८ जेष्ठ २०८२ बिहीबार
image/svg+xml
खेल

अन्तरपालिका गोदावरी मेयर कप फुटबल हुने

उपत्यकाव्यापी अन्तरपालिका खुला गोदावरी मेयर कप फुटबलको दोस्रो संस्करण आगामी वैशाख २० गतेदेखि हुने भएको छ।

गोदावरी नगरपालिकाको आयोजनामा आगामी वैशाख २० गतेदेखि जेठ ३ गतेसम्म ललितपुरको गोदावरी नगरपालिकामा उक्त प्रतियोगिता हुन लागेको हो। आयोजकले आइतबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी दिएको थियो।

गोदावरी नगरपालिकाका प्रवक्ता नवराज सिलवालले यस प्रतियोगितामा उपत्यकाका कुल २१ स्थानीय निकायले प्रतिस्पर्धा गर्ने जानकारी दिए। प्रतियोगिताका खेलहरू गोदावरीको ताहाखेलमा हुनेछन्।

अहिलेसम्म १० टोलीले मात्र प्रतियोगितामा सहभागिताका लागि नाम दर्ता गराएको र अन्तिम दिन सोमबार रहेकाले थप टोलीको सहभागिता रहने नगरपालिकाका खेलकुद प्रमुख नीरज वज्राचार्यले जानकारी दिए।

यस प्रतियोगितामा राष्ट्रिय टोलीका सदस्यले पनि कुनै टोलीबाट खेल्न पाउनेछन्। तर, त्यसका लागि उनीहरू नगरपालिकाकै स्थानीय बासिन्दा हुनुपर्ने आयोजकको भनाइ छ। प्रतियोगिताका विजेताले पाँच लाख, उपविजेताले तीन लाख र ट्रफी पाउनेछन्। फेयर प्ले हुने टोलीले ५० हजार रूपैयाँ पाउनेछ। प्लेअर अफ दी म्याचले पाँच हजार रूपैयाँ पाउने आयोजकले जनाएको छ।

प्रतियोगितामा विधागत उत्कृष्ट गोलकिपर, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता, प्रशिक्षक र इमर्जिङ प्लेअरले पनि पुरस्कार पाउने भएका छन्। उनीहरूले समान २० हजार रूपैयाँ पुरस्कार प्राप्त गर्नेछ।

प्रतियोगिताक लागि एक करोड ९ लाख रूपैयाँ अनुमानित खर्च लाग्ने जनाइएको छ। यसमध्ये गोदावरीले २५ लाख र बाँकी प्रायोजकबाट उठाउने आयोजकले उल्लेख गरेको छ। गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले नगरभित्र बहुउद्देश्यीय हल निर्माण गर्ने योजना रहेको बताए। त्यसका लागि जग्गा पनि पाइसकेको गोदावरीले जनाएको छ।

प्रकाशित: १५ वैशाख २०८२ ०८:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App