एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा बुधबार भारतको आसाम क्रिकेट क्लबले जित दर्ता गरेको छ। विराटनगरस्थित बैजनाथपुर क्रिकेट मैदानमा आसामले कोशी प्रदेशलाई ९७ रनले पराजित गरेको हो ।
२१० रनको लक्ष्य पछ्याएको कोशी ३७.२ ओभरमा ११२ रनमा अलआउट भयो । कमजोर ब्याटिङ गरेको कोशीका लागि आइस भट्टराई र बिपिन महतोले सर्वाधिक १५ तथा चिराग शाहले ११ रन बनाए । अन्यले दोहोरो अंकको स्कोर गर्न सकेनन् ।
आसामका लागि तापन कुमार शर्मा र गोकुल शर्माले समान ३ विकेट लिए। राज विश्वले २ तथा चिरन्तन खत्तिनियर र अमित सिन्हाले एकएक विकेट झारे।
यसअघि पहिला ब्याटिङ गरेको आसाम क्रिकेट क्लबले ४७.३ ओभरमा सबै विकेट गुमाउँदै २०९ रन बनाएको थियो ।
आसामको ब्याटिङमा कप्तान गोकुल शर्माले सर्वाधिक ७८ रन जोडे । अरुण सोनारले ५१ रनको योगदान गरे । ३३ रनमा ३ विकेट गुमाएको अवस्थाबाट चौंथो विकेटका लागि गोकुल र अरुणले १०६ रनको शतकीय साझेदारी गरे ।
कोशीका लागि प्रेम कामतले सर्वाधिक ४ विकेट लिए । बिपिन कुमार महतो र भुपाल लुइँटेलले समान २ तथा फिर्दोश अन्सारी र प्रकाश कार्कीले समान एक विकेट लिए।
प्रकाशित: १७ वैशाख २०८२ १५:५८ बुधबार





