२ जेष्ठ २०८२ शुक्रबार
image/svg+xml
खेल

अन्तर्राष्ट्रिय जुडो: पाम लगातार सातौं पटक च्याम्पियन

बन्दी सहायता नियोग (पाम) ले शुक्रबार नेकोस सातौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगिताको उपाधि उचाल्दै लगातार सातौं संस्करणसम्म च्याम्पियन भएको छ।

नेपाल खेलकुद महासंघ (नेकोस) तथा राष्ट्रिय जुडो संघ नेपालको संयुक्त आयोजनामा भएको प्रतियोगितामा कुल २२ स्पर्धामध्ये पाम सर्वाधिक ११ स्वर्ण, समान चार रजत र कांस्य पदक जित्दै च्याम्पियन बनेको हो।

यससँगै पाम लगातार सात संस्करणसम्म च्याम्पियन बन्न सफल भयो। खुसिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमएसी) को हलमा भएको प्रतियोगिताको पहिलो दिन सात स्वर्ण जितेको पामले दोस्रो दिन थप चार स्वर्ण जितेको हो। एमएमएसी तीन स्वर्ण, पाँच रजत र चार कांस्य पदकसहित दोस्रो भयो। भुटानले दुई स्वर्ण, तीन रजत र दुई कांस्य पदक जित्दै तेस्रो स्थान प्राप्त गर्‍यो।

त्यस्तै बाँके र एपिएफले समान दुई तथा दाङ र रुसले समान एक स्वर्ण पदक जिते। पुरुषमा एमएमएसीका सदिन तामाङ तथा महिलामा पामकी कृष्णा महतरा उत्कृष्ट खेलाडी घोषित भए। पुरुष २० केजीमुनि विष्णु गिरी, २५ केजीमुनि अश्विन तामाङ, ३५ केजीमुनि बबिन कुमाल दियाली, ५५ केजीमुनि दीपेश गुरुङ, ६० केजीमुनि सविनकुमार दियाली र ५० केजीमुनि सुरज समलले पामलाई स्वर्ण दिलाए। महिला २८ केजीमुनि कृष्णा महतरा, ४४ केजीमुनि समिता नेपाली, ५२ केजीमुनि विनीता नेपाली, ३२ केजीमुनि शशिकला थापामगर र ४८ केजीमुनि रमा समलले स्वर्ण जिते।

यी सबै पामका खेलाडी हुन्। एमएमएसीका सुवास विकले पुरुष ३० केजीमुनि, सदिन तामाङले पुरुष ४० केजीमुनि र सरस्था नापितले महिला ५७ केजीमुनि स्वर्ण जिते। भुटानका तेन्जिन दोर्जीले पुरुष ७३ केजीमाथि र किन्जाङ डेकीले महिला ६३ केजीमाथि स्वर्ण चुमे।

बाँकेकी खिमा रोकाले महिला ३६ केजीमुनि र कविता बुढाथोकीले महिला ४१ केजीमुनि स्वर्ण पदक जिते। एपिएफका विशेष विकले पुरुष ६६ केजीमुनि र रेखा श्रेष्ठले महिला ६३ केजीमुनि शीर्ष स्थान प्राप्त गरे। पुरुष ७३ केजीमुनि दाङका पारस रोका मगर तथा ४५ केजीमुनि रुसका डेविड मगोमेदोबले स्वर्ण जिते।

२१ वर्षमुनिका खेलाडीले मात्र यस प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए। विजेतालाई पूर्व युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य जगतसिंह धामी र आयोजक राष्ट्रिय जुडो संघका अध्यक्ष धर्मकुमार श्रेष्ठ लगायतले पुरस्कृत गरे।  दुईदिने प्रतियोगितामा नेपालका विभिन्न जिल्ला/क्लब, रुस, भुटान, फ्रान्स, कजाखस्तान र भारतका दुई सय आठ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। समापनकै अवसरमा प्रतियोगितामा सहभागी नेपालका २० टोलीलाई पाँच थानका दरले गी प्रदान गरिएको थियो।  करिब चार लाख रूपैयाँबराबरको गी प्रदान गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए।  

प्रकाशित: ६ वैशाख २०८२ ०७:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App