राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १५औं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिताका पदक विजेतासहित टोलीलाई आइतबार बधाई दिएको छ ।
राखेपका सदस्यसचिव टंकलाल घिसिङलगायतले टोलीलाई त्रिपुरेश्वरस्थित राखेपमा स्वागत गर्दै सफलताका लागि बधाई दिएका हुन्। त्यसअघि आइतबारै टोलीलाई कार्यकारी समितिका सदस्य भट्टराई, नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका प्रथम उपाध्यक्ष विजयलाल कायश्थसहित पदाधिकारी, खेलाडी, प्रशिक्षक, शुभचिन्तक, परिवारजनलगायतले अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
भुटानको थिम्पूमा जेठ ३० देखि ३१ गतेसम्म भएको प्रतियोगितामा नेपालले १ स्वर्ण र ३ रजत जितेको थियो । नेपालबाट ३ पुरुष र २ महिला गरी ५ खेलाडीले सहभागिता जनाएका थिए ।
महिला एथलेटिक फिजिकमा उर्मिला श्रेष्ठले नेपाललाई स्वर्ण दिलाइन् । सोही स्पर्धामा शीला ठकुरीले रजत पदक जितिन् ।
पुरुष ५५ केजी तौल समूहमा सरद सुवालले रजत तथा पुरुष स्पोट्स फिजिक १७५ सेन्टीमिटर मुनी अवतार श्रेष्ठले रजत पदक जिते । पुरुष स्पोट्स फिजिक १७५ सेन्टीमिटर माथि प्रनिश श्रेष्ठ पाँचौं स्थानमा रहे।
स्वागत कार्यक्रममा सदस्य–सचिव घिसिङले शारीरिक सुगठनले राष्ट्रलाई चिनाउने क्रममा थ्रुपै अन्तर्राष्ट्रिय पदक जितिसेको बताउँदै पदक जितेर सारा नेपालीलाई खुसी बनाएकोमा खेलाडीलाई बधाई दिए।
उनले शारीरिक सुगठन खेल बारे भने– ‘यो खेलको विशेषता र परिचय भनेकै खाली हात नआउने खेल हो।’
शारीरिक सुगठन महासंघका प्रथम उपाध्यक्ष विजयलाल कायश्थले हरेक अन्तर्राष्ट्रिय प्रतियोगितामा शारीरिक सुगठनले राष्ट्रलाई पदक दिलाउँदै आएको स्मरण गरे ।
टोलीसँगै अफिसियलका रुपमा भुटान गएका शारीरिक सुगठनका सचिव दिनुशकुमार राजभण्डारीले सन् २०२७ मा नेपालमा विश्व शारीरिक सुगठन च्याम्पियनसिप आयोजना बारे पनि भुटानमा छलफल भएको जानकारी गराए ।
व्यवस्थापकमा सुरेश सुवेदी, प्रशिक्षकमा रुजेश शाही, निर्णायकमा दीपेन्द्रकुमार प्याकुरेल तथा सहयोगीमा रमेश श्रेष्ठ र बालमुकुन्द अवाल भुटान गएका थिए ।
प्रकाशित: १ असार २०८२ १४:३५ आइतबार





