२८ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

काठमाडौंदेखि मधेससम्म हुन्डी कारोबारको सञ्जाल : १ करोड ८१ लाख बढी स्रोत नखुलेको रकम बरामद

तस्बिर : एआई

काठमाडौंदेखि मधेस प्रदेशका सीमावर्ती जिल्लासम्म अवैध हुन्डी कारोबारको सञ्जाल फैलिएपछि प्रहरीले निगरानी र कारबाही तीव्र पारेको छ।  

पछिल्लो समय काठमाडौं, सर्लाही र पर्साबाट प्रहरीले लगातार ठूलो परिमाणमा स्रोत नखुलेको नगद बरामद गर्दै हुन्डी कारोबारको सम्भावित सञ्जालमाथि अनुसन्धान अघि बढाएको हो।

साउनको अन्तिम सातामात्रै काठमाडौंदेखि मधेससम्म पछिल्ला तीन घटनामा प्रहरीले १ करोड ८१ लाख ११ हजार ३ सय रुपैयाँ नेपाली नगद तथा ३ लाख ४ हजार ३ सय भारतीय रुपैयाँ बरामद गरेको छ।  

हुन्डी कारोबारमा समलग्न माथी निगरानी बढाउँदै संजाल नै निस्तेज बनाउने अभियान अन्तर्गत प्रहरीले रकम बोकेर हिँड्ने व्यक्तिको पक्राउसँगै प्रहरीले त्यसको स्रोत, गन्तव्य, रकम पठाउने व्यक्ति तथा सम्भावित हुन्डी सञ्चालकसम्म पुग्ने प्रयास गरिरहेको छ।

कुलेश्वरबाट श्रोत नखुलेको ८१ लाखभन्दा बढी रकम बरामद  

काठमाडौंको कुलेश्वरबाट बुधबार प्रहरीले ७६ लाख २७ हजार ३ सय नेपाली रुपैयाँ र ३ लाख ४ हजार ३ सय भारतीय रुपैयाँसहित पर्साका ३३ वर्षीय जितेन्द्र साहलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर ४ घर भई हाल कुलेश्वर बस्दै आएका साहमाथि स्रोत नखुलेको रकमको हुन्डी कारोबार गरिरहेको सूचनाका आधारमा निगरानी बढाएको थियो।

काठमाडौं महानगरपालिका १४ स्थित अञ्चल फ्रुट सेन्टरमा बुधबार दिउँसो करिब १ः३० बजेको समयमा प्रहरीले छापा मार्दा साहको साथबाट उक्त रकम बरामद भएको थियो।

प्रहरीले रकमसहित साहलाई नियन्त्रणमा लिएर हुन्डीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ।

सर्लाहीमा स्कुटरको डिकीबाट ५१ लाख बरामद एक पक्राउ

यसैगरी सर्लाहीको ब्रह्मपुरी गाउँपालिका वडा नम्बर २ स्थित राजदेवी मन्दिर नजिकबाट प्रहरीले ५१ लाख ३४ हजार रुपैयाँसहित महोत्तरीका ५७ वर्षीय जगन्नाथ महतो कोईरीलाई पक्राउ गरेको छ।

भेलही बजारबाट बयलबासतर्फ जाँदै गरेको ज.१० प ८६५२ नम्बरको स्कुटरलाई प्रहरीले चेकजाँच गर्ने क्रममा स्कुटरको डिकीमा कालो झोलाभित्र लुकाइराखिएको अवस्थामा विभिन्न दरका नेपाली नोट बरामद गरेको थियो।

गोप्य सूचनाका आधारमा स्रोत नखुलेको रकम लिएर आउँदै गरेको अवस्थामा महतोलाई नियन्त्रणमा लिन खोज्दा स्कुटर अनियन्त्रित भई दुर्घटना भएको थियो। घाइते महतोको मलंगवास्थित अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

बरामद रकमको स्रोत, कारोबारको प्रकृति र रकमको सम्भावित गन्तव्यबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी रविन्द्रनाथ पौडेलले बताएका छन्।

वीरगञ्जमा ५३ लाख ५० हजारसहित चार पक्राउ  

यस्तै गत साउन २५ गते  वीरगञ्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगर बाट प्रहरीले ५३ लाख ५० हजार रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ।

