१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

कोशी प्रदेशस्तरीय बुद्धिचाल इलाममा

इलाम सदरमुकाममा आज (शनिबार) कोशी प्रदेशस्तरीय बुद्धिचाल (चेस) प्रतियोगिता हुँदैछ। केहीबेरमा सुरु हुने र्‍यापिड चेस प्रतियोगिता जिल्ला बुद्धिचाल संघको आयोजना र कोशी प्रदेश बुद्धिचाल संघको प्राविधिक सहयोगमा सञ्चालन हुन लागेको हो।  

फूलमती सोङ्मीको स्मृतिमा आयोजना गरिने प्रतियोगितामा विजयीलाई विभिन्न २९ विधामा पुरस्कार प्रदान गरिने संघका उपाध्यक्ष गणेश घिमिरेले जानकारी दिए। उनका अनुसार पुरस्कारमा मात्र एक लाख १९ हजार रुपैयाँ खर्च हुनेछ। आठ विधामा हुने प्रतियोगितामा खुला प्रदेश च्याम्पियनले नगद २० हजार पाउँदा दोस्रो, तेस्रो, चौथो र पाँचौंले क्रमशः १० हजार, सात हजार, छ हजार र पाँच हजार पाउनेछन्। छैटौंदेखि १० स्थानसम्मलाई जनही चार हजारले पुरस्कृत गरिनेछ।  

भेट्रान्स च्याम्पियन, फरक क्षमता र अनरेटेड च्याम्पियनले जनही चार हजार पाउनेछन्। विद्यालयस्तरीय प्रथमले तीन हजार र दोस्रोले दुई हजार, हिल च्याम्पियन प्रथमले चार हजार दोस्रोले तीन हजार, प्रदेशस्तरीय १६ वर्षमुनिको पुरुष र महिला च्याम्पियन दुई हजार पाँच सयका दरले पुरस्कृत हुनेछन्।

इलाम प्रथमले चार हजार तथा दोस्रोदेखि पाँचौं स्थानसम्मकाले दुई हजारका दरले पुरस्कार पाउनेछन्। स्विस लिगअनुसार सात राउन्डमा हुने प्रतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्लाबाट खेलाडी सहभागी हुनेछन्।  

प्रतियोगिताका लागि पत्रकार बुद्धमाया सोङमीले दिवंगत आमा फूलमतीको सम्झनामा एक लाख रुपैयाँ नगद सहयोग गरेकी छिन्। अन्य आयोजक समितिबाट ३० हजार रुपैयाँ संकलन गरिएको छ भने दाताहरूबाट सहयोग रकम जुटाइँदैगरेको उपाध्यक्ष घिमिरेले बताए।

जिल्लामा पछिल्लो समय चेस खेलप्रति खेलाडीको आकर्षण बढिरहँदा संघले विद्यालयस्तरमा पनि प्रतियोगिता सञ्चालन गर्दै प्रशिक्षणसमेत दिँदैछ। गत आर्थिक वर्ष जिल्लाको माइजोगमाई गाउँपालिकाको आर्थिक सहयोगमा जिल्लास्तरीय रेटेड बुद्धिचाल प्रतियोगिता नयाँबजारमा सञ्चालन गरिएको थियो।

‘बुद्धिचाल (चेस) खेलको विकास र विस्तारसँगै खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो,’ संघ अध्यक्ष तारानिधि घिमिरेले भने, ‘इलाममा सञ्चालन गरिएका विभिन्न प्रतियोगिताबाट अहिलेसम्म विभिन्नस्तरका खेलाडी उत्पादन भएका छन्, गाउँसम्मका स्कुलतिर पनि चेस खेलको चासो र आकर्षण बढ्दै छ।’

प्रकाशित: २४ जेष्ठ २०८२ ०७:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App