नेपालले घरेलु मैदानमा सम्पन्न दक्षिण एसियाली युथ टेबल टेनिस प्रतियोगितामा कुल १२ पदक जितेको छ।
अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा आइतबार सम्पन्न प्रतियोगितामा नेपालले एक स्वर्ण, ६ रजत र ५ कांस्यसहित १२ पदक जितेको हो। लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा यु–१९ र यु–१५ उमेरसमूहमा गरी कुल १४ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो। त्यसमध्ये भारतले बाँकी १३ स्वर्ण पदकमा कब्जा जमायो।
नेपालले एक मात्र स्वर्ण यु–१९ ब्वाइज टिम इभेन्टमा जितेको हो। यो नेपाली टोलीमा प्रवेश बस्नेत, गनञ्जय दाहाल, हिमाल विष्ट र रुविन महर्जन थिए। यसै स्पर्धाको गर्ल्समा भने नेपाल रजत पदकमा नै सीमित रह्यो। यसमा इभाना थापा, वियंका राई, योङ्गी पौडेल र दिया देउला थिए।
इभाना र वियंकाको जोडीले यु–१९ गल्र्स डबल्समा पनि नेपाललाई रजत पदक दिलायो। घरेलु टोलीले यु–१५ गर्ल्स डबल्समा पनि रजत जित्यो। नेपालका शुभश्री श्रेष्ठ र प्रजिना महर्जनको जोडीले यो सफलता पाएको हो।
नेपालले अर्को रजत पदक यु–१५ ब्वाइज टिम इभेन्टमा पायो। प्रजिल भट्टराई, जयस्नु महर्जन, आर्यन शाही र रिजन शाक्य सम्मिलित नेपाली टोलीले यो सफलता दिलाएको हो। यु–१९ ब्वाइज डबल्समा नेपालका गनञ्जय दाहाल र प्रवेश बस्नेतको जोडी रजत जित्न सफल भयो। यु–१५ ब्वाइज डबल्समा पनि नेपाल दोस्रो स्थानमा सीमित भयो। प्रजिल भट्टराई र जयस्नु महर्जनको जोडी दोस्रो स्थानमा रह्यो।
यु–१५ गल्र्स टिम इभेन्टमा शुभश्री श्रेष्ठ, प्रजिना महर्जन, सुरम्य शाक्य र श्रृया शाक्य, यु–१९ मिक्स डबल्समा गनञ्जय दाहाल र इभाना, यु–१५ गल्र्स सिंगल्समा शुभश्री, यु–१९ गल्र्स सिंगल्समा इभाना, यु–१५ ब्वाइज सिंगल्समा प्रजिल भट्टराई तथा यु–१९ ब्वाइज सिंगल्समा गनञ्जय दाहालले नेपालका लागि कांस्य जिते।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्यसचिव दीपक लामा, आयोजक संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, उपाध्यक्षद्वय सुमन खड्गी र पूर्णशंकर श्रेष्ठ, महासचिव कुवेरप्रकाश सिंहलगायतले पुरस्कृत गरे।
चारदिने प्रतियोगितामा भुटानबाहेक ६ दक्षिण एसियाली राष्ट्रका कुल ८५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। यु–१९ को ब्वाइज/ गर्ल्स टिम इभेन्टमा पहिलो र दोस्रो हुने टोली उज्बेकिस्तानमा हुने एसियाली जुनियर टेबल टेनिसका लागि छनोट भएको आयोजकले जनाएको छ।
नेपालले यु–१९ ब्वाइज टिम इभेन्टमा स्वर्ण र यु–१९ गर्ल्स टिम इभेन्टमा रजत जित्दै एसियन जुनियर टेबल टेनिस च्याम्पियनसिपको यात्रा तय गर्यो। क्याडेटमा भने प्रत्येक राष्ट्रबाट समान एक गर्ल्स र ब्वाइजले वाइल्ड कार्डबाट खेल्ने पाउनेछ।
प्रकाशित: १५ वैशाख २०८२ ०८:१३ सोमबार





