नेपाली महिला फुटबल टोली फिफा वरीयतामा आफूभन्दा ५२औं स्थान माथि रहेको थाइल्यान्डविरुद्ध जित या सुखद प्रदर्शन गर्ने लक्ष्यमा छ।
नेपालले दुईपल्ट विश्वकप खेलिसकेको थाइल्यान्डसँग मैत्रीपूर्ण खेलमा उक्त लक्ष्य राखेको हो। एएफसी वुमन्स एसियन कप २०२६ क्वालिफायरको तयारीस्वरूप बलियो थाइल्यान्डविरुद्ध महत्त्वाकांक्षी लक्ष्यसहित नेपाल टोली त्यसतर्फ जाँदै छ। थाइल्यान्डसँग दुई मैत्रीपूर्ण खेलमध्ये एक क्लोज डोरमा र अर्को खेल खुला रहनेछ। थाइल्यान्डकै प्रस्तावअनुरूप नेपाली टोली बन्द ढोकाबीच खेल्न तयार भएको हो।
यसलाई उसको रणनीतिअनुरूप बुझेको नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङ बताउँछन्। फिफा वरीयतामा थाइल्यान्ड ४७औं र नेपाल ९९औं स्थानमा छन्। वरीयताको अन्तरले नै नेपालका लागि थाइल्यान्ड धेरै बलियो टोली हो। त्यसैले यो टोलीविरुद्ध जित निकाल्ने लक्ष्य राख्नु महत्त्वाकांक्षा नै हो।
त्यसमा पनि नेपालजस्तो कमजोर फुटबल संरचना भएको टोलीका लागि यो लक्ष्य सहज हुने छैन। त्यसमाथि पनि विश्वकप फुटबलमा थाइल्यान्डको महिला टोलीसँग ठूला प्रतियोगिता खेलेको अनुभव छ। थाइल्यान्डको महिला टोलीले दुई विश्वकपसँगै १७ पल्ट एसियन कप खेलेको छ।
सन् १९८३ को एसियन कप च्याम्पियन पनि हो, थाइल्यान्ड। यता, नेपालले पनि तीनपल्ट एसियन कप खेलेको छ। नेपाली टोलीले सन् १९८६, १९८९ र १९९९ एसियन कप खेलेको थियो। यी तीनैपल्ट समूहचरण पार गर्न नसकेको नेपाली टोली त्यसयता भने छनोट नै हुन सकेको छैनन्। नियमित रूपमा एसियन कपमा उत्कृष्ट खेल्दै आएको थाइल्यान्डको आक्रमण रोक्नु नै नेपालका लागि चुनौती बन्न सक्छ।
त्यसमा पनि नेपाली टोलीको डिफेन्स कमजोर रहँदै आएको छ। तर, प्रशिक्षक राजेन्द्र तामाङ र कप्तान अन्जिला तुमबापो सुब्बा पछिल्लो समय यसमा धेरै काम गरिरहेको बताउँछन्।
आगामी खेलमा यसबारे सुधार आउने उनीहरूको आशा छ। पछिल्ला समय आन्तरिक द्वन्द्व र कलहभित्र अखिल नेपाल फुटबल संघ (एन्फा) रुमलिँदै छ। यसले गर्दा एन्फाले घरेलु फुटबल संरचना बनाउन सकिरहेको छैन। त्यसको असर परिरहेको राष्ट्रिय टोली र विभिन्न उमेरसमूहले दिएको नतिजाले पनि देखाउँछ। यद्यपि, यसका बावजुद पनि नेपाली टोली भने सुखद र ऐतिहासिक नतिजा ल्याउने अपेक्षामा छ। जित्ने नै लक्ष्यका साथ मैदान उत्रने भएकाले थाइल्यान्डसँग पनि सोही योजना रहने कप्तान अन्जिला बताउँछन्।

त्यसका लागि आफ्नो टोलीले तयारी पनि गरेको उनको विश्वास छ। नेपाली महिला टोलीले उमेरसमूहमा थाइल्यान्डसँग खेले पनि सिनियरमा भने पहिलोपल्ट खेल्न लागेको हो। त्यसैले यसलाई अवसरको रूपमा लिने टोलीको योजना छ। प्रशिक्षक राजेन्द्र विश्व वरीयतामा ४७औं स्थानमा रहेको टोली थाइल्यान्डविरुद्ध राम्रो नतिजा ल्याए खेलाडी र समग्र टोलीको नै आत्मबल पनि बढ्ने उनको आशामा छन्। त्यसैले पनि यो खेलको नतिजाले नेपाली टोलीको भविष्य निर्धारण पनि गर्ने उनको प्रतिक्रिया थियो।
सातदोबाटोस्थित एन्फामा भएको बिदाइ कार्यक्रममा प्रशिक्षक तामाङले वर्तमानको प्रदर्शनले पनि भविष्य निर्धारण हुने र त्यसैले पनि अहिले राम्रो गर्न चुनौती रहेको उल्लेख गरेका हुन्। एएफसी वुमन्स एसियन कप २०२६ क्वालिफायरकै लागि एन्फा प्रो लाइसेन्स प्रशिक्षक भित्र्याउने तयारी छ।
