१४ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

लिड्समा रोड्रिगो

इङ्लिस प्रिमियर लिग क्लब लिड्सले स्पेनका अन्तर्राष्ट्रिय खेलाडी रोड्रिगोलाई क्लब कीर्तिमानी मूल्यमा त्भित्र्याएकाे  छ।भ्यालेन्सियाका फरवार्ड रोड्रिगोसँग क्लब कीर्तिमानी मूल्यमा सम्झौता गरेको लिड्सले शनिबार जनाएको हो। इल्यान्ड रोड क्लब लिड्सले उनीसँग चार वर्षे सम्झौता गरेको छ। एक रिपोर्टका अनुसार उनी ३० मिलियन युरोमा प्रिमियर लिग क्लबमा आबद्ध भएका हुन्। २९ वर्षे रोड्रिगोले आफू क्लबमा आबद्ध हुन र मार्सेलो बिइल्सासँग काम गर्न आतुर रहेको बताएका छन्। मार्सेलोलाई उनले फुटबलका उत्कृष्ट प्रशिक्षकमध्ये एक भएको प्रतिक्रिया दिए। ‘यो मेरो करियरको अर्को नयाँ कदम हो र यस सिजन क्लबलाई आफ्नो लक्ष्यमा पु¥याउन मद्दत गर्नेछु,’ उनले क्लबको ट्विटरमा उल्लेख गरेका छन्।

लिड्सले रोड्रिगोलाई क्लबमा ल्याउन भ्यालेन्सियसँग गत दुई हप्तादेखि सहकार्य गरेको थियो। ‘लिड्सले यो सहकार्यका लागि दुई हप्तादेखि भ्यालेन्सियासँग काम गरेको थियो। भ्यालेन्सिया निकै समस्यामा रह्यो र च्याम्पियन्स लिगको यात्रा पनि तय गर्न सकेन। लिड्सको प्रस्तावपछि सबैभन्दा पहिला भिक्टोर (भिक्टोर ओर्टा क्लबका डाइरेक्टर) मसँग कुरा गर्न आउनुभयो र मैले पनि त्यो चुनौती सहजै स्वीकार गरें,’ रोड्रिगोले भने। युवा अवस्थामा रोड्रिगोले सेल्टा भिगो र रियाल मड्रिडमा विंगर या स्ट्राइकरको जिम्मेवारी निर्वाह गर्दै आइरहेका थिए। बेनफिकाबाट उनी सुरुआतमा सन् २०१४ मा लोनमा भ्यालेन्सिया पुगेका थिए।

पछि उनी भ्यालेन्सियामा पूर्णकाल आबद्ध भए र क्लबबाट २ सय २० खेलमा ५९ गोल गरे। व्यावसायिक खेल करियरको सुरुआतमा पनि सन् २०१०–११ मा बोल्टनमा लोनबाट खेलेका थिए। ब्राजिलमा जन्मिएका रोड्रिगोले स्पेनमा अन्तर्राष्ट्रिय करियर बनाउन सफल भए र राष्ट्रिय टोलीबाट २२ खेलमा आठ गोलसमेत गरेका छन्। गत सेप्टेम्बरमा भ्यालेन्सियाले च्याम्पियन्स लिगमा चेल्सीमाथि १–० को जित निकाल्दा रोड्रिगोले निर्णायक गोल गरेका थिए। भ्यालेन्सियाले गत मंगलबार भने लिड्ससँग सुरुआती चरणको छलफल भएको र सरुवाका लागि काम पूरा हुन बाँकी रहेको उल्लेख गरेको थियो। गत सिजन च्याम्पियनसिपमा शीर्ष स्थानमा रहँदै लिड्स शीर्ष इङ््लिस फुटबल लिगमा सन् २००४ पछि फर्किन सफल भएको थियो।

प्रकाशित: १४ भाद्र २०७७ ०३:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App