३० जेष्ठ २०८२ शुक्रबार
image/svg+xml
खेल

धनगढी फाइनलमा पुग्न असफल

बलका लागि प्रतिस्पर्धा गर्दै पोखराका सुदिल राई (नीलो) र धनगढीका सर्जियो बारबोजा। तस्बिर: नागरिक

इन्जुरी समयमा समालिन नसक्दा धनगढी एफसी लगातार तेस्रो संस्करण नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा पुग्न असफल भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको दोस्रो क्वालिफायरमा पोखरा थन्डर्ससँग १–० ले पराजित भएपछि धनगढी लगातार तेस्रोपल्ट फाइनलमा पुग्न असफल भएको हो। पोखराका स्टेफन बिनोङले गोल नै निर्णायक बन्यो। यो हारसँगै दोस्रो प्रयासमा पनि धनगढी फाइनलमा पुग्न असफल भयो र यसपल्ट पनि उपाधि लक्ष्य पूरा हुन सकेन।

यसअघि पहिलो क्वालिफायरमा पनि धनगढी ललितपुर सिटी एफसँग २–१ ले पराजित भएको थियो। लगातार तीन खेलमा हार बेहोर्दै धनगढीले तेस्रो संस्करणको यात्रा टुङ्गाएको हो। पछिल्ला दुई संस्करणको फाइनलमा हार बेहोरेको धनगढी यसपल्ट भने क्वालिफायरबाट माथि उठ्न सकेन।

यसै संस्करणको लिगमा भने धनगढी र पोखराले गोलरहित बराबरी खेलेका थिए। दोस्रो भेटमा पोखराले बाजी मार्‍यो। अब पोखराले फाइनलमा ललितपुर सिटी एफसँग आगामी वैशाख १३ गते खेल्नेछ। शीर्ष दुईमा रहेर पहिलो क्वालिफायरमा पुगे पनि धनगढी फाइनलमा पुग्न असफल भयो।

पहिलो क्वालिफायरमा ललितपुरसँग पराजित भएको थियो। त्यसअघि खेलको सातौं मिनेटमा पोखराले पहिलो अवसर बुन्यो। समीर तामाङले पेनाल्टी बक्सबाट गरेको फितलो प्रहार धनगढीका गोलकिपर वालिद बिरौउले सहजै नियन्त्रणमा लिए। धनगढीले पनि १४औं मिनेटमा पहिलो अवसर बनायो।

यद्यपि, ओलावाले आफिजले गोल गर्न सकेनन्। अहमद हिजाजीको पास पेनाल्टी बक्सभित्र अनमार्क आफिजले फितलो प्रहार गरे। २०औं मिनेटमा पोखराको आक्रमण सफल हुन सकेन। करिब १८ यार्डबाट समीरको पहिलो सट धनगढीका गोलकिपर वालिदले फुत्काएका थिए। तर, त्यो रिबाउन्ड समीरले भेट्टाउनुअघि नै वालिदले नियन्त्रणमा लिए।

३९औं मिनेटमा पोखराका सेडोस्टोन डिजाफारोभको फ्रिकिक प्रहार पनि पोस्टको दिशामा रहन सकेन। पहिलो हाफको थप समयमा धनगढीको उत्कृष्ट अवसरमा पोखराका गोलकिपर गुइलौमे प्रिसोले उत्कृष्ट बचाउ गरे। हिजाजीले दिएको उत्कृष्ट कट ब्याकमा पेनाल्टी बक्सबाट दीपेश राईको सशक्त सट प्रिसोले पन्च गरे।

रिबाउन्ड बल पनि धनगढीका खेलाडीको खुट्टामा परेन। त्यसपछि पहिलो हाफ गोलरहित बराबरीमा नै सकियो। दोस्रो हाफमा पनि पोखराले लामो दूरीबाट सट प्रहार गर्दै अग्रता लिने प्रयास गर्‍यो। जोई आइडुले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहार बारभन्दा केही माथिबाट बाहिरियो। ६४औं मिनेटमा पोखराको उत्कृष्ट अवसर धनगढीका गोलकिपर वालिदले असफल बनाए।

