नेपाल फुटबल संघ (एन्फा) को सहायक महासचिव अरूणमान जोशीले बुधबार पदबाट राजीनामा दिएका छन्।
थ्री स्टार क्लबलाई ‘बी’ डिभिजनमा झार्ने एन्फा अपिल कमिटीको निर्णयमा आपत्ति जनाउँदै जोशीले उक्त पदबाट राजीनामा दिएको जनाएका हुन्। जोशीले बुधबार एक विज्ञप्ति जारी गर्दै एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङलाई सम्बोधन गर्दै राजीनामा बुझाएको उल्लेख गरेका छन्।
उनी थ्री स्टार क्लबका निवर्तमान अध्यक्ष हुन्। आफ्नो क्लबमाथि एन्फाले लगातार अन्याय गरेको आरोप लगाउँदै पद छाड्ने निर्णयमा पुगेको उनको भनाइ छ। उनले दुई वर्षअघि सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिगको विषयमा निर्णय लिन ढिलाइ गरेको र अहिले यो निर्णय आउनुमा एन्फामाथि शंका गर्नुपर्ने अवस्था सिर्जना भएको विचार राखेका छन्। थ्री स्टारमाथि जावलाखेल युथ क्लबविरुद्धको खेलमा भिसा नभएका खेलाडी खेलाएको अभियोग लागेको थियो।
त्यसबारे छानबिन हुँदा थ्री स्टार दोषी देखिएपछि उक्त खेलको नतिजा जावलाखेलको पक्षमा दिइएको थियो। त्यो नतिजासँगै थ्री स्टार रेलिगेसनमा पर्न पर्याप्त बन्यो।
थ्री स्टारले गल्ती स्वीकार गरे पनि तेस्रो पक्षका रूपमा एपिएफले दिएको उजुरी लिनु एन्फाको त्रुटि रहेको जिकिर गर्दै आएको छ। एन्फा आफैंले फिफा कनेक्टमा भिसा सकिएका दुई विदेशी खेलाडीलाई दर्ता गराउनुबाट थप शंका उत्पन्न भएको उनको भनाइ छ।
एन्फाकै तत्कालीन फिफा कनेक्ट अफिसर अमित खत्रीले ‘सचिवालयको निर्देशनअनुसार भिसा सकिइसकेका खेलाडीलाई दर्ता गराएको’ भन्दै दिएको प्रतिक्रियाका कारण एन्फाको नियतमाथि नै प्रश्न उठेको जोशीले आरोप लगाएका छन्। उनले आफू क्लबकै अध्यक्ष भएर नै एन्फाको त्यो जिम्मेवारी पुगेको उनको भनाइ छ।
त्यसैले पनि क्लबमाथि अन्याय हुँदा उक्त जिम्मेवारीमा रहन नहुने निर्णयसहित राजीनामा दिएको विज्ञप्तिमा उल्लेख गरिएको छ। अब थ्री स्टार क्लबको अभियानमा नै आफू समर्पित हुने उनले घोषणा गरेका छन्।
दुई वर्षअघि सम्पन्न लिगमा जावलाखेल युथ क्लबविरुद्धको विवादास्पद खेलको नतिजा १–० ले पक्षमा पार्दै थ्री स्टारले रेलिगेसन टारेको थियो। तर, सोही नतिजाका कारण एपिएफ रेलिगेसनमा परेको थियो। पछि एपिएफले उक्त खेलमा थ्री स्टारले भिसा नभएका दुई विदेशी खेलाडी खेलाएको भन्दै उजुरी दिएको थियो। उक्त उजुरी एपिएफले २०८० जेठ २८ गते गरेको हो।
तर, लामो समयपछि गत बिहीबार एन्फा अपिल कमिटीले थ्री स्टारलाई कारबाही गर्यो। केही महिनाअघि निर्णय गर्दै थ्री स्टारले खेलाएका खेलाडी अवैधानिक रहेको एन्फाले ठहर गरेको थियो। यो निर्णयसँगै नेपालको घरेलु फुटबलको चर्चित क्लब थ्री स्टारले शीर्ष डिभिजनको हैसियत गुमाउनुपर्यो। तर, थ्री स्टारले केही दिनअगाडि मात्र एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङसहित पदाधिकारीलाई भेटेर आफूसँगै एन्फा र एपिएफबाट पनि गल्ती भएकाले अहिले रेलिगेसन नगर्न र शीर्ष डिभिजनकै हैसियतमा राख्न अनुरोध गरेको थियो। उक्त प्रस्ताव एन्फाले अस्वीकार गरेपछि जोशीले राजीनामा दिएका हुन्।
प्रकाशित: १२ असार २०८२ ०७:५८ बिहीबार





