२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

सरकारलाई झाँक्रीको प्रश्न- ‘एक्सेलेटर मात्रै थिचेर हुँदैन, ब्रेक खोइ ?’

नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले बालेन शाह नेतृत्वको वर्तमान सरकारले मुलुकलाई दुर्घटनाको जोखिममा पारेको आरोप लगाएकी छिन्।

शुक्रबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उनले सरकार केवल ‘एक्स्प्रेस वे’ मा कुद्न खोजेको तर सन्तुलन गुमाउँदा भयानक दुर्घटना निम्तिन सक्ने चेतावनी दिइन्।

नेतृ झाँक्रीले सरकारको सुशासन र डेलिभरी केवल नारामा मात्रै सीमित भएको दाबी गरिन्। ‘प्रधानमन्त्रीज्यूले हामीलाई एक्सेलेटर भए पुग्छ, ब्रेक चाहिँदैन भन्नुभएको छ,’ झाँक्रीले भनिन्, ‘तर सन्तुलन गुमेको सवारीले जतिसुकै फराकिलो बाटोमा पनि दुर्घटना बाहेक केही निम्त्याउँदैन। अहिलेको सरकार त्यही बाटोमा छ।’

उनले राष्ट्रियता र स्वाभिमानको विषय उठाउँदै विगतका आन्दोलन र विदेशी सद्भावको चर्चा गरिन्। महाभूकम्पको समयमा क्रिस्टियानो रोनाल्डो जस्ता अन्तर्राष्ट्रिय खेलाडीले देखाएको ऐक्यबद्धता स्मरण गर्दै उनले अहिले केही इन्फ्लुएन्सर र अभियन्ताहरूले राष्ट्रिय झण्डा ओढेर देश जलाउने काम गरेको आरोप लगाइन्।

उनले भनिन्, ‘देशका तथ्य, तथ्याङ्क र प्रशासनिक केन्द्रहरू जलाइएको घटनालाई क्रान्ति भनियो, यो कस्तो क्रान्ति हो ?’

झाँक्रीले भदौ २३ र २४ गतेका घटनाहरूको न्यायिक छानबिन गर्न उच्चस्तरीय आयोग गठनको माग समेत गरिन्। सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा आयोग बनाएर सो घटनाको योजनाकार र दोषीहरूको पहिचान हुनुपर्ने उनको तर्क छ।

‘देश जलाउने र राष्ट्रघाती काम गर्नेहरूलाई कानुनी कठघरामा उभ्याउन ढिला गर्नु हुँदैन,’ उनले थपिन्।

सरकारले आधारभूत सेवा प्रवाहमा पूर्णतः असफल भएको झाँक्रीको टिप्पणी छ। अस्पतालमा क्यान्सरको औषधि, रेबिजको खोप र किसानका लागि रासायनिक मल समेत उपलब्ध नभएको भन्दै उनले सरकारको आलोचना गरिन्।

यस्तै, कक्षा १२ को नतिजा हतारमा निकालेर विद्यार्थीहरूको भविष्यमाथि खेलबाड गरिएको र नतिजा सन्तोषजनक नभएको उनले बताइन्।

प्रकाशित: १२ असार २०८३ १८:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App