३२ असार २०८३ बिहीबार
image/svg+xml
समाज

जलवायु संकटको चपेटामा विश्वका १.१ अर्ब बालबालिका

विश्वव्यापी जलवायु परिवर्तनका कारण सबैभन्दा ठूलो मूल्य बालबालिकाले भोग्नुपरेको पाइएकोछ ।  संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) ले हालै सार्वजनिक गरेको “चिल्ड्रेन्स क्लाइमेट रिस्क रिपोर्ट– २०२६”का अनुसार विश्वका करिब १.१ अर्ब बालबालिका एकआपसमा अन्तरसंम्बन्धित कम्तीमा तीन  जलवायुजन्य जोखिमको सामना गरिरहेका छन् । यसले उनीहरूको स्वास्थ्य, शिक्षा र जीवनयापनमा गम्भीर खतरा उत्पन्न गरेको प्रतिबेदनमा उल्लेख  छ ।  

रिपोर्टका अनुसार  हाल विश्वका लगभग सबै बालबालिका कुनै न कुनै प्रकारको जलवायुजन्य जोखिमको सम्पर्कमा छन् । समुद्री बाढी, नदीजन्य बाढी, खडेरी, अत्यधिक गर्मी, तापलहर, डढेलो, बालुवा तथा धुलो आँधी र उष्णकटिबन्धीय आँधी जस्ता जोखिमहरू एकैपटक देखा पर्दा बालबालिकाको अवस्था झन् संवेदनशील बन्दै गएको छ ।  

युनिसेफले पहिलोपटक तयार पारेको ‘ग्लोबल चाइल्ड हजार्ड डाटाबेस’ मार्फत कुन क्षेत्रमा बसोबास गर्ने बालबालिका कस्ता जोखिममा छन् भन्ने विस्तृत नक्सांकन गरिएको छ। यसले सरकारहरूलाई सबैभन्दा जोखिममा रहेका बालबालिकाको पहिचान गरी अनुकूलन र विपद् जोखिम न्यूनीकरणका कार्यक्रम प्रभावकारी बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।

रिपोर्टमा उल्लेख भएअनुसार  ४० लाखभन्दा बढी बालबालिकाले एकैपटक ६ वटासम्म जलवायुजन्य जोखिमको सामना गरिरहेका छन । यसबाहेक वायु प्रदूषण तथा मलेरिया जस्ता कीटजन्य रोगहरू पनि जलवायु परिवर्तनसँग जोडिएका थप चुनौतीका रूपमा देखा परिरहेका छन्।

युनिसेफका अनुसार जलवायु संकट केवल एउटा घटना होइन, बरु धेरै जोखिमहरूको जटिल संयोजन हो। उदाहरणका लागि, लामो खडेरीले कृषि उत्पादन नष्ट गरी खाद्य संकट निम्त्याउँछ। त्यसपछि सुक्खा वनस्पतिले डढेलो फैलाउन सहयोग पु¥याउँछ, जसले वायु प्रदूषण बढाउँछ। डढेलोपछि आउने बाढीले घर, विद्यालय र अस्पतालहरू ध्वस्त पार्न सक्छ।

यसरी एउटा विपत्तिले अर्को विपत्तिलाई जन्म दिने दुष्चक्र सिर्जना हुन्छ। घरबार गुमाएका परिवार विस्थापित हुन्छन्, बालबालिकाले सुरक्षित आश्रय गुमाउँछन्, विद्यालय शिक्षा अवरुद्ध हुन्छ र उनीहरूको भविष्य थप अनिश्चित बन्दै जान्छ।

विशेषज्ञहरूका अनुसार बालबालिकाको शरीर र मानसिक विकास अझै पूर्ण नभएकाले अत्यधिक गर्मी, प्रदूषण, कुपोषण र रोगसँग जुध्ने क्षमता वयस्कहरूको तुलनामा कम हुन्छ। त्यसैले जलवायु संकटको प्रभाव उनीहरूमाथि असमान रूपमा बढी पर्ने गरेको छ।

युनिसेफले बालबालिकाको स्वच्छ, स्वस्थ र दिगो वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्न तत्काल र समन्वित कदम चाल्न आग्रह गरेको छ।

यसैगरी, युनिसेफले सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय समुदायलाई जीवाश्म इन्धनको प्रयोग घटाउँदै नवीकरणीय ऊर्जामा द्रुत रूपान्तरण गर्न, राष्ट्रिय अनुकूलन योजनामा बालबालिकालाई प्राथमिकतामा राख्न, जलवायु सहनशील विद्यालय र स्वास्थ्य संस्था निर्माण गर्न तथा सुरक्षित खानेपानी र सरसफाइ सेवामा लगानी बढाउन आग्रह गरेको छ।

त्यसैगरी बालबालिका र युवाहरूलाई जलवायु कार्यमा सक्रिय सहभागी बनाउन जलवायु शिक्षा, ज्ञान र सीप विकासमा लगानी बढाउनुपर्नेमा पनि जोड दिइएको छ।

एल निनोले थप बढायो चिन्ता

यसैबीच विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले हाल विकसित भइरहेको एल निनो अवस्थाले आगामी महिनाहरूमा अत्यधिक गर्मी, खडेरी र अन्य चरम मौसमी घटनाहरूको जोखिम बढाउन सक्ने चेतावनी दिएको छ। डब्लुएचओले ११ जुनमा नयाँ “हीट–हेल्थ एक्शन प्लान” मार्गदर्शन सार्वजनिक गर्दै अत्यधिक गर्मीलाई विश्वव्यापी सार्वजनिक स्वास्थ्य संकटका रूपमा लिनुपर्ने बताएको छ।  

डब्लुएचओका अनुसार अत्यधिक गर्मीले विशेषगरी शिशु, बालबालिका, गर्भवती, वृद्धवृद्धा र दीर्घरोगीहरूलाई बढी असर गर्छ। संस्थाले सरकारहरूलाई गर्मी सम्बन्धी पूर्वचेतावनी प्रणाली विकास गर्न, स्वास्थ्य सेवा सुदृढ बनाउन तथा जोखिममा रहेका समुदायको संरक्षण गर्न आग्रह गरेको छ। 

प्रकाशित: ३ असार २०८३ २०:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App