१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

प्रदेश पुरस्कार ६ महिनासम्म अन्योल

१३औं साग

प्रदेश १ सरकारले १३औं दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेता खेलाडीलाई दिइने पुरस्कार रकम अन्योलमा परेको छ । ६ महिनाअघि सम्पन्न भएको साग प्रतियोगितामा प्रदेश १ का खेलाडीले पदक जिते पुरस्कारस्वरूप रकम प्रदान गर्ने प्रदेश सरकारले घोषणा गरेको थियो । प्रतियोगिता सम्पन्न भएको लामो समय भइसक्दा पनि प्रदेश सरकारले दिइने भनेको पुरस्कार रकम नदिएको भन्दै नेकपाकी प्रदेशसभा सदस्य कुुसुमकुमारी श्रेष्ठले प्रदेशसभामा विषय उठाएकी थिइन् ।  

२०७६ मंसिर १५ देखि २४ गतेसम्म आयोजित सागका विजेता खेलाडीले आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दासमेत प्रदेश सरकारबाट घोषणा गरिएको पुरस्कार पाउन नसक्नु आफंैमा लज्जास्पद भएको उनले बताएकी थिइन् । खेलेर जीवनयापन गराउने वातावरण बनाउन आग्रह गर्दै श्रेष्ठले भनेकी थिइन््, ‘घोषित पुरस्कार नपाएका खेलाडीको गुनासो सही हो भने प्रदेश सरकारले आर्थिक वर्ष सकिनुअगावै छिटोभन्दा छिटो घोषित पुरस्कार रकम उपलब्ध गराउनुपर्छ ।’ प्रदेशसभामा उठेका विषयमा जबाफ दिँदै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले साग खेलकुदमा पदक विजेता प्रदेश १ का खेलाडीलाई केही दिनभित्रै पुरस्कार प्रदान गर्ने बताए । ‘कोभिड १९ का कारण पदकधारी खेलाडीलाई बोलाएर सम्मान गर्न नसकिएको हो, केही दिन पर्खन आग्रह गर्दछु,’ मुख्यमन्त्री राईले भने, ‘केही दिन हेरौं, यहाँ बोलाएर पुरस्कृत गर्न नसकिए सम्बन्धितको खातामा रकम जम्मा गर्नेछौं वा अर्को आर्थिक वर्षमा सम्मान गर्छाैं ।’  

पदक विजेता खेलाडीलाई पुरस्कार दिने विषयमा सामाजिक विकास मन्त्रालय अन्योलमा रहेको बताइएको छ । ‘मुख्यमन्त्रीबाट खेलाडीलाई नगद पुरस्कार दिइने कुरा आएको हो,’ मन्त्रालयका एक अधिकृतले भने, ‘तर, मन्त्रालयमा नामअनुसारको बजेट नै छैन । कसरी पुरस्कार रकम दिने भन्ने विषय नै अन्योल छ ।’ प्रदेश क्याबिनेटले खेलाडीलाई पुरस्कार दिइने मात्रै निर्णय गरेको छ । कहाँबाट कसरी पुरस्कार रकम दिने भन्न स्पष्ट छैन । ‘एउटा खेलाडीले दुईवटा इभेन्टमा पदक जिते वा समूहमा जिते कसरी पुरस्कार दिने भन्ने विषय पनि स्पष्ट छैन,’ उनले भने ।  

खेलाडीलाई पुरस्कार दिनका लागि करिब ८० लाख हाराहारीको बजेट चाहिन्छ । तर, यो बजेट कहाँबाट कसरी ल्याउने भन्ने विषयमा ठोस निर्णय आउन बाँकी रहेको ती अधिकृतले बताए । ‘पहिले एक पटक टिप्पणी उठाएर मन्त्रालयका सचिवज्यूको टेबलसम्म पुगेको थियो,’ उनले भने, ‘त्यसपछि सचिवज्यूको सरुवा हुनु र कोभिड १९ आउनाले प्रक्रिया अघि बढ्न रोकिएको हो ।’  

‘हामीले पैसाको लोभमा खेलेका होइनौं,’ साग पदकधारी एक खेलाडीले भने, ‘राष्ट्र र राष्ट्रियताका लागि खेल्दै पदक जित्यौं । सरकारले खेलाडीको मनोबल उच्च राख्न जुन प्रयास ग¥यो, त्यो सराहनीय छ । तर, खेलाडीलाई दिइने भनिएको पुरस्कार नपाउँदा चाहिँ खल्लो हुँदो रहेछ ।’ उनले भने, ‘प्रदेश सरकारले हामी खेलाडीलाई कहिले सम्मान गर्ने वा पुरस्कार उपलब्ध गराउने थाहा छैन ।’  

‘मैले प्रदेश सरकारबाट नगद पुरस्कारसहित सम्मानको कुरा सामाचारबाट थाहा पाएको हुँ,’ जुडो खेलमा स्वर्ण पदक विजेता झापाकी देविका खड्काले भनिन्, ‘हामीलाई संघीय सरकारले सम्मान ग-यो । तर, प्रदेश सरकारको कुनै पनि निकायले अहिलेसम्म हामीसँग सम्पर्क गरेको छैन ।’  

प्रदेश १ बाट सागमा ८८ खेलाडीले १० स्वर्ण, १० रजत र २९ कांस्य गरी ४९ पदक दिलाएका थिए। यसमा १८ प्रशिक्षक र ५ टोली व्यवस्थापक छन्। मंसिर २५ भएको प्रदेशको मन्त्रिपरिषद् बैठकले  बिजेता खेलाडिलाई क्रमश पुरस्कृत दिइने निर्णय गरेको थियो।

प्रकाशित: ७ असार २०७७ ०७:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App