काठमाडौं – आरबीबी एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनसिप सोमबारबाट सुरु हुँदै छ।
नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा सञ्चालन हुने प्रतियोगितामा ६ टिमले राउन्ड रोबिन लिग प्रणालीमा प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा साबिक विजेता एपिएफ, शिवम् न्यु डायमन्ड एकेडेमी, नेपाल पुलिस, नेपाल आर्मी, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र चितवनको पद्मोदय युवा क्लबले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताको विजेता टिमले २ लाख, उपविजेताले १ लाख ,तेस्रोले ५० हजार र चौथो हुनेले २५ हजार नगद प्राप्त गर्नेछन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्नेछ भने विधागततर्फका उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट कोचले जनही ५ हजार रुपियाँ नगद प्राप्त गर्नेछन्।
जेठ २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद्को कर्भड हलमा आयोजना हुनेछ। प्रतियोगिताको उद्घाटन खेल शिवम् न्यु डायमन्ड र नेपाल पुलिसबीच हुनेछ।
प्रकाशित: २१ जेष्ठ २०७५ ०४:४० सोमबार