नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले स्कटल्यान्डमा भएको त्रिकोणात्मक टी–२० सिरिजमा टोलीले उत्कृष्ट प्रदर्शन गरेको र यसको श्रेय टिमको एकता र बेलायतमा गरिएको तयारीलाई जाने बताएका छन्।
स्कटल्याण्डमा भएको त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेलेर आइतबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कप्तान पौडेलले स्कटल्यान्डको कठिन परिस्थितिमा पनि टोलीले एकताबद्ध भएर राम्रो क्रिकेट खेलेको बताए।
‘स्कटल्यान्डको कन्डिसन त्यति सजिलो थिएन,’ उनले भने, ‘तर टिमले एउटा युनिटको रूपमा एकदमै राम्रो क्रिकेट खेल्यो। सिरिजअघि १० दिन बेलायतमा गरेको तयारीले पनि हामीलाई निकै मद्दत गर्यो।’
कप्तान पौडेलले नयाँ प्रशिक्षकको आगमनले टोलीमा सकारात्मक वातावरण बनेको उल्लेख गरे।
‘उहाँले एकदमै सकारात्मक र शान्त वातावरण बनाउनुभएको छ,’ उनले भने, ‘उहाँ सीधा कुरा गर्नुहुन्छ र सबै कुरालाई सरल राख्नुहुन्छ। धेरै मिटिङमा विश्वास गर्नुहुन्न, बरु मैदानमा खेलाडीलाई आफैँ निर्णय लिन प्रेरित गर्नुहुन्छ।’
टोलीमा केही खेलाडी घाइते हुँदा नयाँ खेलाडीहरूले राम्रो प्रदर्शन गरेको र त्यसले टोलीको ‘डेप्थ’ परीक्षण गर्न मद्दत पुगेको पौडेलको भनाइ छ।
प्रकाशित: ८ असार २०८२ १८:३१ आइतबार





