नेपाल उमा कुङ्फु संघको आयोजनामा नेपालमा विश्व ताइची तथा छिकुङ दिवस मनाइएको छ।
शंखपार्कमा भएको कार्यक्रममा दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता उसुका आङबाबु लामा र सहभागीले प्रदर्शनी खेल प्रस्तुत गरेका थिए। विभिन्न कार्यक्रम गरी विश्व ताइची तथा छिकुङ दिवस मनाइएको हो।
आङबाबु, उमा कुङ्फु संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सन्जितकुमार राई, उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक भूपेन्द्र गुरुङले कार्यक्रममा उपस्थितबीच ताइची तथा छिकुङको महत्त्वबारे प्रकाश पारेका थिए। सोही अवसरमा उमा कुङ्फु संघले विगत लामो समयदेखि यो खेलमा संलग्न श्यामप्रसाद गौतमको अध्यक्षतामा ९ सदस्यीय शंखपार्क ताइची तथा छिकुङ शाखा गठन गरेको थियो।
संघले पाँच दशकदेखि यो खेलमा क्रियाशील उमा कुङ्फुका मुख्य प्रशिक्षक दीपक श्रेष्ठलाई पनि सम्मान गरेको थियो। नेपाल ताइची क्वान महासंघका अध्यक्ष कर्मा लामा, अध्यक्ष राई, उपाध्यक्ष गुरुङ, उपाध्यक्ष रमेश महर्जनलगायतले मुख्य प्रशिक्षक श्रेष्ठलाई दोसल्ला र सम्मानपत्र प्रदान गरी सम्मान गरे।
कार्यक्रममा २ सयभन्दा बढीको सहभागिता रहेको संघले जनाएको छ। ‘एकै विश्व, एकै स्वास’ भन्ने नारासहित १९९९ देखि विश्वका विभिन्न देशमा यो दिवस मनाउन सुरु गरिएको हो। नेपालमा विगत २० वर्षदेखि विविध कार्यक्रम गरी दिवस मनाउन थालिएको उपाध्यक्ष गुरुङले जनाएका छन्।
प्रकाशित: १५ वैशाख २०८२ ०८:०० सोमबार