वीरगञ्ज प्रहरीले गोप्य सूचनाका आधारमा खटिएको टोलीले प्रदेश २–०३–००३ प ७२१५ नम्बरको सुपर स्प्लेन्डर र ना.५७ प ५१८२ नम्बरको एफजेड मोटरसाइकल रोकेर खानतलासी गर्दा उनीहरूको साथबाट ठूलो परिमाणमा नगद बरामद भएको थियो।

पक्राउ पर्नेमा भारत बिहार सीतामढी निवासी २६ वर्षीय सुरज कर्ण, बाराको प्रसौनी गाउँपालिका वडा नम्बर १ का ३२ वर्षीय उपेन्द्र साह र २६ वर्षीय सागरकुमार सर्राफ तथा पर्साको विन्दवासिनी गाउँपालिका वडा नम्बर १ का २५ वर्षीय राहुलकुमार गुप्ता छन्।  

सीमाबाट राजधानीसम्म नगदको ‘रुट’

प्रहरीको पछिल्लो कारबाहीलाई हेर्दा हुन्डी कारोबारमा सीमावर्ती मधेस प्रदेशका जिल्ला, व्यापारिक केन्द्र वीरगन्ज र राजधानी काठमाडौं बीचको नगद ओसारपसारको सम्भावित कनेक्सन माथि अनुसन्धान केन्द्रित भएको देखिन्छ।

नेपाल–भारतबीच हुने व्यापार तथा व्यक्तिगत आर्थिक कारोबार को आवरणमा अनौपचारिक माध्यमबाट रकम स्थानान्तरण हुने गरेको आशंका प्रहरीको छ।  

बैंकिङ प्रणाली बाहिर रकम संकलन गर्ने, एक स्थानबाट अर्को स्थानमा नगद पुर्‍याउने र त्यसलाई सम्बन्धित व्यक्तिसम्म पुर्‍याउने प्रक्रियामा विभिन्न तहका व्यक्तिको प्रयोग हुने गरेको अनुसन्धानबाट खुल्ने गरेको प्रहरी अधिकारीहरू बताउँछन्।

प्रहरीले पछिल्लो समय यस्ता घटनामा रकम बोकेर हिँड्ने व्यक्तिलाई मात्र पक्राउ नगरी रकमको स्रोतदेखि अन्तिम गन्तव्यसम्मको ‘मनी ट्रेल’ खोज्ने रणनीति अपनाएको छ।

प्रहरीको अभिलेखमा पनि लगातार बढ्दो कारबाही

प्रहरीको विवरणअनुसार साउन महिनामै पर्सा, रौतहट र सर्लाहीमा हुन्डी तथा स्रोत नखुलेको रकम सम्बन्धी विभिन्न कारबाही भएका छन्।  

साउन पहिलो सातादेखि हालसम्म मधेस प्रहरीले रौतहटमा ५ लाख ५० हजार नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। यस्तै सर्लाहीमा श्रोत खुल्न नसकेको १२ लाख ७५ हजार रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको मधेस प्रदेशका प्रहरी प्रवक्ता एसएसपि प्रभुप्रसाद ढकालले बताए।

हुन्डी कारोबार गर्नेले औपचारिक बैंकिङ प्रणाली बाहिर ठूलो रकम परिचालन गर्दै आएकोले राजस्व छली, अवैध वित्तीय कारोबार तथा सम्पत्ति शुद्धीकरणसँग जोडिन सक्ने जोखिम रहेकोले हुण्डी संजाल नै निस्तेज बनाउन मधेस प्रदेशका हरेक प्रहरी युनिटलाई निर्देशन दिएको एसएसपि ढकालले बताए।  

हुण्डीको अवैध रकमसहित पक्राउ परेका व्यक्तिबाट बरामद रकमको स्रोत पहिचान गर्नुका साथै उनीहरूसँग सम्पर्कमा रहेका व्यक्ति र आर्थिक कारोबारको विस्तृत विवरण अनुसन्धान मार्फत प्रहरीले खुलाएर हुन्डि संजाल भत्काउने अभियानमा लागेको एसएसपि ढकालको भनाइ छ। यसले सीमावर्ती जिल्लामा मात्र नभई मधेस हुँदै राजधानीसम्म जोडिने अवैध वित्तीय कारोबारको सम्भावित सञ्जालमाथि सुरक्षा निकायको चासो बढाएको छ।

प्रकाशित: २८ श्रावण २०८३ १०:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App