सिन्धुपाल्चोककाे बाह्रबिसे नगरपालिका-०८ मानेश्वरास्थित भित्री सडक खण्डमा ढुङ्गा बोकेको टिपर पल्टिँदा एक जनाको मृत्यु भएको छ ।
बुधबार साँझ करिब ६:५० बजेको समयमा मानेश्वराबाट बाह्रबिसेतर्फ आउँदै गरेको बा ५ ख ४११० नम्बरको ढुङ्गा लोड टिपर अनियन्त्रित भई दुर्घटना भएको थियो। काभ्रेको पाँचखाल नगरपालिका–१३ बस्ने २५ वर्षीय अनिस पाण्डेले चलाएको उक्त टिपर दुर्घटना हुँदा टिपरमा सवार जिल्ला सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका-०८ निवासी २९ वर्षीय राजु लामा सडक छेउतर्फ हाम फालेका थिए। त्यसपछि सोही स्थानमा टिपर पल्टिँदा उनी टिपरले च्यापिएका थिए।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले राजु लामाको उद्धार गरी उपचारका लागि नगर अस्पताल बाह्रबिसे पठाएको थियो। तर उपचारकै क्रममा साँझ ७:४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवको पोस्टमार्टम पश्चात् मृतकका बुवा हिरा बहादुर तामाङलाई जिम्मा लगाएको छ भने दुर्घटनामा संलग्न टिपर चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।
प्रकाशित: २८ श्रावण २०८३ १०:२९ बिहीबार

