१५ असार २०८१ शनिबार
image/svg+xml
खेल

कुकले लिए संन्यास

लन्डन – इङ्ल्यान्डका पूर्वकप्तान तथा ओपनर एलेस्टर कुकले सोमबार भारतविरुद्धको पाँचाैं टेस्टपछि अन्तर्राष्ट्रिय खेलजीवनमा पूर्णविराम लगाउने घोषणा गरेका छन्।

इङ्ल्यान्डका सर्वाधिक रन जोड्ने खेलाडी ३३ वर्षे कुकले १ सय ५८ टेस्टबाट ४४.८८ को औसतमा १२ हजार २ सय ५४ रन जोडेका छन् । यस क्रममा कुकले ३२ शतक प्रहार गरेका छन्। तर यस वर्ष भने कुक टेस्ट क्रिकेटमा रन जोड्न संघर्षरत छन् । उनले नौ टेस्टमा १८.६२ को औसतमा रन मात्र जोड्न सकेका छन्।

‘म पछिल्लो केही महिना यता स्वाभाविक रनको लय भेट्टाउन संघर्षरत छु । त्यसैले मैले भारतविरुद्धको अन्तिम टेस्टसँगै अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने निर्णय गरेको हुँ,’ कुकले भने, ‘यो दुखद दिन भए पनि देशका लागि आजसम्म दिएको योगदानका अघि त्यो दुखको कुनै अर्थ छैन  । मैले इङ्ल्यान्डका लागि सबै थोक दिइसकें अब मसँग दिनका लागि केही बाँकी छैन।’

‘मैले सोचेको भन्दा पनि बढी उपलब्धि हात पारें,’ कुकले भने,  ‘इङ्ल्यान्ड टोलीको नेतृत्व गर्नु र लामो समयसम्म राष्ट्रको प्रतिनिधित्व गर्नु मेरो जीवनकै ठूलो उपलब्धि हो।’ इङ्ल्यान्डले आइतबार भारतलाई चौथो टेस्टमा ६० रनले पराजित गर्दै ५ टेस्टको शृंखला ३–१ को अग्रताका साथ जितिसकेको छ । अन्तिम टेस्ट शुक्रबारबाट सुरु हुनेछ।

तर जारी शृंखलामा कुकले सोचेअनुरूपको प्रदर्शन गर्न सकिरहेका छैनन् । चार टेस्टको सात इनिङ्समा कुकले १५.५७ को औसतमा १ सय ९ रन मात्र जोडेका छन् । कुकले २००६ मा नागपुरमा भारतविरुद्धको खेलमा शतक प्रहार गर्दै टेस्ट क्रिकेटमा सुखद डेब्यु गरेका थिए । कुकले २०१४ मा श्रीलंकाविरुद्धको खेलसँगै एकदिवसीय क्रिकेटबाट संन्यासको घोषणा गरेका  थिए।

प्रकाशित: १९ भाद्र २०७५ ००:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App