८ वैशाख २०८१ शनिबार
खेल

सिरी ‘ए’ रोक्न प्रधानमन्त्रीको निर्देशन

रोम – इटालीका प्रधानमन्त्री ग्युसेप्पी कोन्टेले विश्वभर फैलिँदै गरेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर  आफ्नो राष्ट्रमा पनि तीव्र गतिमा रहेको भन्दै अप्रिल ३ सम्मका लागि इटालियन सिरी ‘ए’ सहित सम्पूर्ण खेल गतिविधि तत्काल स्थगित गर्न निर्देशन दिएका छन्।

रेज्जियो इमिलियामा सोमबार भएको सिरी ‘ए’ को खेलमा सासौलोले बेरिस्कालाई ३–० ले हराएको थियो। यस चरणका सम्पूर्ण खेल बन्द रंगशालामा खेलाइएको थियो। सो खेललगत्तै कोन्टेले निर्देशन दिएका हुन्। सासौलोले पहिलो गोल गरेपछि स्ट्राइकर फ्रान्सिस्को कापुटोले ‘सबै ठीक हुन्छ। घरमै बसम भन्ने सन्देश देखाएका थिए। त्यसको केही घण्टापछि नै प्रधानमन्त्री कोन्टेले इटाली पूर्ण रूपमा लक डाउन भएको घोषणा गरेका थिए।

‘म यस्तो आदेशमा हस्ताक्षर गर्दै छु, जसको आशय यस्तो हुनेछ, म घरमै बस्छु,’ टेलिभिजन सम्बोधनका क्रममा कोन्टेले भने। इटालीमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४ सय ६३ पुगेको छ। इटालीको सरकारले थप संक्रमण नफैलियोस् भन्नका लागि मानिसलाई यात्रा र सभा सम्मेलन नगर्न निर्देशनसमेत दिएको छ। यससँगै त्यहाँका सम्पूर्ण शैक्षिक संस्था बन्द हुनुका साथै सम्पूर्ण खेलकुद गतिविधि पनि रद्द गरिएको हो।

‘खेलकुद गतिविधि निर्वाध सञ्चालन हुनुपर्छ भन्ने कुनेै कारण नै छैन र फुटबलको हकमा पनि यही नियम लागू हुन्छ,’ कोन्टेले भने, ‘मलाई माफ गर्नुहोस् तर सबै समर्थकले पनि  यसलाई स्वीकार गर्नुपर्छ। हामी दैनिक व्यायामलाई समेत छुट दिने छैनाैँ।’

प्रकाशित: २८ फाल्गुन २०७६ ०१:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App