थाइल्यान्डसँगको नतिजाले पनि ती प्रशिक्षकका लागि योजना कार्यान्वयन गर्न सहज माध्यम हुने प्रशिक्षक राजेन्द्रको विश्वास छ। तर, कप्तान अन्जिलाले भने क्वालिफायरनजिक आएर प्रो लाइसेन्सधारी प्रशिक्षक ल्याउँदा प्रभावकारी बन्न नसक्ने उल्लेख गरिन्। नयाँ प्रशिक्षकको शैलीमा खेल्न समय लाग्ने उनको भनाइ थियो। अहिले दुई जना खेलाडी (सावित्रा भण्डारी र रेखा पौडेल) विदेशमा छन्।
यी दुवै थाइल्यान्डमा नै टिमसँग जोडिने प्रशिक्षक बताउँछन्। थाइल्यान्डको खेलबारे प्रशिक्षक र खेलाडीले पनि अध्ययन गरिसकेका छन्। सोहीअनुरूप आफ्नो टोलीले तयारी गरेको प्रशिक्षक र कप्तानको बुझाइ छ। तर, मैदानमा आउने नतिजा र प्रदर्शनले नै त्यसलाई प्रमाणित गर्ने प्रशिक्षक बताउँछन्।
प्रशिक्षक तामाङले केही खेलाडी विदेशमा पनि खेलेर आउँदा छुट्टै उत्साह मिल्ने बताउँछन्। मैत्रीपूर्ण खेल भएकाले केही खेलाडीलाई अवसर दिने सम्भावना पनि रहेको प्रशिक्षक तामाङले औंल्याए। तर, टोलीको मुख्य लक्ष्य एएफसी वुमन्स एसियन कप २०२६ क्वालिफायरमा कसरी राम्रो खेल्न सकिन्छ भन्ने केन्द्रित रहने उनी बताउँछन्।
कप्तान अन्जिलाले पहिलोपल्ट फिफा वरीयतामा धेरै माथि रहेको टोलीसँग खेल्न लागेकाले उत्कृष्ट तयारी गरेको बताइन्। तर, क्वालिफायरका लागि ध्यान दिएर खेल्ने लक्ष्य रहेको उनले उल्लेख गरेकी छन्। नेपाली टोलीको सुखद पक्ष नै बलियो मिडफिल्ड हो। सदैव डिफेन्समा समस्या टोलीको खराब पक्ष बन्दै आएको छ। तर, यसपल्ट यसमा सुधार हुने कप्तानले अपेक्षा गरेकी छन्। राम्रो टिम स्पिरिट, विदेशी लिग र स्वदेशमा उत्कृष्ट प्रदर्शन गर्दै आएका खेलाडी सम्मिलित टोली बनेकाले थाइल्यान्डविरुद्ध राम्रो नतिजाको अपेक्षामा कप्तान अन्जिला छिन्।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजना भएको बिदाइ कार्यक्रममा एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङ, महासचिव किरण राई र केन्द्रीय सदस्य सरिला श्रेष्ठलगायतले नेपाली महिला फुटबल टोलीलाई बिदाइ गरे। मुख्य प्रशिक्षक राजेन्द्र तामाङले गत शुक्रबार नै २३ सदस्यीय नेपाली टोली घोषणा गरिसकेका छन्। गोलकिपर अन्जिलाको कप्तानीमा रहेको टोलीमा अधिकांश पुरानै अनुहार छन्।
गत फागुनमा घरेलु मैदानमा सम्पन्न अन्तर्राष्ट्रिय च्याम्पियनसिप खेलेका अधिकांश सदस्यलाई नै मैत्रीपूर्ण खेलका लागि निरन्तरता दिइएको छ। नेपाली महिला फुटबल टोलीमा धेरै खेलाडी करियरको अन्तरनजिक रहेको चर्चा चल्दै आएको छ। तर, एन्फाले सन् २०२६ मा अस्ट्रेलियामा हुने क्वालिफायरका लागि टिम निर्माण गर्न खेल्न लागेको मैत्रीपूर्ण खेलमा नयाँ र युवा खेलाडीलाई भने प्राथमिकता राखेको छैन।
नेपालले मे ३० र जुन २ मा बैंककमा घरेलु टोली थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्दै छ। छनोटको पहिलो चरण मे ४ बाट सुरु हुँदै छ। एसियन कप क्वालिफायरमा नेपाल रहेको समूह ‘एफ’ मा लाओस, श्रीलंका र उज्बेकिस्तान छन्।
नेपाली टोलीको तीन गोलकिपरमा अन्जिला तुम्बापो सुब्बा, अञ्जना रानामगर र उषा नाथ छन्। टोलीको डिफेन्डरमा अमृता जैसी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समीक्षा घिमिरे र मनमाया दमाई छन्। अन्य मिडफिल्डरमा अनिता बस्नेत, विमला चौधरी, रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता रानामगर, सरस्वती हमाल, सुस्मा तामाङ तथा फरवार्डमा सावित्रा भण्डारी, रश्मिकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल अटाए।
प्रकाशित: १४ जेष्ठ २०८२ ०७:५४ बुधबार





