७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
खेल

मायामी ओपन नहुने

मायामी – क्यालिफोर्नियामा तय भएको एटिपी/डब्लुटिए इन्डियन वेल्सका प्रतियोगिता स्थगित भएसँगै मायामी ओपनको आयोजकले आफ्नो पूर्वनिर्धारित कार्यक्रम सञ्चालन नहुने जनाएको छ।

कोरोना भाइरस संक्रमणका कारण गत सोमबार इन्डियन वेल्स टेनिसका आयोजकले अन्तिम समयमा प्रतियोगिता स्थगित गरे पनि मायामी ओपन भने सञ्चालन हुने आयोजकले जनाएको थियो। तर, शनिबार आयोजकले विज्ञप्ति जारी गर्दै तत्कालको स्थितिमा प्रतियोगिता गर्न नसकिने जनाउँदै खेल स्थगित गरिएको उल्लेख गरेको छ। मायामी ओपनका आयोजकले सामाजिक सन्जाल ट्विटरमार्फत आगामी मार्च २३ देखि अप्रिल ५ सम्म हुने पूर्वनिर्धारित कार्यक्रम स्थगित गरिएको बताएका हुन्। ‘अझै पनि सुरक्षा पहिलो प्राथमिकता हो। कोभिड–१९ का कारण हुने स्वास्थ्य असुरक्षा र देशहरूले भ्रमण लगाएको प्रतिबन्धको स्थितिमा निर्धारित समय प्रतियोगिता हुनेछैन,’डब्लुटिएका अध्यक्ष र सिइओ स्टिभ सिमोनले बताएका छन्।   

अमेरिकामा नै कोरोना संक्रमण देखिन सुरु हुँदासमेत आयोजकले तत्कालको स्थितिमा खासै समस्या छैन भन्दै निर्धारित समय खेल सञ्चालन हुने गरी तयारी अगाडि बढिरहेको जनाएको थियो। ‘प्रतियोगितामा आउने हाम्रा खेलाडी, समर्थक र खेल पदाधिकारीभन्दा ठूलो खेल होइन। उनीहरू स्वास्थ हाम्रो पहिलो प्राथामिकता हो। तथापि पनि यस प्रतियोगिता स्थगित भएको जानकारी दिँदा हामी दुःखी छौं। छिट्टै नयाँ खेल तालिका सार्वजनिक हुनेछन्,’ डब्लुटिएले जनाएको छ। यता, आइटिएफले वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै आफ्ना सबै प्रतियोगिता स्थगित भएको जनाएको छ।

यद्यपि, आइटिएफले प्रत्येक हप्ताको अवस्थापछि राम्रो निर्णय आउन सक्ने पनि आशा देखाएको छ। यसअघि उत्तरी अमेरिकामा हुने प्रतिष्ठित प्रतियोगिता इन्डियन वेल्स कोरोना भाइरसका कारण स्थगित भइसकेको छ। आयोजकले त्यस क्षेत्रमा कोभिड–१९ बाट उच्च जोखिम रहेको निर्णयसँगै प्रतियोगिता स्थगन गरेको थियो। यद्यपि, गत हप्ता भने इन्डियन वेल्सका आयोजकले आफ्नो प्रतियोगिता पूर्वनिर्धारित समयमा नै हुने जनाएको थियो। तर फ्लोरिडाका स्वास्थ्य अधिकारीले गत शुक्रबार कोभिड–१९ कारण दुई व्यक्तिको निधन भएको जनाएपश्चात् इन्डियन वेल्सले प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको थियो। एटिपी टुरका अध्यक्ष आन्द्रे गन्डेन्जीले छुट्टै विज्ञप्ति जारी गर्दै स्वास्थ्यसँग जोडिएको विषय रहेकाले हरेक प्रतियोगितामा आफ्नो निगरानीमै रहेको बताएका थिए।

उनले भने, ‘आयोजकले स्थानीय स्वास्थ्य अधिकारीको सल्लाहअनुरूप काम गर्नुपर्छ। हामीले पनि प्रतियोगिताको तयारीबारेमा अध्ययन गरिरहेका छौं। त्यसैले खेलाडीको स्वास्थ्यबारे ध्यान दिइरहेका छौं।’ त्यहीअनुरूप नै पछिल्लासमय कोरोनाको कारण स्थितिमा जटिल बन्दै गएपछि एटिपीले पनि सबै खेल स्थगित गरेको हो।

प्रकाशित: २ चैत्र २०७६ ०१:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App