ्ल्यान्डका क्रिस जोर्डनले २ विकेट हात पार्दा जोफ्रा आर्चर, मार्क उड र अदिल रसिदको नाममा एक÷एक विकेट रह्यो। तीन खेलको शृखंलाको अन्तिम खेल मंगलबार हुनेछ।  

अन्तिम खेलमा बट्लर बाहिर

भ्रमणकारी टोली अस्ट्रेलियाविरुद्धको दोस्रो खेलमा उत्कृष्ट इनिङ खेलेका इङ्ल्यान्डका ब्याट्सम्यान जस बट्लरले तेस्रो तथा अन्तिम ट्वान्टी–२० गुमाउने भएका छन्। मंगलबार हुने उक्त खेलमा बट्लरले पारिवारिक कारण देखाउँदै उपस्थित नहुने जनाएका हुन्।  

दोस्रो ट्वान्टी–२० खेलमा व्यक्तिगत ७७ रनको पारी खेलेका बट्लरले पहिलो खेलमा ४४ रनको योगदान गरेका थिए। बट्लर एकदिवसीय शृंखलामा भने उपस्थित हुनेछन्। अस्ट्रेलियासँगको एकदिवसीय शृंखला सेप्टेम्बर ११ बाट सुरु हुनेछ।

प्रकाशित: २३ भाद्र २०७७ ०६:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App