१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

स्क्वाटको पहिलो चरण सम्पन्न

काठमाडाैं - चौथो  अन्तरक्लब महिला स्क्वाट प्रतियोगिता बुधबारबाट सुरु भएको छ । त्रिपुरेश्वरस्थित ज्यास्मिन फिटनेस एन्ड स्पामा भएको पहिला दिनको खेलबाट १९ खेलाडीले बिहीबार हुने फाइनल सुरक्षित गरे ।

६० केजीमुनि तौलसमूहबाट अंकिता शिकारी, स्माइल शाक्य, ज्योति थापा, चम्पा बलामी, सुजिता मानन्धर, ओलिभा महर्जन, रेजिना राई र अरुण बस्नेतले अन्तिम चरणमा स्थान बनाउँदा अंकिता खड्का भने पहिलो चरणबाट बाहिरिइन् । यस पटकबाट प्रतियोगीहरूले पहिलो चरणबाटै आफूले चाहेको तौल उठाउन पाउने नियम बनाइएको थियो । सहभागी खेलाडीले दुवै विधामा तीन पटक अवसर प्राप्त गरेका थिए । त्यसमध्ये क्वालिफायर चरणबाट अन्तिम चरण प्रवेश गर्न कम्तीमा दुई पटक तौल उठाउनुपर्ने थियो । फाइनल चरणमा जसले धेरै तौल उचाल्यो उसले जित्नेछ । दुवै विधाका विजेताले ५० हजार, उपविजेताले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् । 

अंकिता स्माइल, ज्योति, चम्पा, सुजिता, ओलिभा, रेजिना र अरुणाले पहिलो चरणमा १०, दोस्रो चरणमा १५ र तेस्रो चरणमा २० केजी तौल उठाएका थिए । यता पहिलो प्रयासले १० केजी तौल उठाए पनि अंकिता खड्काले १५ र २० केजीमा भने तौल उठाउन असफल भएपछि छनोट चरणबाटै बाहिरिएकी हुन् ।

त्यस्तै ६० केजीमाथि तौलसमूहमा सवाना खातुन, प्रविना गुरुङ, सुरुचि श्रेष्ठ, वर्षा कंसाकार, निर्मला पुजारी, विपासी तुलाधर, योजना भट्टराई, देविका खत्री, उमा महर्जन र विद्या राईले फाइनलमा स्थान पक्का गर्दा रेजिना श्रेष्ठको यात्रा भने पहिलो चरणमा सीमित बन्यो । सवाना, प्रविना, सुरुचि, वर्षा, निर्मला, विपासी, योजना, देविका, उमा र विद्याले पहिलो प्रयासमा १५, दोस्रोमा २० र तेस्रोमा ५० केजी तौल उठाएका थिए भने रेजिनाले पहिलो प्रयासमा १५ केजी तौल उठाए पनि १५ र २० केजी भने उठाउन असफल भइन् ।

ज्यास्मिन फिटनेस र आइडिया सपले विगत तीन वर्षदेखि नारी दिवसको अवसरमा अन्तरक्लब महिला स्क्वाट प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगिताका फाइनल खेल बिहीबार हुनेछन् ।

 

प्रकाशित: २३ फाल्गुन २०७५ ०१:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App