नेपालकी ऐतिहासिक पदकविजेता एरिका गुरुङसहित राष्ट्रिय टोलीका सात खेलाडीले नवौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन्।
श्रीलंकाको कोलम्बोमा जुलाई २ देखि ७ सम्म दक्षिण एसियाली कराते च्याम्पियनसिपको नवौं संस्करण हुँदै छ। उक्त च्याम्पियनसिपमा एरिकासहित राष्ट्रिय टोलीका सात खेलाडीको चुनौती रहने भएको छ। मिसन २६ को तयारीमा रहेका राष्ट्रिय टोलीका १० मध्ये सात खेलाडीले यस च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दै छन्।
कातामा स्वनिम मानन्धर र सानुमाया थिङ छन्। फाइटतर्फ एरिकाले ६८ केजीमाथि, वर्षा बुढामगरले ४५ केजी, निरूपा दोङले ६१ केजी, सन्तोष श्रेष्ठले ६७ केजी र सेखु आलमले ८४ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्ने नेपाली टोलीका प्रशिक्षक मन्डेकाजी श्रेष्ठले जानकारी दिए। टोलीका अर्का प्रशिक्षक कुशल श्रेष्ठसहित एरिका र सन्तोष थाइल्यान्डमा च्याम्पियनसिप खेल्न गएका थिए।
उनीहरूले त्यतैबाट श्रीलंका पुग्नेछन्। उक्त च्याम्पियनसिपमा यी खेलाडीसहित कुल ६३ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने भएका छन्। खेलाडीसहित कुल ७३ सदस्य रहेको नेपाली टोली सोमबार नै कोलम्बो प्रस्थान गरेको छ। पछिल्लो दुई संस्करणमा नेपाल च्याम्पियन हो।
सातौं संस्करण र भुटानमा भएको आठौं संस्करणमा नेपाल टिम च्याम्पियन बनेको थियो। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्य, राखेपका सदस्यसचिव टंकलाल घिसिङ, नेपाल कराते महासंघका अध्यक्ष एवं राखेपका पूर्वसदस्यसचिव युवराज लामा र महासचिव दावा गुरुङलगायतले नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेका थिए।
प्रकाशित: १७ असार २०८२ ०७:५९ मंगलबार





