१५ भाद्र २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

बक्स अफिसमा किन पछारियो ‘मास्टर्नी’ ?

अभिनेत्री प्रियंका कार्कीको मुख्य भूमिका तथा निर्माण रहेको चलचित्र मास्टर्नीको १० दिने बक्स अफिस कलेक्सन सार्वजनिक भएको छ। प्रदर्शनपूर्व निकै चर्चा र अपेक्षा गरिएको यस चलचित्रले बक्स अफिसमा भने अपेक्षा अनुसार व्यापार भने गर्न सकेको छैन।

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार गत भदौ ५ गतेदेखि देशभर प्रदर्शनमा आएको ‘मास्टर्नी’ ले आफ्नो प्रदर्शनको १० औं दिनसम्म आइपुग्दा जम्मा ३९ लाख ५२ हजार रुपैयाँको ग्रस कलेक्सन गर्न सकेको छ।

यस अवधिमा देशभरका हलहरूबाट जम्मा ११ हजार ९ सय ९६ जना दर्शकले मात्र चलचित्र हेरेका छन्। प्रदर्शनअघि निकै उत्साहित देखिएकी प्रियंकाका लागि यो आँकडा अपेक्षाभन्दा निकै कमजोर साबित भएको छ।

आखिर ठूलो चर्चाकाबिच रिलिज भएको मास्टर्नी बक्स अफिसमा किन नराम्रोसँग पछारियो त ? यसका पछाडि मुख्य रूपमा निम्न कारणहरू देखिएका छन्।

पहिलो कारण चलचित्रमा प्रयोग गरिएको दोहोरो अर्थ लाग्ने गीत। चलचित्र कमजोर हुनुको सबैभन्दा ठूलो कारण यसको प्रमोसनल गीत ‘म्याथ सिक्ने भए’ बन्न पुग्यो। गायक दुर्गेश थापाले प्रियंकालाई उपहार स्वरूप दिएको भनिएको यो गीत दोहोरो अर्थ लाग्ने शब्दका कारण रिलिज हुनासाथ विवादमा तानियो। सामाजिक सञ्जालमा २४ घण्टामै १० लाखभन्दा बढी पटक हेरिएर भाइरल त भयो, तर यसले चलचित्रप्रति झनै नकारात्मक म्यासेज दियो।

समग्र शिक्षण पेसा र महिला शिक्षकको मर्यादामा आँच पुर्‍याएको भन्दै शिक्षकहरूको छाता संगठन नेपाल शिक्षक महासङ्घले त आपत्ति जनाउँदै गीत तत्काल बन्द गर्न माग नै गरे। महासङ्घले विज्ञप्ति जारी गर्दै भनेको थियो, ‘महिला शिक्षकप्रति लक्षित अमर्यादित शब्द र भाव संयोजन गरिएको यो गीत शिक्षक र शिक्षण पेसाको गरिमामाथिको प्रहार हो।’ यस विवादले पारिवारिक दर्शकलाई हलसम्म पुग्नबाट ब्रेक लगाइदियो।

दोस्रो कुरा चलचित्रको नाम र ‘दृश्यम’ को ‘कपी’ आरोप हो। चलचित्रको नाम ‘मास्टर्नी’ सुन्दा दर्शकले यो कुनै शैक्षिक वा सामाजिक विषयवस्तुमा आधारित कथा होला भन्ने अनुमान गरेका थिए। तर, हलमा पुग्दा चलचित्र पूर्ण रूपमा मर्डर मिस्ट्री र क्राइम जनरामा आधारित पाइयो।

त्यसबाहेक, चलचित्रमाथि चर्चित मलयालम चलचित्र ‘दृश्यम’ को कथावस्तु हुबहु चोरेको आरोप लाग्यो। ‘दृश्यम’ हेरिसकेका दर्शकले कथावस्तु धेरै हदसम्म मेल खाएको पाएपछि आफू ठगिएको समेत महसुस गरे। मौलिकताको अभाव र नक्कलको चर्चाले चलचित्रको ‘वर्ड अफ माउथ’ अत्यन्तै कमजोर बन्यो।

अर्को कुरा चलचित्र कमजोर प्रचारशैली र फरक जनराले पनि चुनौती थप्यो। नेपाली चलचित्र क्षेत्रमा प्रायः ग्रामीण परिवेश र वैदेशिक रोजगारीका कथामा बनेका चलचित्रहरूले दर्शक तानिरहेका बेला क्राइम-थ्रिलर जनरा आफैंमा फरक प्रयोग थियो। तर, यो जनराका लक्षित दर्शकमाझ चलचित्रको प्रभावकारी प्रचार पुग्नै सकेन।

वर्तमान समयमा सँगै प्रदर्शन भइरहेको कपिल रिजाल निर्देशित चलचित्र ‘गौँथली’ ले आक्रामक प्रचारकै बलमा बक्स अफिसमा ऐतिहासिक व्यापार गरिरहेको छ।

नेपाली चलचित्र इतिहासमै सर्वाधिक कमाउने दोस्रो चलचित्र बनिसकेको ‘गौँथली’ की मुख्य अभिनेत्री सिम्रन खड्काले प्रदर्शनअघि वसन्तपुरलगायतका पर्यटकीय क्षेत्रमा डोको बोकेर पात्रकै हुलियामा प्रचार गरेकी थिइन्।

यस्तै, आक्रामक शैली अर्को चलचित्र ‘पार्वती’ ले पनि अपनायो। तर ‘मास्टर्नी’ को निर्माण पक्ष परम्परागत प्रचारमै सीमित देखियो।

चलचित्रलाई विपद्ले पनि राम्रै धक्का दियो। भोटेकोशी बाढीले निम्त्याएको विनाशकारी विपत्तिका कारण यतिबेला सिङ्गो मुलुक नै शोकमग्न छ। सयौं नागरिकको ज्यान गएको र राष्ट्र नै मानवीय सङ्कटमा परेको यस्तो संवेदनशील घडीमा मनोरञ्जनप्रति सर्वसाधारणको ध्यान जान सकेन।

यिनै कुराका कारण प्रियंको महत्त्वाकाङ्क्षी मानिएको यस चलचित्रले बक्स अफिसमा असफलता व्यहोर्नुपरेको देखिन्छ।

प्रकाशित: १५ भाद्र २०८३ २१:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App