१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

ट्वान्टी २० क्रिकेट विश्वकप २०२३, अमेरिकाले आयोजना दाबी गर्ने

संयुक्त राज्य अमेरिकाले सन् १९९४ मा विश्वकप फुटबलको सफल आयोजना गरिसकेकाले अमेरिकी क्रिकेट संघले ट्वान्टी २० क्रिकेट विश्वकपका लागि पनि आयोजना दाबी गर्ने बताएको छ।

सन् २०२३ को ट्वान्टी २० क्रिकेट विश्वकपका लागि वेस्ट इन्डिजसँगै अब अमेरिकाले समेत दाबी गर्ने भएको हो। सन् १९९४ को विश्वकप फुटबलमा अमेरिकामा कुल ३।५ मिलियन समर्थकले खेल अवलोकन गरेका थिए, जुुन विश्वकप फुटबलको कुनै पनि संस्करणमा उपस्थित भएका सबैभन्दा धेरै दर्शक हुन्।

‘अमेरिकामा खेल भएमा सबै रंगशाला सबै खेलमा भरिभराउ हुनेमा कुनै दुबिधा छैन,’ युएसए क्रिकेटका प्रमुख निर्देशक इयान हिगिङ्सले भने, ‘यहाँ यसअघि पनि धेरै खेलकुदका महाकुम्भ आयोजना भइसकेका छन् र ती सबै सफल भएका थिए। त्यसैले हामीले आफ्नो दाबी प्रस्तुत गर्ने लक्ष्य लिएका हाैं।’

अमेरिकाले सन् २०१९ मा एकदिवसीय क्रिकेट राष्ट्रको मान्यता पाएको थियो र डिसेम्बरमा स्कटलान्डलाई स्तब्ध बनाएको थियो। हिगिङ्सले अबको एक दशकमा अमेरिकी क्रिकेटले टेस्ट राष्ट्रको हैसियत पाउने लक्ष्य लिएको समेत बताए।

‘हामी अबको केही वर्षमै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आइसिसी० को पूर्ण सदस्य राष्ट्र लक्ष्यमा छाैं,’ उनले भने, ‘टोलीले पनि अहिले सोही लक्ष्यअनुसारको प्रदर्शन गरिरहेको छ। अफगानिस्तान र आयरल्यान्डले पनि धेरै मिहिनेतपछि टेस्ट राष्ट्रको मान्यता पाएका थिए। आशा छ, हामीले पनि निरन्तर राम्रो प्रदर्शन गरिरहेकाले कम्तीमा अबको १० वर्षभित्रमा टेस्ट राष्ट्रको मान्यता प्राप्त गर्नेछाैं।’

फ्लोरिडाको सेन्ट्रल ब्रोवार्ड रिजनल पार्कमा अहिलेसम्म ६ एकदिवसीय  र १० ट्वान्टी २० खेलको आयोजना भइसकेको छ। सोही मैदानमा अगस्टमा दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीच दुई ट्वान्टी २० शृंखला आयोजना हुनेछ। हिगिङ्सले आफूहरू शीर्ष टोलीलाई कडा चुनौती दिन सक्षम भएको बताए।

‘हामी आइसिसीले अमेरिकालाई ट्वान्टी २० क्रिकेट विश्वकप आयोजनाका लागि योग्न सम्झियोस् भन्ने चाहन्छाैं,’ उनले भने, ‘मलाई आशा छ, यहाँका खेलमैदान स्तरीय छन् र आइसिसीका ठूला प्रतियोगिता आयोजना गर्र्न लायक छन्।’ यसका साथै अमेरिकी क्रिकेटले त्यहाँ ट्वान्टी २० फ्रेन्चाइज लिगको समेत तयारी गरिरहेको छ।

‘आइसिसीको इभेन्ट आयोजना गर्न कम्तीमा सबै मापदण्ड पुगेका ६ मैदान हुनुपर्ने बताइएको छ। जुन हामीसँग पनि उपलब्ध छन्,’ उनले थपे, ‘अहिले यहाँ फुटबल, बेसबल र बास्केटबलमा मात्र नभई क्रिकेटमा पनि समर्थकको ध्यान आकर्षित भएको छ। हामी न्युट्रल भेन्युको रूपमा भारत पाकिस्तान ट्वान्टी २० खेलसमेत आयोजना गर्न इच्छुक छाैं।

प्रकाशित: २८ जेष्ठ २०७७ ०५:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App