१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

नमुना संसदीय अभ्यास: सांसदको आरोप 'सरकार भ्रष्ट भयो'

'तराई मधेसको जिल्लामा खानेपानीको हाहाकार छ। खेतमा सिँचाइको सुविधा नभएर अषाढको दोश्रो सातासम्म धान रोपाइँ हुन सकिरहेको छैन। त्यतातिर सरकारको ध्यान पुग्न सकिरहेको छैन। सरकार कमिसनमा रुमल्लिएको छ। सरकारले के हेरेर बसेको छ रु जनताको समस्या समाधान गर्न चासो छैन, आम नागरिक प्यासले तड्पिरहेका छन्। तर सरकारलाई योजना किनबेच देखि फुर्सद छैन' सम्माननीय सभामुख मार्फत म सरकारलाई सोध्न चाहन्छु, भाषण र नाराले मात्रै प्रदेश चल्छ र ? सदनमा मुख्यमन्त्री ज्यूले आएर जवाफ दिनुपर्‍यो।'

प्रतिपक्षी दलका तर्फबाट नमुना युवाका संसदीय दलका नेता सांसद राजन दासले शून्य समयमा बोल्दै आकाशे पानीको भरमा कृषि देश र प्रदेशका जनता पानी नपरेका कारण त्राहिमाम भएको बताए। उनले भने, 'पानी नभएको कारण खेतमा ब्याड सुक्दै छ। गाउँ गाउँमा पानीको हाहाकार छ। खानेपानीको मुहान सुकिसकेको छ, संघीय सरकारले त चूरे संरक्षणमा ध्यान दिएन दिएन, प्रदेश सरकार पनि वृक्षारोपण र चूरे संरक्षणमा गम्भीर भएन। त्यसैले आजको यो अवस्था आयो।'

प्रतिपक्षतर्फबाट थप्दै नमुना युवा सांसद पंकज महराले सोधे, 'चूरे दोहन निरन्तर भइरहेको छ। स्थानीय तहको बदमासीले जथाभाबी खोलानाला खनिएको छ। जसले वर्षेनी बाढीले दक्षिण भेगमा उब्जनीका खेत बगाएर लगेको छ। तटबन्धने जरुरी छ तर सरकारले कानमा तेल हालेर सुतेको छ। यसमा सरकारको धारणा के छ ? प्रतिपक्षी दलकै तर्फबाट नमुना युवा सांसद खुश्वु झाले, 'हत्या, हिंसा, बलात्कार, अपहरण, लुटपाटका घटना बढिरहेका छन, सरकारले के हेरेर बसिरहेको छ ?'

मधेस प्रदेशसभा सचिवालयको आयोजना र हेल्पिङ्ग ह्याण्डस् नेपाल, गौशाला महोत्तरीको समन्वयन/सहकार्यमा शुक्रवार नमुना संसदको अभ्यास गर्दै युवा सांसदले शून्य समयमा सरकारका काम कारबाहीबारे छलफल गरे।

प्रतिपक्षीले सरकारको विरोध गरे। सत्तापक्षले सरकारको समर्थन गरे । सत्तापक्षकै कतिपय नमुना सांसदले छुवाछूत, छाउ प्रथा, बोक्सी प्रथालगायतले प्रश्रय पाइरहेको भन्दै सरकारको आलोचना गरेका थिए ।

साइबर क्राइम, विकृति विसङ्गति, चोरी डकैती, लुटपाट जस्ता घटनामा समेत नियन्त्रण हुन नसकेको विषय सत्तापक्षकै कतिपय नमुना सांसदले उठाएका थिए । सरकारले युवा तथा किसान लक्षित कार्यक्रम ल्याउन नसकेको गुनासो सदनमा उठेको थियो ।

शून्य समय, विशेष समय, मन्त्रीसँग प्रश्नोत्तर, प्रधानमन्त्रीसँग प्रश्नोत्तरमा मन्त्रीले जवाफ दिए । नमुना युवा मुख्यमन्त्री सोनु कुमार साहले चूरे दोहन र पानीको समस्यामा सरकार गम्भीर रहेको सुनाए। मुख्यमन्त्री साहले भने, 'चूरे हाम्रो मुटु हो तर संघीय सरकारले हाम्रो मुटुमाथि सडक बनाउने देखि विद्युतीकरण सम्मको कार्य गरिरहेको छ। जसका कारण मधेस मरुभुमीकरणमा परिणत भइरहेको छ। त्यसैले चूरेको विषयमा हामीले सबै दलको नेता प्रधानमन्त्री समक्ष डेलिगेसन जाऔँ।'

माननीय ज्यूले हत्या हिंसाको कुरा गर्नुभयो १ प्रहरी प्रशासन हाम्रो मातहतमा नभएका कारण हामीले हत्या हिंसा नियन्त्रणमा सफलता हासिल गर्न नसकेको यहाँहरूमा अवगत नै छ। वर्षातको मौसम छ। प्राकृतिक विपत्तिमा तत्काल सरकारले उद्दार गरेको, त्यसपछि उपचार र राहत सेवा दिएको भन्दै सरकारका तर्फबाट कुनै किसिमका कसर बाँकी नराख्ने बताए। प्रदेश संसदको झ–झल्को दिने गरी व्यवस्थापिका संसद, यसको प्रक्रिया साथै नीतिगत व्यवस्थाबारे गरिएको नमुना अभ्यास गरिरहँदा संसदै चलेको भान हुन्थ्यो। सहभागी नमुना मुख्यमन्त्री, सभामुख–उपसभामुख र मन्त्री बाहेक अन्य नमुना सांसद सवै सक्रिय रुपमा सहभागी भए।

मधेस प्रदेशका ८ वटै जिल्लाबाट ४० जना युवाले सहभागिता जनाएको कार्यक्रम दोश्रो र तेस्रो दिन शुक्रवार नीति तथा कार्यक्रम पास गर्दै संसद बैठक टुङ्गिएको मुख्य प्रशिक्षक कमलेश कुमार ठाकुरले जानकारी दिए। उनका अनुसार संसदमा सरकार, संसद र प्रतिपक्षीले खेल्नुपर्ने भूमिकाबारे अभ्यास गरिएको थियो। उनका अनुसार चुनावी प्रक्रियाबाटै मुख्यमन्त्री, सभामुख, गृहमन्त्री र अन्य मन्त्री चयन गरिएको थियो।

सभामुख र उपसभामुखमा क्रमशः सुनिल यादव,खुसी झा चुनिएका थिए। मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले अर्थमन्त्रीमा सुजाता मण्डल, भौतिक पूर्वाधार मन्त्रीमा अमन साह, युवा खेलकुद तथा शिक्षा तथा समाज कल्याण मन्त्रालय र विभा विभागीय मन्त्रीमा शिव कर्णलाई शपथ ग्रहण गराइएको थियो।

बुधवार देखि सुरु भएको नमुना संसदको अभ्यास सुरुका दुई दिन सैद्धान्तिक प्रशिक्षण दिइएको थियो। बिहीबार र शुक्रवार नीति तथा कार्यक्रमको अभ्यास गर्दै बैठकको अभ्यास गरिएको थियो । संसदमा विधेयक निर्माण, दर्ता, पारित गर्ने प्रक्रियाको अभ्यास गरिएको थियो । युवा संसद र सरकारको अभ्यास गर्दै युवाका समस्या, मुद्दा र सम्भावनाका विषयलाई सुझावको आधारमा प्रदेशसभामा पेश गरिनेछ।

प्रकाशित: १४ असार २०८१ १५:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App