नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी महाधिवेशनमार्फत आफूले राजनीतिक जीवनकै अन्तिम ‘क्रमभङ्ग’ गर्ने बताएका छन्।
विराटनगरमा शुक्रबार आयोजित कोशी प्रदेश कमिटीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो क्रान्तिकारी स्वभाव अनुसार फेरि एकपटक नयाँ मोड लिने तयारी भइरहेको बताएका हुन्।
सम्बोधनका क्रममा कार्यकर्ताहरूलाई ‘बोल्ड’ हुन आग्रह गर्दै प्रचण्डले भने, ‘म जस्तोसुकै परिस्थितिमा पनि क्रमभङ्ग गर्न सक्ने मान्छे हुँ र गर्दै आएको पनि छु। आगामी महाधिवेशनमा फेरि अर्को एउटा नयाँ क्रमभङ्ग हुनेछ। यो मेरो जीवनको अन्तिम क्रमभङ्ग हो, त्यसैले तपाईंहरू भ्रममा नपरीकन यसका लागि तयार रहनुस्।’
आफूहरू ‘घण्टी बजाउने भिक्षु’ नभएको बताउँदै उनले जुनसुकै बेला क्रान्तिकारी र साहसिक निर्णय लिन सक्ने ल्याकत आफूमा रहेको बताए। ‘नहिचकिचाइकन र नडराई अगाडि आउनुस् र हेर्नुस् क्रमभङ्ग कस्तो हुँदो रहेछ,’ उनले थपे।
यही क्रमभङ्गको आधार तयार पार्न नेकपा एमालेसँगको सहकार्यलाई उनले उच्च प्राथमिकतामा राखेका छन्। तत्कालै पार्टी एकता सम्भव नभए पनि संसद्, सडक र आगामी प्रदेश तथा स्थानीय तहको निर्वाचनमा एमालेसँग कार्यगत एकता गरेर अगाडि बढ्ने सहमति भइरहेको उनले जानकारी दिए।
वामपन्थी शक्तिहरूको ध्रुवीकरण र सहकार्यले नै मुलुकको वर्तमान संकट समाधान गर्ने उनको विश्वास छ।
प्रकाशित: १२ असार २०८३ १८:३२ शुक्रबार





