चार खेलाडीले नवीनराज जोशी स्मृति दुई दिने र्यापिड चेस प्रतियोगितामा शुक्रबार संयुक्त रूपमा अग्रता लिएका छन्।
काठमाडौंको इतुम बहालमा सुरु शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा चार खेलाडीले समान पाँच अंक जोड्दै संयुक्त रूपमा अग्रता लिएका हुन्। काठमाडौं महानगरपलिका वडा–२४ को आयोजनामा भएको प्रतियोगितामा पाँचौं चरणको खेल सकिँदा झापाका युवा खेलाडी रिसोन थापा, काठमाडौंका प्रेमकृष्ण महर्जन, जनार्दन श्रेष्ठ र फिलिपिन्सका जोन पौल लरेनले संयुक्त रूपमा शीर्ष स्थानमा अग्रता लिएका छन्।
क्यान्डिडेट मास्टर (सिएम) रिसोनले भगवतीप्रसाद शर्मालाई पाँचौं चरणको खेलमा पराजित गरे। प्रेमकृष्णले भक्तपुरका पुरुषोत्तम दुवाललाई हराए। जनार्दनले भेट्रान खेलाडी सीताराम अग्रवालमाथि जित निकाले।
लरेनले भने धनुषाका सुशील चौधरीलाई निराश बनाए। बिजेश राजकर्णिकार साढे चार अंक जोड्दै दोस्रो स्थानमा छन्। तेस्रो स्थानका लागि कुल १३ खेलाडीले अग्रता बनाएका छन्। यी सबैले कुल चार जोडे।
सीताराम अग्रवाल, सुशील चौधरी, पुरुषोतम दुवाल, भगवतीप्रसाद शर्मा, काठमाडौंका गोविन्द खड्का, कुमार महर्जन, पाँचथरका महेन्द्रकुमार साम्बाहम्फे, मोरङका युवा खेलाडी काशिभ कार्की, मोरङका सुभानदीप थापा, सुनसरी विनय राई, झापाका हरी बराल र काठमाडाैंका अनरेटेड खेलाडी नितिन घिमिरे र भारतका सुभम कुमारले समान चार अंक जोडेका हुन्।
महिलातर्फ नेपाल च्याम्पियन सिन्दिरा जोशीले अग्रता बनाएकी छन्। उनले कुल चार अंक जोडेकी छन्। सिन्दिरालाई शान्ति धिमाल, उजिवनी कँडेल र पुनम प्रसाई गरी तीन खेलाडीले पछ्याइरहेका छन्। यी तीनै खेलाडीले समान दुई अंक जोडे। प्रतियोगिताको वडा–२४ का अध्यक्ष विनोदकुमार राजभण्डारीले उद्घाटन गरेका थिए।
नेपाल, बेलायत, अमेरिका, फिलिपिन्स र भारतका गरी कुल एक सय ५२ खेलाडीले यस प्रतियोगितामा प्रतिस्पर्धा गरेका छन्। विजेताले २५ हजार, उपविजेताले १५ हजार र तेस्रो स्थान प्राप्त गर्ने खेलाडीले १० हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको कुल पुरस्कार राशि नगद एक लाख ६१ हजार रूपैयाँ रहेको आयोजकले जनाएको छ।
प्रकाशित: १७ जेष्ठ २०८२ ०७:४५ शनिबार





