६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

जोकोभिच अन्तिम १६ मा

विश्व नम्बर एक नोभाक जोकोभिचले सहज जितका साथ शुक्रबार युएस ओपनको अन्तिम १६ को यात्रा तय गर्दा नाओमी ओसाकाले भने निकै संघर्ष गरिन्। सर्बियन स्टार जोकोभिचले जर्मनका जान लेनार्ड स्ट्रफलाई ६–३, ६–३ र ६–१ ले हराउँदै करियरको १८औं ग्रान्ड स्लाम लक्ष्य जारी राखेका हुन्। विश्व नम्बर चार जापानिज स्टार ओसाकाले भने १८ वर्षे युक्रेनियन मार्ता कस्ट्युकसँग निकै संघषपूर्ण जित निकाल्दै अन्तिम १६ को यात्रा तय गरिन्। कोरोना भाइरस संक्रमणका कारण निर्धारित समयभन्दा ढिलो भएको खेलमा जोकोभिचले सहजै सफलता प्राप्त गरे।  

न्युयोर्कको स्वास्थ्य अधिकारीले फ्रान्सका एड्रिन माननारिनोलाई अन्तिम ३२ को खेल खेल्न रोक्ने प्रयास गरेपछि प्रतियोगिता निर्धारित समयभन्दा केही मिनेट ढिला हुन पुगेको थियो। एड्रिनले जर्मनका विश्व नम्बर पाँच एलेक्जान्डर भेरेभसँग ७–६ (७–४), ६–४, ६–२ र ६–२ ले हार बेहोरेका थिए। राज्य सरकार र प्रतियोगिता आयोजकबीच एड्रिनलाई खेल्न दिने या नदिनेबीच छलफल भए पनि अन्ततः उनले तीन घण्टापछि खेले र पहिलो सेट आफ्नो बनाए पनि भेरेभले पुनरागमन गर्दै जित निकाले।  

यसै हप्ता फ्रान्सकै बेन्वा पेयरलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रतियोगिता सुरु हुनभन्दा एक दिनअगाडि आयोजकले उनको नाम हटाएको थियो। त्यससँगै एउटै होटलमा बसेका फ्रान्सका खेलाडीलाई पनि प्रतिस्पर्धाबाट हटाउने स्थानीय सरकारको प्रयास थियो। ‘त्यो मेरा लागि निकै अनौठो थियो,’ माननारिनोले भने, ‘म केबल सोफामा बसिरहेको थिएँ। म आफ्नो ध्यान कोर्टमा मात्र केन्द्रित गरौं भन्ने प्रयासमा थिएँ।’ भेरेभले अन्तिम १६ मा स्पेनका गैरवरीयता खेलाडी एलेजान्ड्रो डेभिडोभिच फोकिन र जोकोभिचले पनि स्पेनकै पाब्लो बुस्टाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछन्।

ओसाका संघर्ष  

दुई ग्रान्ड स्लाम च्याम्पियन ओसाकाले आर्थर एस स्टेडियममा दुई घण्टा ३३ मिनेटको संघर्षबाट १८ वर्षीया कस्ट्युकविरुद्ध जित निकालिन्। पहिलो सेट आफ्नो बनाए पनि दोस्रो सेट गुमाएसँगै ओसाकाले ¥याकेट कोर्टमा फ्याँकेकी थिइन्। ओसाकाले विश्वको १ सय ३७औं वरीयताकी कस्ट्युकलाई ६–३, ६–७ (४–७) र ६–२ ले हराइन्। ‘मैले राम्रो अंक बटुल्छु भन्ने लागेको थियो, तर सदुपयोग गर्न सकिनँ। जब अगाडि बढ्ने समय आयो, त्यसपछि केही प्यासिभ भएँ। त्यसैले उनी मैले सोचेको भन्दा कठिन हुन पुगिन्।’  

तर निर्णायक सेटमा समालिँदै ओसाकाले जित निकालेपछि अन्तिम १६ मा १४औं वरीयताकी एनेट कोन्टाभेइटसँगको भेट पक्का गरिन्। छैटौं वरीयताकी पेत्रा केभितोभाले अमेरिकाकी जेसिका पेगुलालाई ६–४ र ६–३ ले हराउँदै अन्तिम १६ मा घरेलु टोलीकै सेल्बी रोजर्ससँगको भेट पक्का गरिन्। सेल्बीले भने म्याडिसन ब्रेगललाई ६–२ र ६–४ ले स्तब्ध बनाएकी थिइन्। त्यस्तै काजाखस्तानकी युलिया पुटिनसेभा र पेत्रा मार्टिजले पनि अन्तिम १६ मा स्थान बनाएका छन्। युलियाले बेलारुसकी एसियासान्ड्रे ३–६, ६–२ र ६–१ तथा मार्टिजले रसियाकी भारभारा ग्राचेभालाई ६–३ र ६–३ ले हराए। 

प्रकाशित: २१ भाद्र २०७७ ०२:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App