सुदिल राईको हेडर पासमा स्टेफन बिनोङको हेडर वालिदले रोक्दै धनगढीको संकट टारे। ८१औं मिनेटमा सुदिलको सशक्त प्रहार पनि वालिदले पन्च गर्दै असफल पारे। आयुष घलानको लामो पास नियन्त्रणमा लिँदै सुदिलले करिब १५ यार्डबाट गरेको प्रहार धनगढीका गोलकिपर वादिलले रोकेका हुन्।

धनगढीका जर्जप्रिन्स कार्कीले लामो दूरीबाट गरेको प्रहार पोखराका गोलकिपर प्रिसोले सहजै नियन्त्रणमा लिए। ८४औं मिनेटमा गौरव श्रेष्ठले दोहोरो पहेँलो कार्ड पाएपछि पोखरा १० खेलाडीमा सीमित भयो। इन्जुरी समयमा स्टेफन बिनोङको हेडर गोलबाट पोखराले अग्रता लियो।

आयुस घलानले कर्नरबाट दिएको बललाई बिनोङले पहिलो बार च्याप्दै गोल गरेका हुन्। त्यसपछि धनगढीले गोल फर्काउन सकेन र पोखराले साँघुरो जित निकाल्यो। हारपछि धनगढीका प्रशिक्षक म्यानुअल मार्टिनेजले सेट पिसमा राम्रोसँग मार्क गर्न नसक्दा हार बेहोर्नुपरेको बताए।

‘सेट पिसमा राम्रोसँग मार्क गर्न सकेनौं र अन्तिम समयमा गोल खान पुग्यौं। एक खेलाडी कम हुँदा पनि त्यसको फाइदा लिन असफल भयौं,’उनले भने,‘थोरै समयमा पनि हामीले राम्रो गर्ने प्रयास गरेका थियौं। तर सफल हुन सकेन।’ उनले हारमा आफ्नो खेलाडीलाई दोस नदिने र प्रतिद्वन्द्वीले राम्रो खेलेको प्रतिक्रिया दिए। पोखराका प्रशिक्षक सुमन श्रेष्ठले हरेक दिन सुधार हुँदा जित सम्भव भएको बताए।

 ‘हामीले हरेक दिन सुधार गर्दा आज जित सम्भव भयो। सबै खेलाडीले पनि राम्रोसँग इफोर्ट लगाए। तर, नतिजा राम्रो आए पनि पछिल्लो खेलको तुलनामा आशातित प्रदर्शन भने हुन सकेन,’उनले भने,‘धनगढीका केही खेलाडीलाई राम्रोसँग मार्क गर्दा उनीहरूलाई रोक्न सक्दा राम्रो नतिजा आएको हो।’

रंगशालामा लिजेन्डको फ्रिकिक

ब्राजिलियन लिजेन्ड रोबार्टो कार्लोसले धनगढी र पोखराबीचको खेलमा फ्रिकिक प्रहार गरेका थिए। पहिलो हाफ सकिएपछि विश्व फुटबलका लिजेन्ड कार्लोसले मैदानमा आएर दर्शकमाझ हात हल्लाउँदै अभिवादन गरेका थिए।

सो क्रममा उनले करिब ५/७ पटक फ्रिकिक प्रहार गरे। उनले फ्रिकिक प्रहार गर्दा युवा गोलकिपर समित श्रेष्ठले गोल पोस्ट समालेका थिए। यस क्रममा कार्लोसले उत्कृष्ट फ्रिकिकमार्फत दुईपल्ट बललाई जाली पनि चुमाए। सन् १९९७ मा फ्रान्सविरुद्धको मैत्रीपूर्ण खेलमा कार्लोसको उत्कृष्ट फ्रिकिक गोल विश्व फुटबलप्रेमीमाझ सदैव स्मरणीय रहँदै आएको छ। उनी दुईदिने नेपाल भ्रमण सकाएर स्वदेश फर्किदै छन्।

प्रकाशित: ११ वैशाख २०८२ १०:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App