१० वैशाख २०८२ बुधबार
image/svg+xml २२:२ अपराह्न
खेल

थ्री स्टारको सहज जित

बलको लागि प्रतिस्पर्धा गर्दे थ्री स्टार क्लवका सुशील राई र बिग्रेड ब्याइजका पदम भ­टराई (रातो)

काठमाडौं -  कप्तान तथा स्ट्राइकर सन्तोष साहुखल सहिद  स्मारक ‘ए’ डिभिजन लिगमा १ सय गोल पूरा गर्ने पहिलो खेलाडी बनेको दिन थ्री स्टार क्लबले भने बिग्रेड ब्बाइज क्लब (बिबिसी) माथि सहज जितका साथ लिगको तेस्रो स्थानमा उक्लिएको छ।

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दिनको दोस्रो खेलमा च्यासलले लगातार दुई हारको शृंखलामा पूर्णविराम लगाउने क्रममा नेपाल पुलिस क्लबसँग २ पटक पछि परेको स्थिति उल्ट्याउँदै २–२ को बराबरी खेलेको हो।

लिगको पहिलो खेलमा संकटामाथि जित हात पारेको च्यासलले दोस्रो खेलमा भने मच्छिन्द्र क्लबसँग बराबरी खेल्दै अंक बाँडेको थियो। तर त्यसपछिका दुई खेलमा भने च्यासलले क्रमशः न्युरोड टिम (एनआरटी) र जावलाखेल युथ क्लबलाई नतिजा सुम्पिएको थियो।बुधबार सम्पन्न खेलमा पनि पुलिसले २ पटक अग्रता लिएपछि च्यासल लगातार तेस्रो हारको संघारमा थियो। तर सन्तोषले दुवै बराबरी गोल फर्काउँदै टोलीलाई १ अंक दिलाएका हुन्।

खेलको पाँचौं मिनेटमा रक्षक नीरकुमार राईले कप्तान भोलानाथ सिलवालको पासलाई पोस्टको दिशा दिँदै पुलिसको गोल खाता खोलेका थिए। १८औं मिनेटमा सन्तोषले गरेको गोलमा च्यासल खेलमा फर्किएको थियो। मिडफिल्डर हेमन्त थापाले प्रहार गरेको फ्रिकिक पुलिसका गोलकिपर शत्रुघ्नकुमार चौधरीले राम्रोसँग नियन्त्रणमा लिन नसक्दा रिबाउन्डमा प्राप्त बललाई सन्तोषले जाली चुमाएका थिए। जुन ‘ए’ डिभिजन लिगमा उनको १ सयाैँ गोल थियो।

मध्यान्तर हुन ४ मिनेट बाँकी हुँदा स्ट्राइकर सुमन लामाले गरेको गोलमा पुलिसले २–१ को अग्रता लिएको थियो। ४९औं मिनेटमा सन्तोषले व्यक्तिगत दोस्रो गोल गर्दै पुनः एक पटक च्यासललाई खेलमा फर्काएका थिए। यस पटक पनि उनले हेमन्तको पासको सदुपयोग गरेका थिए। ‘लिगमा हामीले जुन प्रकारको सुरुआत गरेका थियांै, त्यो उत्कृष्ट थियो,’ च्यासलका प्रशिक्षक बालगोपाल साहुखलले भने,’ मच्छिन्द्रविरुद्ध बराबरी खेल्दा पनि टोली राम्रै लयमा थियो तर एनआरटी र जाबलाखेलविरुद्धको खेलमा भने टोलीले पूर्ण रूपमा लय गुमाएको देखियो।

आज टोली पुनः स्वाभाविक लयमा फर्किएको छ। पुलिस बलियो प्रतिद्वन्द्वी हो।  उनीहरू क्विक बलमा राम्रो छन् भन्ने हामीलाई थाहा थियो। हामीले त्यो रोक्ने रणनीति पनि लिएका थियौं। तर हामी त्यसमा सफल भएनौं। दुवै गोल उनीहरूले क्विक बलमा गरे। तर पनि हामीले आफ्नो स्वाभाविक खेल खेल्दै अंक लिन सफल भयाैँ। यो बराबरीले टोलीको मनोबल फर्किएको छ। जुन अब आउने खेलका लागि सकारात्मक हो।’

यस नतिजापछि ५ खेलमा च्यासलको ५ अंक नै छ र टोली नवाैँ स्थानमा छ  भने पुलिस भने ८ अंकका साथ छैटौं स्थानमा छ। ‘च्यासल प्राविधिक रूपमा राम्रो र कठिन टोली थियो,’ पुलिसका प्रशिक्षक अनन्त थापाले भने, ‘हामी उनीहरुविरुद्ध स्पष्ट ३ अंककै लागि खेलेका थियौ। हामीले दुई पटक अग्रता पनि लिएका थियौं, तर त्यसलाई जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयाैँ। हाम्रो खेल क्रमिक रूपमा सुधारिँदै आएको छ। आशा छ, आगामी खेलमा पनि टोलीले स्वाभाविक लयलाई निरन्तरता दिनेछ। ’

लिगअन्तर्गत बुधबारै भएको पहिलो खेलमा थ्री स्टार क्लबले १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको बिबिसीलाई ३–१ ले हराएको हो। १५औं मिनेटमा सुशान्त श्रेष्ठले गरेको गोलमा अग्रता लिएको थ्री स्टारलाई ४१औं मिनेटमा अन्तत तामाङले मिचेन तामाङको कर्नरमा हेड गोल गर्दै २–० ले अघि बढाएका थिए। ५८औं मिनेटमा वासिउ ओलादिरान हाजमतले थ्री स्टारको अग्रता थप बढाएका थिए। ६६औं मिनेटमा थ्री स्टारका अशोक खवासमाथि खराब ट्याकल गरेको भन्दै रक्षक दीपेन्कराज सिंह रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि बिबिसीले १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो।

खेलको अन्तिम मिनेटमा रोशन रानामगरले गोल गरे पनि त्यो गोल बिबिसीका लागि सान्त्वना साबित भयो। ‘हामीले पाएका अवसरमध्ये ३० प्रतिशत अवसरको मात्र सदुपयोग ग-यौ होला,’ थ्री स्टारका प्रशिक्षक मेघराज केसीले भने, ‘हाम्रो टोलीमा अझै फिनिसिङमा समस्या छ र मलाई लाग्छ, जारी लिगमा सहभागी सबै क्लबमा यही समस्या छ। यो नेपाली फुटबलकै दुर्भाग्य हो।’

 

 

 

प्रकाशित: २४ पुस २०७६ ०१:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App