आइसिसी क्रिकेट विश्वकप लिग-२ को त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले नेदरल्यान्ड्सलाई १६ रनले हराएको छ। यो सिरिजमा नेपालले नेदरल्यान्ड्सलाई लगातार दुई खेलमा पराजित गरेको हो।
स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको २३७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४९.२ ओभरमा अलआउट हुँदै २२० रनमा समेटियो।
नेपालको जितमा नन्दन यादव र सन्दीप लामिछानेले तीन/तीन विकेट लिए। ललित राजवंशीले दुई विकेट लिए भने करण केसी र कुशल भुर्तेलले एक/एक विकेट हात पारे।
नेदरल्यान्ड्सका लागि वास्ली बारेसीले सबैभन्दा धेरै ३६ रन बनाए। स्कट एडवार्डले ३०, केले केलिनले २५, मिचेल लेभिटले २७, नोहा क्रोएसले २२, तेजा निदामानुरुले १७ र रोएलोफ भान डेर मेरवेले १६ रन बनाए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा नौ विकेट गुमाउँदै २३६ रन बनाएको थियो। नेपालका लागि आरिफ शेखले ८५ बलमा सात चौका र दुई छक्कासहित ८४ रन बनाए।
यस्तै, भीम सार्की र कप्तान रोहितकुमार पौडेलले समान ३५/३५ रन बनाए। कुशल भुर्तेलले १८, दीपेन्द्रसिंह ऐरीले १६, बसिर अहमद र करण केसीले समान ११/११ तथा नन्दन यादवले १० रन जोडे। सन्दीप लामिछाने दुई रन बनाएर आउट भए।
नेदरल्यान्ड्सका लागि पउल भान मिकेरनले चार विकेट लिए भने माइकल लेभिटले तीन र आर्यन दत्तले एक विकेट लिए। रासस
प्रकाशित: २८ जेष्ठ २०८२ ०६:२१ बुधबार