२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

तनहुँबाट ६७ निर्वाचन प्रहरी स्याङ्जा पठाइयो

फाइल तस्बिर

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि यहाँबाट ६७ निर्वाचन प्रहरी छिमेकी जिल्ला स्याङ्जा पठाइएको छ।

तनहुँका लागि आवश्यक सङ्ख्या एक हजार ५७३ जना राखेर बाँकी रहेका १९६ वैकल्पिक निर्वाचन प्रहरीमध्ये उक्त सङ्ख्यामा स्याङ्जा पठाइएको हो। जिल्ला प्रहरी कार्यालयले मागअनुरूप आवेदन नपरेकाले वैकल्पिक निर्वाचन प्रहरी पठाइदिन माग गरेकाले सहयोग गरिएको तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए।  

उनले भने, 'जिल्लामा छनोट भएकामध्ये अहिलेसम्म ४२ जना अनुपस्थित देखिएका छन्, आजसम्म उपस्थित नभए वैकल्पिक रहेका १२९ जनाबाट व्यवस्थापन गरिनेछ।'

गत पुस २५ देखि माघ ३ गतेसम्म आवेदन माग गरिएकामा मागअनुरूप आवेदन नपरेपछि पुनः माघ १० र ११ गते दुई दिन माग गरेकामा माग सङ्ख्या पूरा भई अन्य जिल्लामा सहयोग गर्न सकिएको प्रहरी नायब उपरीक्षक विकले बताए। उनका अनुसार उक्त दिनमा पुरुष ४३६ र महिला २१७ गरी ६५३ जनाले आवेदन दिएका थिए।

त्यसैगरी तनहुँमा ३०९ मतदान केन्द्रमध्ये आठवटा मतदान केन्द्र अति संवेदनशील सूचीमा राखिएको छ। उक्त अति संवेदनशील केन्द्रहरूमा विशेष सुरक्षा व्यवस्था लागू गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको  छ।

जिल्ला सुरक्षा समितिले निर्माण गरेको निर्वाचन केन्द्रित एकीकृत सुरक्षा योजनाअनुसार अति संवेदनशील मतदान केन्द्र निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिए। उनले भने, 'निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउनु प्रहरी प्रशासनको मुख्य दायित्व हो, जिल्लामा १० स्थानीय तह रहेका छन् भने दुई लाख ५४ हजार ३९७ मतदाता कायम भएका  छन्।'

प्रकाशित: १९ माघ २०८२ १४:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App