१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

यसवर्षको राष्ट्रिय धान दिवस कार्यक्रम चितवनमा हुने, प्रधानमन्त्रीले मेसिनबाट धान रोप्ने

सरकारले यसवर्षको राष्ट्रिय धान दिवस चितवनमा मनाउने भएको छ । ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ शनिबार २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ मनाउन लागिएको हो ।  

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ चितवनले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा राष्ट्रिय धान दिवस मनाउन लागेको जनाकारी दिइएको हो ।  

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको नेतृत्वमा चितवनको रत्ननगर नगरपालिका ६, बछौलीमा रहेको बछुली बहुउद्देश्य कृषक समुहको खेतमा मेसिनको प्रयोग गरि धान रोपेर धान दिवस मनाउन तयारी छ ।

सो अवसरमा प्रधानमन्त्री दाहालले मेसिनबाट धान रोप्ने कार्यक्रमसमेत रहेको परियोजनाका वरिष्ठ कृषि अधिकृत महेश रेग्मीले जानकारी दिए । सो कार्यक्रममा एक हेक्टर क्षेत्रफलमा मेसिनबाट धान रोप्ने लक्ष्य राखिएको छ ।  

कृषि विभागका महानिर्देशक तथा मूल आयोजना समितिका संयोजक डा.नरहरिप्रसाद घिमिरेले चितवन धान खेतीको जोन क्षेत्र भएकाले यसपटक चितवनमा धान दिवसको आयोजना गरिएको बताए ।  

उनले जलवायू परिर्वतन अनुकुल कृषि प्रविधिलाई कृषकसम्म प्रचार प्रसार गर्न चितवनमा धान रोपाइँको आयोजना गर्न लागिएको बताए । जलवायू परिवर्तनका कारण धान खेतीमा असर पुग्दै गएको छ । जलवायूमैत्री तथा जलवायू परिवर्तनसँग जुध्न सक्ने प्रविधिहरुको विकासका लागि नेपालमा सुख्खा र डुबान सहने ६ वटा  धानका जात विकास गरिएको उनले बताए ।  

चितवन धान खेतीको लागि अग्रणी जिल्ला हो । सरकारले चितवनलाई आर्थिक वर्ष २०७६÷०७७ देखि धान जोनको स्थापना गरेको थियो । त्यसपछि यहाँ धानको उत्पादकत्व समेत बृद्धि हुँदे गएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वन एकाइ चितवनका प्रमुख रेग्मीले जानकारी दिए ।

‘हामीले जोन कार्यक्रम लागु गर्ने समयमा प्रतिहेक्टर ४ दशमलव २२ मेट्रिकटन धान उत्पादन हुँदै आएको थियो । अहिले कार्यालयको सर्वेक्षण गर्दा चैते धान प्रतिहेक्टर ६ दशमलव ४ मेट्रिक टन उत्पादन भएको छ,’ उनले भने ।  

बढ्दो सिँचित क्षेत्रफल, आधुनिक प्रविधिहरुको उपयोग, उन्नत जातहरुको प्रयोग एवं रोग किराको प्रकोपमा कमी आएका कारण धान उत्पादनमा बृद्धि भएको उनले बताए । चितवनमा २२ हजार ८ सय ७० हेक्टर क्षेत्रफलमा बर्खे धान रोपाइँ हुँदै आएको छ । 

प्रकाशित: १४ असार २०८१ १५:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App